कर्णालीका तीन गजलकारका उत्कृष्ठ गजल

No description available.१. गजल
फेरि को पर्यो प्यारमा छोडी जानेको
मलाई हतार हतारमा छोडी जानेको

गाउँमा पनि पुगेछ भयानक असर,
आँखाहरु बजारमा छोडी जानेको

उसले आउनेहरुको वास्ता गर्दैन्
हुनसक्छ इंतजÞारमा छोडी जानेको

सायद जुनकीरीसँग दुश्मनी रहेछ
मलाई अन्धकारमा छोडी जानेको

कुनैदिन पक्कै मनसम्म बाढी पुग्नेछ,
मलाई नदी किनारमा छोडी जानेको
हिमाल सरोवर ठकुरी
सुर्खेत
२. गजल
म भौतारिएर खोजी रहने एउटा सफर सकियो
तिमीलाई पाएपछि तिमीलाई गुमाउने डर सकियो

म यो जिन्दगी हजुरको मात्रै भएर सिध्याउन पाउँ
जसरी नदिलाई प्रेम गर्दागर्दै सिङ्गो बगर सकियो

बुवाले संसार छोडेको दिन आमा सक्किनु भयो
आमाले संसार छोडेको दिन सिङ्गो घर सक्कियो

कसैले सोधिरह्यो मलाई कति माया गर्छौ भनेर
म मौन बसिदिएँ उसको प्रश्नको उत्तर सक्कियो

प्रिय मान्छे म तिम्रो आँखामा दुनियाँ देख्न थालेँ
सायद यी आँखालाई दुनियाँ हेर्ने रहर सक्कियो
 

साबित्री स्वप्निल
कालीकोट

३. गजल
कसैलाई नदिएको मन तिमीलाई दिएको थिए
तिम्रो खुशीको लागि तिमीलाई पर्खिएको थिए

तिमी गयौ कोहि आउने बाटो खुल्यो ठिकै भो
गन्तव्य विनाको यात्रामा अलमलिएको थिए

प्रेम पश्चात जिउन किन मुस्किल भयो मलाई
प्रेम हुनु भन्दा पहिला खुशीले जिएको थिए

अरे यो बाँची हाल्यो भनेर रोएछन् आफन्तहरु
जब मृत्युको शैया बाट ज्युँदै फर्किएको थिए

हात दिएर उठाउन कोहि आएनन् ऊ बेला
जति बेला म हिड्दा हिड्दै पछारिएको थिए

रमेश बि सी (अपार)
बनगाड कुपिण्डे नगरपालिका ४ गर्चे, सल्यान 

तपाईको प्रतिक्रिया