
सुर्खेत । नेकपा (एमालेले) गत फागुन १४ र १५ गते प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले भनेको थिए,‘ स्थानीय तहको निर्वाचन भनेको आन्दोलन हो। नेताहरू आरोप–प्रत्यारोप भन्दा पनि तथ्यमा रहेर चुनावको तयारी गर्नुहोस्..
! अनि मात्र विजयी प्राप्त गर्न सकिन्छ ।’ तर कर्णालीका एमालेका नेताहरूले एमालेको प्रतिस्पर्धी काँग्रेस बाहेक अरू कुनै राजनीतिक दल नभएकोले एमाले नै पहिलो शक्ति बन्ने दाबी गरिरहे ।
एमालेका प्रदेश स्तरीय नेताहरूले कर्णालीमा एमाले विभाजनको कुनै असर नपरेको दाबी गरेका थिए । एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाह र प्रदेश सह–इञ्चार्ज गुलाबजङ्ग शाहले एमाले विभाजनको असर ‘ग्राउण्ड लेभलमा’ पुग्दा शून्य प्रतिशत नपरेको बताउने गरेका थिए । स्थानीय तह ०७९ को निर्वाचनमा भने एमालेका नेताहरूको दाबी भन्दा ठिक उल्टो नतिजा आएको छ ।
प्रदेश अध्यक्ष शाहले आफ्नै गृह नगर ठाटीकाँधमा आफ्नै श्रीमतीलाई अध्यक्षको उम्मेदवार बनाएका थिए । तर अध्यक्षमा मात्र होइन उनको वडामा समेत एमालेले जित्न सकेन । सह–इञ्चार्ज शाहको पनि आफ्नै गृह नगर र वडा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–७ मा एमाले पराजित भयो ।
बनगाड एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको पनि गृह नगर हो । शाह–ज्वालाबीच पार्टी विभाजनपछि तिक्तता कायमै छ । दुई नेताबीच आरोप–प्रत्यारोपको शृङ्खला प्रदेश सरकारमा देखिएको राजनीति परिवर्तन देखिनै हो । तर दुवै नेताले पार्टी फुटको असरका कारण आफ्नै वडामा पार्टीलाई जिताउन सकेनन् ।
शाही र ज्वालाको जिल्ला सल्यानमा मात्र होइन कर्णालीका सुर्खेत बाहेकका अन्य जिल्लामा एमालेले आफ्नो वर्चश्वलाई कायम गर्न सकेन । ०७४ सालको निर्वाचनमा एमालेले २७, माओवादी र काँग्रेसले २५/२५ र दुईवटा पालिकामा स्वतन्त्रले नेतृत्व पाएका थिए । यद्यपि यो पटकको निर्वाचनमा दलहरूको शक्ति सन्तुलनमा पूर्ण रूपमा फेरबदल आएको छ ।
पहिलो शक्ति बनेको एमाले यो पटकको निर्वाचनमा तेस्रो स्थानमा थन्किनु परेको छ । माओवादीले आफूलाई दोस्रो शक्तिको रूपमा सोही स्थानमा कायम राख्न सफल भएको छ । यसअघि तेस्रो बनेको काँग्रेस भने यो पटक पहिलो राजनीतिक शक्तिको रूपमा उदाएको छ । कर्णालीका सबै स्थानीय तहको मतगणना सम्पन्न भइसकेको छ । जसमा काँग्रेसले ३२ पालिकाको नेतृत्व पाएको छ भने माओवादी केन्द्रले २३ पालिकाको नेतृत्व पाएको छ ।
एमालेले भने जम्मा १५ पालिकामा उपस्थिति जनाएको छ । यो पटक माओवादीले दुई वटा पालिका गुमाउनुपर्यो भने एमालेले १२ वटा पालिका गुमाउनुपरेको छ । यस्तै एमाले विभाजनपछि जन्मेको समाजवादीले चार वटामा विजयी प्राप्त गरेको छ भने पाँच वटामा स्वतन्त्र उम्मेदवारहरूले जितेका छन् ।
एमाले विभाजनको असर कति ?
एमाले विभाजनको केन्द्रविन्दु बनेको कर्णालीमा एमालेका नेताहरूले विभाजनको असर नपर्ने दाबी गर्दै आएका थिए । तर निर्वाचनको नतिजाले विभाजनको असर परेको देखाएको छ । समाजवादीले विजयी प्राप्त गरेका चार पालिका मध्ये डोल्पाका दुई पालिकामा निर्विरोध भएका थिए । बाँकी दुई वटामा निर्वाचनमार्फत समाजवादीका उम्मेदवार विजयी भएका हुन् ।
निर्वाचनको माध्यमबाट विजयी भएका जनप्रतिनिधिहरू गठबन्धनको बलमा जितेका देखिन्छ भने कालिकोटको खाँडाचक्र नगरपालिकामा समाजवादीकै नेता कमल शाहीले स्वतन्त्रबाट एमालेका जिल्ला अध्यक्ष समेत रहेका जसी प्रसाद पाण्डेलाई पराजित गरे । पाण्डे निवर्तमान मेयर हुन् ।
निर्वाचित शाही भन्छन्,‘ गठबन्धनमा तालमेल गर्दा हाम्रो पार्टीबाट उम्मेदवारी पाउने सम्भावना न्युन भएपछि नेताहरुकै सर–सल्लाहमा स्वतन्त्र उम्मेदवारी दिएको हुँ । म आफ्नै पार्टी (एस)को नीति, निर्देशन अनुसार नै अघि बढ्छु नै ।’ एमालेले ०७४ मा जितेको जाजरकोटको भेरी नगरपालिका बाहेक अन्य पालिकामा जित्न सकेन । एमाले प्रदेश अध्यक्ष विनोद कुमार शाह भन्छन्,‘ एमाले पराजित हुनुको मुख्य कारण नै पार्टी फुटको असर र पार्टीभित्रैको अन्तर्घात हो । हाम्रो पार्टीभित्रकै नेताहरूले उम्मेदवारलाई हराउन कूटनीतिक रणनीति चालेको देखियो । अर्को कुरा अन्य दलहरू एकजुट र एमाले एक्लो भएर पनि हामी पछि परेको हो ।’
शाहले ०७४ मा जितेका पालिकामा यो पटक पराजित हुनुको मुख्य कारण नै निर्वाचित जनप्रतिनिधिहरूले राम्रो काम गर्न नसकेको पुष्टि गरे । ‘जनतामा उनीहरूप्रति एक किसिमको ‘फ्रस्ट्रेसन’ रहेछ । जसका कारण तीँ पालिकाहरू गुमाउनुपर्ने स्थिति आयो,’ उनले भने । दैलेखमा एमालेले ०७४ मा जितेका आठबीस र नारायण नगरपालिका बाहेक सबै पालिका गुमाएको छ । ०७४ मा हुम्लामा १, मुगुमा १, जुम्लामा १, कालीकोटमा ३ पालिका जितेको थियो । यो पटक एमालेले सुर्खेतका ४, दैलेखका ४, जाजरकोटका ३, डोल्पाका ३ र सल्यानका २ पालिकामा बाहेक कुनै पनि जिल्लाका पालिकामा आफ्नो स्थान ओगट्न सकेन ।
ओलीले सम्बोधन गरेको कर्णालीका स्थानमा एमाले शून्य
गत चैत्र २७ गते एमाले अध्यक्ष केपी ओलीले एकै दिन दैलेखको दुल्लु, जुम्लाको सिंजा र कालिकोटमा एमालेको चुनावी सभालाई सम्बोधन गरेका थिए । ओली उपस्थित सभामा मान्छेको उपस्थिति बाक्लो थियो । ओलीले त्यही भीडलाई देखाउँदै जनताको एमालेप्रतिको आकर्षण भनेर सामाजिक सञ्जालमा निकै प्रचार गरिएको थियो । ओलीले एमालेप्रतिको आकर्षणले गठबन्धनलाई छटपटी भइरहेको भन्दै व्यङ्गे समेत गर्न भ्याएका थिए । यति मात्र भनेका थिएन, ओलीले सिंजाको विकार र दुल्लुलाई स्मार्ट सिटी बनाउने जिम्मा समेत लिएका थिए । तर नतिजामा भने ठिक उल्टो भयो । ओलीले जहाँ, जहाँ पुगेर भाषण गरेका थिए । त्यही नै एमाले शून्य भएको छ । ओलीले सम्बोधन गरेको दैलेखको दुल्लु नगरपालिकामा एमालेका रुद्र शाही पराजित भएका छन् । कालिकोट र जुम्लामा एमालेले कुनै पनि कालिकामा जित्न सकेन ।
गठबन्धनले माओवादीलाई घाटा
सत्तारुढ गठबन्धनले कर्णालीमा काँग्रेसलाई फलिफाप भए पनि माओवादीलाई भने घाटा भएको निष्कर्ष छ । रुकुम पश्चिमका ४, सुर्खेतको १, दैलेखका २, जाजरकोटको १, हुम्लाका ३, कालिकोटका ५, जुम्लाका २, मुगुको १, डोल्पाका २ र सल्यानका २ पालिकासहित २३ पालिकाको नेतृत्व यो पटक पाएको छ । यद्यपि आफ्नै आधार इलाका मानिने रुकुम पश्चिममा काँग्रेसका कारण दुई पालिका गुमाएको छ । ०७४मा रुकुमका ६ वटै पालिकामा वर्चश्व जमाएको माओवादीले मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिका गुमाएको छ ।
बाँफिकोटमा काँग्रेस जनककुमार बाँठाले चार हजार ४५५ मत ल्याएर विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले चार हजार ४२४ मत मात्र प्राप्त गरे । बाँठाले केसीलाई ३१ मतान्तरले पराजित गरेका हुन् । अर्थमन्त्री जनार्दन शर्माको गृहनगर मुसिकोटमा पनि काँग्रेसका महेन्द्र केसी ६ हजार ९ सय १४ मतसहित विजयी भए । केसीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बसन्तकुमार शर्माले ६ हजार ९ सय १ मत ल्याएका छन् । यहाँ काँग्रेसले गठबन्धनको निर्णय विपरीत एमालेसँग तालमेल गरेको थियो ।
यस्तै गठबन्धनले गर्दा अन्य जिल्लाका केही पालिकाहरूमा पनि घाटा भएको माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले रातोपाटीलाई जानकारी दिइन् । उनले भनिन,‘गठबन्धनमा काँग्रेसीहरूले इमान्दारिता देखाएनन् । माओवादीकाले इमान्दारितापूर्वक भोट काँग्रेसका उम्मेदवारलाई दिने, तर काँग्रेसकाले माओवादीका उम्मेदवारलाई नदिएको देखिन्छ । यो काँग्रेसको अहम्ता हो ।’
केसीले माओवादी एक्लै लडेको खण्डमा ३९ वटा पालिकामा विजयी हुने आङ्कलन गरिएको बताइन् । यद्यपि गठबन्धनका कारण त्यो सम्भव नभएको उनको जिकिर छ । माओवादीले ०७४ मा कुनै पालिका नजितेको सुर्खेतमा १ र दैलेखमा दुई पालिकामा भने जितेको छ । दैलेखको नौमुले र भगवतीमा माओवादी र समाजवादीको मात्रै गठबन्धन थियो भने काँग्रेस त्यसको विरुद्धमा उम्मेदवारी दिएको थियो । दैलेखमा माओवादी सांगठनिक रूपमा कमजोर छ ।
काँग्रेसलाई फलिफाप, कतै आफ्नैबाट अन्तर्घात
काँग्रेसले रुकुम पश्चिममा २, सुर्खेतका ४, जाजरकोटका ३, हुम्लाका ३, कालिकोटका २, जुम्लाका ५, मुगुका २, डोल्पाको १, सल्यानका र दैलेखमा ५/५ पालिका गरी ३२ पालिकामा नेतृत्व पाएको छ । ०७४ को निर्वाचनमा तेस्रो पोजिशनमा रहेको काँग्रेसलाई कतै गठबन्धनका कारण फलिफाप भएको छ भने कतै आफ्नै पार्टीका नेताहरूका कारण अन्तर्घात भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा आफ्नै कारण पराजित हुनुपर्यो,’ काँग्रेसका प्रदेश अध्यक्ष ललितजङ्ग शाही भन्छन्,‘ त्यो राम्रो भएन । हाम्रो लक्ष्य भनेको ५० प्रतिशत क्रस गर्ने थियो । तर विभिन्न ठाउँमा पार्टीभित्रबाटै पनि अन्तर्घातका घटनाहरू भए ।’
आफ्नै वडामा काँग्रेस पराजय भएको बताउँदै शाहीले लोकतन्त्रका यो स्वाभाविक भएको बताए । पहिलो दल बनेकोमा हामी खुसी छौँ,’उनी भन्छन् ।
स्वतन्त्रको चुनौती
०७४ मा प्रदेशभर दुई पालिकामा मात्रै स्वतन्त्र उम्मेदवारले जितेका थिए । तर यो पटक पाँच वटा पालिकाहरूमा स्वतन्त्र उम्मेदवारहरूले वर्चश्व जमाएका छन् । उनीहरूमध्ये केहीले पार्टीले टिकट नदिएपछि स्वतन्त्र लडेका हुन भने केही पार्टीकै अगुवाइमा स्वतन्त्र लडेका हुन् । कालिकोटको सान्नित्रिवेणी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार मोहन बहादुर केसीले एक हजार ८१९ मत ल्याएर अध्यक्षमा निर्वाचित बने । माओवादी पार्टीले नपत्याएका उनले स्वतन्त्र लडेर माओवादीकै डम्बरबहादुर शाहीलाई पराजित गरे । माओवादीका शाहीले एक हजार ३३४ मत पाएका छन् । निर्वाचित केसी भन्छन्,‘ मलाई मेरो पार्टीले पत्याएन । त्यही भएर स्वतन्त्र उम्मेदवारी दिएको हुँ । मैले पार्टीभित्र अन्याय भयो भनेर प्रदेश कमिटीमा मुद्दा हालेको छु । जबसम्म पार्टीले फैसला गर्दैन तबसम्म म स्वतन्त्र हो ।’
यता कालिकोटकै खाँडाचक्रमा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य समेत रहेका कमल शाही भने पार्टीकै नेताहरूको अगुवाइमा स्वतन्त्र उम्मेदवारी दिएको बताए । जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली काँग्रेसले टिकट नदिएपछि बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायतले काँग्रेसकै उम्मेदवारलाई पराजित गरे । काँग्रेसकै गढमा उनले स्वतन्त्रबाट जितेका हुन् । हुम्लाको चङ्खेली गाउँपालिकामा प्यारीलाल शाही, डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा कार्मा छोइवेल गुरुङ पनि स्वतन्त्र बाट अध्यक्षमा निर्वाचित भएका छन् । #रातोपाटी#
















































। ७ जेष्ठ २०७९, शनिबार