सल्यानको बन्गाड कुपिन्डेमा कांग्रेस र माओवादीबीच तालमेल


सल्यान । वैशाख ३० गते हुने स्थानीय निर्वाचन नजिकिँदै गएको समयमा जिल्लाको बन्गाड कुपिन्डे नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन् । माओवादी केन्द्रबाट उम्मेदवारी दिएका कर्णबहादुर बुढाथोकीलाई प्रमुख र कांग्रेसका पुरुषोत्तम आचार्यलाई उपप्रमुखमा जिताउने सहमति गठबन्धनमा भएको छ ।

गठबन्धन गरेलगत्तै सोमबारदेखि नै प्रतिस्पर्धीको रुपमा अगाडि बढेका दुवै पार्टी एक भएर प्रचारप्रसारमा जुटेका छन् । उनीहरुले पालिकाको १२ वडामै पछिल्नो समयमा भएको सहमति अनुसार कांग्रेस र माओवादी केन्द्रलाई जिताउन कार्यकर्तासमक्ष आग्रह गरेका छन् । स्वतन्त्र तथा अन्यसँग तालमेल गरेको पाएमा पार्टी कारबाही गर्ने निर्णयसमेत गरेका छन् ।

केन्द्रको नीति अनुसार जिल्लामा माओवादी केन्द्र, कांग्रेस र नेकपा समाजवादीबीच भागबन्डामा कुरा नमिलेपछि सल्यानमा माओवादी केन्द्र र नेकपा समाजवादीले गत १२ गते उम्मेदवारी दिने दिनमा गठबन्धन गरेका थिए । जिल्लाको अन्य पालिकामा उक्त गठबन्धन कायम रहेपनि बन्गाड कुपिन्डे नगरपालिकामा भने तुहिएको छ ।

माओवादी केन्द्रका जिल्ला संयोजक कीर्तिबहादुर पुनले प्रदेशको निर्देशन अनुसार बन्गाड कुपिन्डे नगरपालिकामा कांग्रेस, माओवादी र नेकपा समाजवादीबीच गठबन्धन गर्ने कुरा चलेपनि भागबन्डामा कुरा नमिलेकै कारण माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन गरिएको बताएका छन् ।

अन्य पालिकामा पहिलेकै गठबन्धन कायम रहेको उनले जानकारी गराए । पहिला गठबन्धन हुन नसकेपनि पछिल्नो प्रदेशको निर्देशन अनुसार नै गठबन्धन गरिएको बन्गाड कुपिण्डेका कांग्रेस नगर संयोजक पुरुषोत्तम आचार्यले बताएका छन् ।

यस निर्वाचनमा मात्र नभएर पछि पनि गठबन्धन गरेर अगाडि बढ्ने उनले जानकारी गराए । बन्गाड कुपिन्डे नगरपालिकामा अहिले माओवादी केन्द्र र कांग्रेसले गठबन्धन गरेपछि प्रमुख पदमा प्रतिस्पर्धी एमालेका गोविन्दकुमार पुन रहेका छन् ।

तपाईको प्रतिक्रिया