शिवालय गाउँपालिकाको उपाध्यक्षका लागि २४ बर्षिय गीता चुनावी मैदानमा


जाजरकोट । २४ बर्षिय गीता शाही चुनावी रणमैदानमा आएकी छन् । गाउँपालिकाको न्यायिक समितिको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने शंकल्प सहित २४ बर्षिय शाही शिवालय गाउँपालिकाको उपाध्यक्ष पदको चुनावी रणमैदानमा उत्रिएकी हुन् । नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिकाको उपाध्यक्ष पदको टिकट पाएकी २४ बर्षिय शाहीले चुनावी मैदानमा युवा पंक्तिको आकर्षणलाई बढाएकी छन् । शाहीको उमेरदवारीले अबको राजनीतिलाई युवा पंत्तिमा हस्तान्तरण गर्न राजनीतिक पार्टीहरुलाई सवक बनेको छ ।

शिवालय गाउँपालिकाको निर्वाचनमा आफुले जीत हासिल गरेमा गाउँ न्यायिक समितिको संयोजकको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्नुको साथै शाहीले गाउँमा सामाजिक न्यायलाई प्रवद्र्धन गर्नमा आफ्नो मुख्य जोड हुने बताएकी छन् । भौगोलिक तथा प्रशासनिक ईकाईका रुपमा रहेको गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएमा आफुले औपचारिकतामा मात्र नभएर गाउँपालिकाका सबै वडा बस्तीहरुको आबश्यकता र मागका आधारमा तथा सन्तुलित र न्यायचित वितरण प्रणालीका आधारमा बजेट बाँडफाँड समितिको संयोजकको भुमिका पुरा गर्ने शाहीको भनाई रहेको छ । गाउँपालिकाका योजनाहरुको अनुगमनलाई औपचारिकतामा मात्र सीमित नराखेर योजनाहरुको गुणस्तरीयताको मापदण्डमा रहेर कार्यसम्पादन गर्ने शाहीले प्रतिवद्धता जाहेर गरेकी छन् ।

चुनावी रणमैदानमा आएकी २४ बर्षिय शाही शिवालय गाउँपालिका–६ थालाकी स्थायी बासिन्दा हुन् । नेकपा (माओवादी केन्द्र) को पूर्वजिल्ला कमिटी सदस्य टोपबहादुर शाही (बिद्रोही) की नातिनी तथा हाल जिल्ला समन्वय परिषद सदस्य बिनोद कुमार शाहीकी छोरी गीता शाहीको जन्म २०५४ साल कातिक ३० गते भएको हो । सानैदेखि राजनीतिमा सक्रिय रहेकी शाही ईन्द्रज्योति सामुदायिक माध्यामिक बिद्यालय थालारैकरमा अखिल क्रान्तिकारीको इकाई अध्यक्ष भएर राजनीतिक यात्रालाई सुरु गरेकी थिईन् ।

अखिल क्रान्तिकारी, जाजरकोट जिल्ला कमिटी सदस्य हुदै हाल कर्णाली प्रदेश कमिटी सदस्यको जिम्मेवारी समालेकी शाहीले कक्षा १ देखी कक्षा १० सम्मको पढाई ईन्द्रज्योति माध्यामिक विद्यालय शिवालय–६ थालारैकरबाट पुरा गरेकी थिईन् । कक्षा ११–१२ को पढाई बीरेन्द्र सामुदायिक माध्यामिक विद्यालय जुङ्गाथापाचौरबाट पुरा गरेकी शाहीले बीएको मेजर अर्थ र राजनीति शास्त्र विषयमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट पुरा गरेकी छन् ।

शाहीका हजुर बुवा बिद्रोहीले २०५४ असार देखि तत्कालिन माओवादीले संचालन गरेको जनयुद्धमा सहभागी भएका थिए भने, उनका बुवा बिनोद कुमार शाही सशस्त्र प्रहरी बलको जागिर छोडेर माओवादी पार्टीको राजनीतिक काममा सक्रिय रहेका छन् ।

तपाईको प्रतिक्रिया