
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन सुरक्षित, भयरहित, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
शुक्रबार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरुको लागि अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले संयमित भएर राजनीतिक दल र उम्मेदवारहरुले स्थानीय तह निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले प्रचारप्रसारका सामग्रीहरु बनाउँदा पनि आरोप, प्रत्यारोप र अवाञ्छित गतिविधिका सामग्रीहरु प्रशारित गर्न नहुनेतर्फ पनि सचेत गराए। प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरुले मतपत्र कडा कागजमा छापिएकोले च्यात्छु र चपाउँछु भन्ने सोच नराख्न आग्रह गरे।
उनले विगतमा भएका गल्तीका कारण निर्वाचन आयोगमाथि बत्ती निभ्छ कि निभ्दैन जस्ता आरोपहरु लागिरहेको भन्दै लोकतन्त्रमा विश्वास गरेर उम्मेदवारी दिने दल र उम्मेदवारहरुलाई मतपत्र च्यातेर र चपाएर जित्छु भन्ने सोचबाट मुक्त हुन आग्रह गरे।
प्रमुख आयुक्त थपलियाले यस वर्ष आयोगले निर्वाचनको तयारी गरिरहँदा निर्वाचनको समयमा उम्मेदवारीमा लचकता अपनाउने र प्रचारप्रसारमा कठोरतालाई नछोड्ने संकल्प लिएको बताए।
उनले आयोगले स्थानीय तह निर्वाचनका लागि गरिएका उम्मेदवारी दर्ताले स्थानीय तहमा निर्वाचित हुनुपर्छ र नेतृत्व गर्नुपर्छ भन्ने भावना नागरिकमा देखिएको महशुस भएको बताए।
प्रमुख आयुक्त थपलियाले भने, ‘योपल्ट हामीले निर्वाचनको तयारी गरिरहँदा हामीले निर्वाचनको समयमा उम्मेदवारीमा लचकता अपनाउँछौँ र प्रचारप्रसारमा कठोरतालाई छोड्दैनौँ। कहाँ कसले के गर्छ हामीले हेरिराखेका त हुन्छौँ, तै पनि मैले सिधा भाषामा के भन्ने गरेको छु भने आदरणीय लोकतन्त्रप्रेमी महानुभावहरु विशेष गरेर यो लोकतन्त्रलाई विश्वास गरेर उम्मेदवारी दिने राजनीतिक दल र उम्मेदवारहरु, यत्ति कुरा हेक्का राखिदिनुहोस्, यो वर्षको मतपत्र अलिकति कडा कागजमा छापिएको छ, त्यसकारण यसलाई च्यात्ने र चपाउने सोचबाट मुक्त भइदिनुहोस्। यो अनुरोध हो। छाप्दै त्यसैगरी छापेको हो। यो कुरा बुझिदिनुभयो भने आगामी दिनमा यस्ता प्रश्न उठ्दैनन्।’
धम्की र त्रास मान्य हुँदैन
प्रमुख निर्वाचन आयुक्त थपलियाले विभिन्न राजनीतिक दलका नेताहले स्वतन्त्र उम्मेदवारी दिँदा धम्की, त्रास र चेतावनी दिएको गोप्य सूचना आइरहेको भन्दै त्यो सह्य नहुने बताए।
उहाँले लोकतन्त्रलाई विश्वास गरेर निर्वाचनमा गएको हो भने लोकतन्त्रमा चुन्ने र चुनिन पाउने अधिकारलाई कुनैपनि हालतमा कुण्ठित गर्न नमिल्ने स्पष्ट पारे।
प्रमुख आयुक्त थपलियाले कुनैपनि किसिमको दबाव, त्रास, प्रलोभन, कुनैपनि किसिमको कारबाहीको धम्की वा शक्तिको प्रयोग गरेर उम्मेदवारमाथि दबाव दिए लोकतन्त्रबिरोधी गतिविधि हुने बताए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दलहरुले समानुपातिक समावेशीता सिद्धान्त र ऐन, कानूनलाई बिर्सिएर स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता गरेको बताए।
















































। १६ बैशाख २०७९, शुक्रबार