
जाजरकोट । जाजरकोटमा एक किशोरलाई १३ वर्षदेखि खोरमा थुनेर राखिएको छ। बारेकोट गाउँपालिका–४ रावत जिरीका १६ वर्षीय भीमराज रावतलाई खोरमा थुनेर राखिएको छ ।
तीन वर्षको उमेरमा मानसिक सन्तुलन गुमाएका कारण उनलाई खोरमा राखिएको आफन्तको भनाइ छ। गरिब परिवारमा जन्मेका भीमराजको २ भाइ र १ बहिनी छन् । उनको बुवाआमाको आर्थिक अवस्था अत्यन्तै कमजोर छ ।
भीमराजको उपचार गर्न ऋण खोजेर कहिले नेपालगन्ज, कहिले काठमाडौं त कहिले भारतका अस्पताल धाए । तर, भीमराजको उपचार हुन सकेन। त्यसैले उनलाई राख्नका लागि बुवाले बाख्राको जस्तै खोर बनाएका छन् ।
उनलाई खोरभित्र नराख्दा घरपरिवार वा जो कोही भेटिए माथि झम्टिन्छन्। कहिले ढुंगा त कहिले दाँतले आक्रमण गर्छन्। भीमराजको उमेर बढ्दै जाँदा परिवारका मान्छे चिन्तित छन् । मानव चेतना नभएझै देखिने भीमराज झट्ट हेर्दा बलिया देखिन्छन् । कहिलेकाहीँ उनलाई नियन्त्रण गर्न निकै गाह्रो हुने उनका दाई विष्णु रावत बताउँछन् ।
आर्थिक अभावले सुविधा सम्पन्न अस्पतालमा लिएर उपचार गर्न नसकिएको बताउँदै उनले भने, ‘कसैले सहयोग गरे उपचार सम्भव हुन्थ्यो कि ?,’ उनलाई खोरभित्रै खाना र पानी दिने गरिएको विष्णुले बताए । खोरभित्र थुनिएका भीमराजले लगाएका कपडासमेत फुकालेर फालिदिने गरेका छन्। दिसापिसाब गराउनसमेत समस्या हुने गरेको छ। ‘कहिलेकाहीँ बस्ने ठाउँमै दिसापिसाब गरिदिन्छ,’ विष्णुले भने, ‘साह्रै सताएको छ ।’
आमाबुवा निकै सोझा हुनुहुन्छ। कहाँ कसरी उपचार हुन्छ केही थाहा छैन। छोड्यो कि उपद्रो मच्चाइहाल्छ। त्यसैले भीमराजलाई फलामे खोरभित्र थुनेर राखिएको स्थानीय सुरेन्द्र सिंहले बताए ।
यो समाचार पत्रकार राजेन्द्र कार्कीले अन्नपूर्ण पोस्टमा लेखेका छन् ।
















































। ५ बैशाख २०७९, सोमबार