राणाले बनाएको झोलुङ्गे पुल मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती


जाजरकोट । जाजरकोट भेरी नगरपालिका ११ मेटाल स्थित भेरी पुलमा वर्षेनी सर्वसाधारण मानिस देखि पशु चौपाया घाइते हुँदा पनि मर्मतमा ध्यान नदिँदा समस्या भएको छ।

विहीबार मात्र उक्त झोलुङ्गे पुलबाट खसेर एक महिला घाइते भएकी छिन् । जाजरकोटको भेरी नगरपालिका २ रिसाङकी ५२ वर्षीया देवी पुन पुलबाट खसेर घाइते भएकी हुन् । चौरजहारीबाट किनमेल गरेर घर फर्कने क्रममा जीर्ण अवस्थामा रहेको पुलबाट खसेर घाइते भएको उनका छोरा प्रेमबहादुर पुनले जानकारी दिए । आमाको ढाडको करङ र दुबै खुट्टा भाँचिएको छोराले बताए ।

घाइते पुनको अहिले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ । कच्ची पुलमा राखिएको फल्याक झरेपछि उनी पुलबाट नदी किनारमा खसेर घाइते भएकी थिइन् । रुकुम पश्चिम र जाजरकोट जोड्ने झोलुङ्गे पुल वर्षाैँ देखि जीर्ण अवस्थामा रहेको छ ।

बाइसे चौबिसे राज्यकालताका भेरी नदीमाथि बनाइएको मटेलाको झोलुङ्गे पुल जीर्ण बनेपछि पुलबाट वारपार गर्ने विद्यार्थी र सर्वसाधारणलाई समस्या हुने गरेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ र जाजरकोटको भेरी नगरपालिका–११ मटेला बीचको भेरी नदीमा रहेको यस पुलमा यात्रा गर्न जोखिम रहेको स्थानीयको भनाई छ ।
अहिले झोलुङ्गे पुल ठाउँ–ठाउँमा भत्किएको छ भने वरिपरि रहेका तार, जालीहरू फुत्किँदै गएका छन् ।

पुलका विभिन्न भागमा रहेका नट बेल्टहरू समेत झरेका छन् । भेरी नगरपालिका ११ कि विष्णु गिरी पढ्न भनेर विद्यालय जाने विद्यार्थीहरू डराइ, डराइ पुल तर्ने गरेको बताउँछिन् । उनले पुलबाट बच्चा बच्ची खस्लान् कि भन्ने पीर लाग्ने गरेको दुखेसो पोखिन् ।

कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले वर्षौँसम्म उचित मर्मत नभएको र कसैले पनि संरक्षणतर्फ ध्यान नदिएकाले पुल जीर्ण बन्दै गएको बताए ।

उक्त पुल ९० मिटर लम्बाइ रहेको त्यस पुलको छुट्टै इतिहास रहेको भेरी नगरपालिका–४ का राजेन्द्र विक्रम शाहले बताए । राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेको यो पुल जाजरकोटे राजाकी छोरी तथा चन्द्रशमशेरकी कान्छी रानी बालकुमारी शाहले आफ्नो माइतीहरूलाई भेरी नदी वारपार गर्ने सुविधाका लागि निर्माण गरिदिन आग्रह गरेपछि बनेको बताइन्छ ।

तपाईको प्रतिक्रिया