गुणस्तरीय शिक्षा आजको आवश्यकता नारामा मात्रै सीमित !

क्षेत्र प्रताप शाही


शिक्षा असल आचरण तथा व्यवहार निर्माणको आधार मानिन्छ । विश्वका ठूलाठुला दार्शनिकहरुले शिक्षा केही पनि होइन् तर असल वानी निर्माणको आधार मात्र हो भनी शिक्षालाई व्याख्या तथा विश्लेषण गरेको पाईन्छ ।

यि विभिन्न दार्शनिकहरुको व्याख्या बाट नै आजका शिक्षक, अभिभावक र विद्यार्थीहरुले शिक्षाको विषयमा जान्न र बुझ्न आवश्यक देखिन्छ । किताब भित्रका साना र रंगीन अक्षरहरुको पहिचान मात्र शिक्षा आर्जन होईन् ।

ती किताब भित्र खाँदिएका अक्षर सँगै विद्यार्थीको सर्वाङ्गीण विकास, संस्कार र सभ्यतालाई पनि महत्वपूर्ण जोड दिनुपर्छ । सभ्यता र संस्कार विकासका निम्ति पहिलो तह घरपरिवार अनि त्यस पश्चात बिद्यालय मानिन्छ । सामान्यतया बालबालिकाले आफ्नो घरको चालचलन र वातावरणलाई समुदायमा वा विद्यालयमा आफ्नो व्यवहार मार्फत प्रष्ट पार्ने भएकाले असल व्यवहार निर्माणमा घरपरिवार र विद्यालय उत्तिकै जिम्मेवार देखिन्छन् ।

तर त्यसको विपरीत घरपरिवार तथा विद्यालयले एक–आपसमा आरोप प्रत्यारोप लगाईएको तपाई हामी सवैलाई छर्लङ्ग नै छ । वास्तविक त्यस्तो हुनु हुदैन्, विद्यार्थीको सुन्दर भविष्य निर्माणमा विद्यालय, अभिभावक र विद्यार्थी वीचको त्रिकोणात्मक सम्बन्ध हुन आवश्यक छ । भनिन्छ व्यक्ति, समुदाय र समग्र देशको विकासमा गुणस्तरीय शिक्षा सवैभन्दा महत्वपूर्ण पाटो हो ।

विद्यार्थीको सुन्दर र सफल भविष्य निर्माणका लागि थुप्रै सरकारी तथा गैरसरकारी शिक्षण संस्थाहरु स्थापना भएका छन् । गुणस्तरीय शिक्षा आजको आवश्यकता भनिएता पनि कतिपय विद्यालयहरु त्यसप्रति गैरजिम्मेवार देखिन्छन् । गुणस्तरीय शिक्षा प्रदानका लागि संस्थागत विद्यालयहरु वीच निकै प्रतिस्पर्धा भैरहेको देखिन्छ भने तर सामुदायिक विद्यालयहरुमा निकै लापरबाही र विद्यार्थीहरुको भविष्यप्रति गैरजिम्मेवारी जस्तो देखिन्छ ।

अर्को तिर सरकारको अभियान निजी विद्यालयहरु बन्द गर्नुपर्छ र हटाउनुपर्छ भन्नेछ । संस्थागत विद्यालय बन्द होईन सरकारी विद्यालयहरुमा गुणस्तर शिक्षा व्यवस्थापन गर्ने हो भने महंगो शुल्क तिरेर निजी विद्यालयहरुमा पढाउने रहर कुनै पनि अभिभावकलाई हुने छैन् ।

यसको मतलब सवै सामुदायिक विद्यालयहरुमा उचित व्यवस्थापन छैन भन्न् खोजिएको होईन तर जाजरकोटको सन्दर्भमा हेर्ने हो भने कतिपय विद्यालयहरु ११ बजे खुल्ने र १२ बजे बन्द हुने परिपाटी अझै जीवित छ । त्यस्ता विद्यालयहरु कि त सदाका लागि बन्द गरिनुपर्छ होईन भने सुधारिनुपर्छ । विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई पनि छैन् ।

आजभोलि त झन् के कुरा शिक्षकहरुलाई विद्यार्थी र विद्यालयको भन्दा बढी चिन्ता पार्टीको छ । सबै शिक्षकहरु चुनावी मैदानमा आआफ्ना पार्टीका घोषणापत्र बोक्दै ठिक्क छन् उता विद्यालयहरु कार्यालय सहयोगीका भरमा छन् ।

शिक्षक नियुक्ति गर्दा राजनितिक पहुँचको भरमा राम्रोलाई होईन हाम्रो लाई गरिन्छ, पार्टी प्रवेश र पाटी सदस्यतालाई सवैभन्दा वलियो (साटीफिकेट) प्रमाणपत्र बनाउँछन् अनि कहाँबाट गर्ने गुणस्तरीय शिक्षाको आशा अनि विद्यार्थीको असल भविष्य निर्माण ?
अन्ततः गुणस्तरीय शिक्षा विस्तार गर्न एवम व्यवस्थापन गर्न सम्बन्धित निकाय र सरोकारवालाहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।

लेखक शाही कस्तुरी सहकारी बोर्डिङ्ग स्कुल जाजरकोटका प्रिन्सिपल हुन् ।

तपाईको प्रतिक्रिया