प्रकाण्डलाई हिमालको खुल्ला पत्र ( पत्र सहित)


नेकपा ( विप्लव) समुहका भेरी नगरपालिका इन्चार्ज ठगेन्द्रबहादुर सिंह ( हिमाल) ले पार्टी पवक्ता खडकबहादुर विश्वकर्मा ( प्रकाण्ड) लाई खुल्ला पत्र पठाएका छन् । स्थानीय तहको चुनावमा जाने प्रकाण्डको कुरालाई लिएर हिमालले खुल्ला पत्र पठाएका हुन् ।

यस्तो छ खुल्ला पत्र ……….

श्री आदरणीय नेतृत्व प्रकाण्ड ज्यू,
जाजरकोटी भुमिबाट क्रान्तिकारी अभिवादन ।

जाजरकोट विकट वस्तीभित्र हजुरको सदस्य म सहित अन्य साथीहरु क्रान्तिकारी विचारबाट एकरथी विचलित नभई अगाडि बढिरहेको छौँ । उता हजुरलाई मालेमावादी विचार र एकीकृत जनक्रान्तिको मार्ग दर्शनले हजुरको रक्षा र विकास होस् भन्ने कामना गर्दछु ।

खासै पत्र लेख्नाको कारण यो छकि आज आएर बजार, गाउँ, वस्तीटोल र चोक चोकमा हाम्रो विषयमा कु –प्रचार गरिदै छ । हिजो जनताको वीचमा जाँदा छाति फुलेको थियो, यात्रा लम्की रहेको थियो, दलाल र फटाहरु हामीतिर सिधा हेर्न गाह्रो थियो, जन समर्थक र संगठन तिब्र बढेको थियो । आज आएर ठिक विपरीत देखा पर्नुले हजुरलाई सम्झेर यो पत्र पठाएको छु । आशा छ, हजुरले यसलाई संश्लेषण गरेर विश्लेषण गर्ने क्षमता अवश्य राख्नु हुनेछ ।

मलाई थाहा छ । हजुर सहित केही नेतृत्वले अस्ति भर्खर बोलेको कुरा मिडियामा एउटा चर्चालाई सच्याएर निर कुमार राई, कुमार पौडेल, तिर्थ घिमेरे, महान, गोकुल, जगत, सनराइज सहित १२ जना बिर सहिद र हस्पिटलको बेडबाटै पार्टी क्रान्तिलाई धोका नदिनु भन्दै हातलाई मुठी पारेर अल बिदा हुनु भएका आदरणीय क.बिर जंग चन्दको भनाईलाई हजुरहरुलाई पक्कै स्मरण छ होला ।

अवश्य पनि हजुरले यस्तो महत्वपूर्ण विषय भुल्न सक्नु हुन्छ ? मलाई थाहा छ , भुल्न सक्नुहुन्न हजुरको मानस्पटलमा आइरहेको छ । यतिमात्र होइन् अरु पनि छ, जनयुद्ध, जनआन्दोलनका सहिद तथा घाइतेहरुको रगतले हजुरलाई झस्काई रहन्छ, अर्को कुरा सहिद परिवारका आँसुहरुले पनि हामी सबैलाई गलत गरे एकदिन बगाउने छ ।

हो क.प्रकाण्ड ज्यू,
हजुरहरुले यसलाई निर्धक्क संग नेतृत्व गर्ने कुरामा दुई मत छैन् । म सहित सयौँ सिपाईहरु पर्खाइमा छम । आशा छ हजुरले हामी सबैलाई कुनै पनि हालतमा धोका दिनुहुन्न र अझ बढी स्पात बनेर नेतृत्व गर्नु हुनेछ र दलाल संसदीय व्यवस्थाका नाइकेहरुको सातो जानेगरी जादुकर हतियार देखाउनु हुनेछ । हाम्रो मर्म र भावनालाई लिड गरेर छिट्टै क्रान्तिको बाटो फराकिलो बनाउने यात्रामा लाग्ने पक्का छ भनेर तपाइको अपेक्षा गरेको छु ।

अर्को महत्वपूर्ण विषय संसदबाट अस्ति भर्खर फागुन १५ गते पास गरेको एमसीसी परियोजनालाई खारेजी गर्ने कुरा अब चुनावलाई उपयोग गर्ने र चुनावी मोर्चा बनाउने कुराले अर्थ राख्दैन्, यसलाई त एमसीसीको विपक्षमा रहेका दल, मोर्चा, सामाजिक अभियान्ता, रिटायरवाला सेना, पुलिस र राष्ट्रभक्त क्रान्तिकारी शक्तिहरुलाई गोलबन्द बनाएर अगाडि बढियो भने अमेरिकाबाट हाम्रो देश नेपाललाई युक्रेन जस्तो हुन बाट जोगिने छ ।

यो विषय पनि हजुरलाई थाहा छ, यो दलाल सरकार र सत्ता कस्को हो ? यो त विदेशीहरुको निर्देशनमा निर्देसित छ भनेर भनेको कुरा र हजुरले दिएको प्रशिक्षण आज मलाई स्मरण भएको छ । सबै विषय ताजा नै छ, संसदीय व्यवस्था, व्यवस्था भित्रका पार्टी सत्ता, सरकार कर्मचारी, सेना पुलिसको मार्फत चल्छन् ? यिनी त केवल आज आएर विदेशी डलरबाट चलेका छन् भनेर हजुरले दिएको अन्तवार्ता यूटुवमा सर्च गर्दा भेटिहाल्छ । त्यसैले अस्ति भर्खर हजुरले निर्वाचन आयोगमा गएर बोलेको विषयमा मिडियाले थपेर जसरी बाहिर ल्यायो त्यस दिनबाट हामी क्रान्तिकारीहरुको मन जलेको छ ।
कसरी पार्टी केन्द्रको निर्णय विपरीत आयो भनेर हामी छक्क परेका छौँ । के हजुरलाई महासचिव क. विप्लवको निर्देशन थियो होला र ? विश्वास छैन कसरी बहुमतले गरेको निर्णय विपरित भयो भनेर, गलत प्रचार भएको छ । हजुर जस्तो जिम्मेवार नेतृत्वले सामान्य विषयलाई ख्याल गरेर मिडियालाई दिएको भए सायद भाइरल हुदैन्थ्यो होला तर आज सानो विषयले हामीलाई जनताको वीचमा जान गाह«ो भएको छ । हामी त नितान्त कात्रो बाँधेको सिपाइ न हो, न त हामी काँग्रेस, एमाले, माके जस्तो चाकडी गर्ने मासु रक्सी र पदमा बेचिने व्यक्ति पनि त होइन्, हामी त नितान्त राज्य व्यवस्था बदल्ने सिपाई हो । हजुरलाई यो कुरा पनि थाहा छ ।

अब म धेरै नलेखिकन थोरै शब्दमा मेरो कलम रोक्न चाहान्छु । लेख्न मन त धेरै थियो तर समयलाई खेर फाल्नु भन्दा जनता संग छलफल गरियो भने दलाल सत्तामा जाने चोर नेताहरुको भोट घटाउन त सकिएला भनेर थोरै शब्दमा उल्लेख गरेर लेखन कार्य बन्द गर्दछु । अन्तमा जाजरकोट जिल्ला देखि म हिमालको तर्फबाट टुटफुट होइन एकताको सन्देश सहित सलुट गर्दछु । धन्यवाद ।

डगेन्द्रबहादुर सिंह (क. हिमाल)
ईन्चार्ज भेरी नगर कमिटी नेकपा

तपाईको प्रतिक्रिया