
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकता गरी केपी शर्मा ओलीलाई नायक बनाउने प्रयास गरे पनि उनी खलनायक भएर निस्किएको आरोप लगाएका छन् ।
रोल्पा सदरमुकाम लिवाङमा आयोजित आमसभालाई आज (सोमबार) सम्बोधन गर्ने क्रममा प्रचण्डले नेकपा एमालेका अध्यक्ष ओलीतर्फ संकेत गर्दै भने, ‘जसलाई हामीले धोइपखाली गरेर राम्रो बनाउन सकिन्थ्यो कि भनियो, जसलाई नायक बनाउन सकिन्थ्यो कि भनियो उनी खलनायक निक्लिए ।’ ०७५ सालमा माओवादी र एमाले एकताको प्रसंग उठाउँदै अध्यक्ष प्रचण्डले ओली संविधान र परिवर्तनविरुद्ध लाग्दा समस्या उत्पन्न भएको बताए ।
यसअघि काठमाडौंमा आयोजित एउटा कार्यक्रममा एमाले अध्यक्ष ओलीले पार्टी एकता गर्ने क्रममा माओवादी अध्यक्ष दाहाललाई धुँदा बाग्मती मैलो भएको भन्दै कटाक्ष गरेका थिए। त्यसको जवाफ प्रचण्डले रोल्पा पुगेर दिएका छन्।
उनले भने, ओलीले नेकपाको अन्तरसंघर्षमा पराजित भएपछि र उनीविरुद्ध ७० प्रतिशत केन्द्रीय सदस्य लागेको देखेपछि संविधान उल्ट्याउन लागेको प्रचण्डको भनाइ थियो। ’संविधान उल्ट्याउने षडयन्त्र भयो। संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर निरंकुश तरिकाले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक, समावेशी व्यवस्था उल्ट्याउने षडयन्त्र भयो ।
उनले सत्तारुढ गठबन्धन भत्काउने योजना बनिरहेको दाबी गरे। उनले भने, ’गत साल झन्डै प्रतिगमन हुने पो हो कि, संविधानका उपलब्धि उल्टिने पो हो कि भन्ने खतरा उत्पन्न भएको थियो। तर हामीले संघर्ष गरेर सफल भयौं, हामीले गठबन्धन बनायौं। यसलाई भत्काउन पनि देशी÷विदेशी षड्यन्त्र भयो र अहिले पनि भइरहेको छ।’ सत्तारुढ गठबन्धनलाई अझै बलियो बनाउन र आगामी निर्वाचनमा नयाँ रेकर्ड बनाउन प्रयत्न भइरहेको उनले बताए।
















































। १४ चैत्र २०७८, सोमबार