नेपाली सेनाको इन्द्रदल गुल्मले आफ्नो बार्षिकोत्सवमा बटुकहरुलाई खाद्यान्न सहयोग


दैलेख । नेपाली सेनाको इन्द्रदल गुल्मले आफ्नो वार्षिकोत्सवको अवसरमा पवित्र तीर्थस्थल नाभिस्थानका बटुकहरुका लागि खाद्यन्न सहयोग गरेको छ । दुल्लू नगरपालिका–१० गमौडीको नाभिस्थानमा सञ्चालित पञ्चकोशी वेद विद्याश्रममा अध्ययनरत बटुकहरुका लागि गुल्मले उक्त सहयोग गरेको हो ।

चार बोरा चामल, दाल, नून, तेल, मसला र बिष्कुट दिइएको हो । इन्द्रदल गुल्मका इञ्चार्ज सेनानी दिनेश लामाले नाभिस्थानमा पुगेर पञ्चकोशी वेद विद्याश्रमका प्रधानाध्यापक खगेन्द्रप्रसाद बजगाइँलाई आइतवार हस्तान्तरण गर्नुभयो ।

त्यसबखत सेनानी लामाले बागलुङ्गका गलकोटमा तीन महिना अघि दिवंगत भएका आफ्ना शाला १७ वर्षीय निरञ्जन घर्तीको आत्मशान्तिको पूजा निम्ति पञ्चकोशी वेद विद्याश्रमलाई १० हजार नगद सहयोग गर्नुभयो ।

२०५९ चैत १२ गते स्थापना भएको इन्द्रदल गुल्मको स्थापना दिवस पारेर वार्षिकोत्सव मनाउने गरिन्छ । यो गुल्मको आदर्श वाक्य ‘बैरीलाई बज्र प्रहार’ रहेको छ । सेनानीको नेतृत्वमा अधिकृत र सकलदर्जा समेत दुई सय १८ जना रहेको यो गुल्म दैलेख सदरमुकाम र दुल्लूमा रहेको छ ।

२०७५ जेठ ६ गतेदेखि दैलेखमा सुरक्षा काममा तल्लिन इन्द्रदल गुल्म चैत अन्तिममा मनाङ्ग जिल्लाको सदरमुकाम च्यामेमा सर्ने तयारी रहेको छ । इन्द्रदल गुल्मलाई बदल्न कालिदत्त गुल्म आउदैछ, यो गुल्म पनि सेनानीको नेतृत्वमा दुई सय भन्दा बढी सेनाका अधिकृत तथा सकलदर्जा रहनेछन् ।

नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि चार महिना लामो लकडाउन, त्यसपछिका निषेधाज्ञा लगायत कोभिड रोकथाम स्वास्थ्य सुरक्षा सावधानी निम्ति जिल्ला सुरक्षा समितिले तोकेको जिम्मेवारी अनुसार गुल्मले सुरक्षा समन्वयको काम कुशलतापूर्वक पूरा गरेको थियो ।

दैलेख बसाईको क्रममा इन्द्रदल गुल्मले अघिल्लो वर्ष म्याराथुन गौड प्रतियोगिता लगायतका खेलकूद क्षेत्रको प्रवद्र्धनमा गरेको कामको जिल्लामा प्रशंसा भएको थियो । हरेक ४ वर्षमा नेपाली सेनाका यूनिटहरु स्थानान्तरण गर्ने नीति अनुसार आधा भन्दा बढी जनशक्ति मनाङ्ग गइसकेको कारण यो पालि गुल्मको वार्षिकोत्सव औपचारिक रुपमा मनाउन नसकिएको उपसेनानी तपेन्द्रजङ्ग शाहले बताउनुभयो ।

प्रथम विश्व युद्ध चलिरहेको बेला सेनाको संख्या बढाउदा विक्रम सम्वत १८६२ मा स्थापना भएको इन्द्रदल गुल्म दोश्रो विश्व युद्ध सकिएपछि सेनाको संख्या कटौती गर्दा २००९ खारेज भएको थियो । सशस्त्र युद्ध चर्कदै गएको बेला सेनाको संख्या बढाउँदा २०५९ चैत १२ गते इन्द्रदल गुल्म पुनः स्थापना भएको हो ।

२०५९ मा इन्द्रदल गुल्मको पुनः स्थापना हँुदा सुरुमा एक वर्ष सिंहदरबार सुरक्षामा खटिए थियो । त्यसपछि २०६० माघ १२ देखि ताप्लेजुङ्ग, २०६६ चैत १४ गतेदेखि कोशीटप्पू, २०७१ जेठ १४ देखि तेह्रथुमपछि चार वर्ष अघि २०७५ जेठ ६ गतेदेखि दैलेख आएको गुल्मका उपसेनानी शाहले जानकारी दिनुभयो ।

ताप्लेजुङ्गमा हुँदा २०६२ असोज ७ गते सामुदायिक वन हस्तान्तरण कार्यक्रमबाट फर्किने क्रममा घुन्साको फले धुन्चे पहाडमा हेलिकोप्टर दुर्घटनामा परी तत्कालिन वन राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद डा. हर्क गुरुङ्ग लगायत २४ जनाको ज्यान गएको घटनामा मृतकहरुको शव खोज्ने काम इन्द्रदल गुल्मले गरेको थियो ।

सुनसरीको कोशीटप्पू वन्यजन्तु आरक्षको सुरक्षामा खटेको बेला चोरी सिकारी नियन्त्रण, वन तथा वन्यजन्तु संरक्षणको निम्ति उत्कृष्ण कार्य गरेको भन्दै तत्कालिन राष्ट्रपति रामवरण यादवबाट पुरस्कार तथा प्रशंसापत्र प्राप्त गरेको थियो ।

गुल्मले तेह्रथुममा रहँदा २०७२ को भूकम्प पीडितहरुको उद्धार तथा राहत, सक्रान्ती बजारमा २०७३ पुस १ गते दिउँसो भएको भीषण आगलागी नियन्त्रण, २०७४ वैशाखको स्थानीय निर्वाचन तथा २०७४ को संसदीय निर्वाचनमा सफलता पूर्वक सुरक्षा व्यवस्थापन गरेको थियोे ।

दैलेख बसाईको क्रममा इन्द्रदल गुल्मलाई आवश्यक सहयोग गर्ने जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायहरु, नागरिक समाज र सरोकारवाला सबैलाई गुल्मका इञ्चार्ज सेनानी दिनेश लामाले धन्यवाद दिनुभएको छ ।

तपाईको प्रतिक्रिया