
तपाईंहरूले धेरै प्रेम कथा पढ्नुभयो होला । धेरैका प्रेम कथा देख्नुभयो होला ! अनि आफ्नै प्रेम कथा पनि बुन्नुभयो होला !
तै पनि आज हामी तपाईंहरूलाई प्रेम कथा नै सुनाउँदै छौं। यो कथा तपाईंहरू सबैले पक्कै पढ्नुभएको छैन् । किनकी यो कथा तपाईं हाम्रो होइन ।
यो कथा हो चितवन राष्ट्रिय निकुञ्जमा बस्ने प्रेमिल जोडीको। जंगलका राजारानीको । बाघ र बघिनीको ।
जून(ताराको मधुरो उज्यालो थियो। रात धेरै छिप्पिएको थिएन। मानिसको चहलपहल भने बन्द भइसकेको थियो ।
एउटी बघिनी जंगलबाट लमकलमक गर्दै आउँछे । ऊ उत्साहित देखिन्छे । रातमा उसका आँखा चम्किला हुन्छन् । सरासर ऊ एउटा काठले बनेको खोरनजिकै जान्छे । लचक लचक गर्दै खोरको एक फन्को लाउँछे ।
अनि अगाडिका दुवै खुट्टा खोरको बारमा केही माथि अड्याउँछे । यसो गर्दा ऊ उभिएझैं देखिन्छे ।
भित्र यसो चिहाउँछे, खोरभित्र देख्छे जंगलको राजा, उसको राजा, बडेमानको बाघ ।
उनीहरू एकअर्कालाई छुन खोज्छन् । तर बलियो खोरका बार बाधा बनेर तेर्सिन्छन्। उनीहरूका पञ्जा बारको खाली ठाउँबाट छिर्दैनन्। सानो प्वालबाट एकअर्कालाई तिखा र चहकिला आँखाले टुलुटुलु हेरिरहन्छन् । बेलाबेला नाकबाट सुँसुँ आवाज निकाल्दै सुँघ्छन्। घ्वार्र गर्छन् ।
जति बेर पर्खे पनि उनीहरूको मिलन हुँदैन ।
उत्साही चालमा आएकी बघिनी सुस्त लमकलमक गर्दै आएकै बाटो फर्किन्छे ।
यो दृश्यका साक्षी हुन् आइतराम भोटे । खोरमा थुनिएको बाघका हेरचाहकर्ता आइतरामले नै हामीलाई उनीहरूको कथा सुनाएका हुन् ।
सधैंजसो यिनलाई नियालिरहेका उनी भन्छन्, ुयो बाघ र बघिनीको माया बसेको छ, यी प्रेमी–प्रेमिका हुन् ।
उनका अनुसार हरेक दिन रात पर्दै गएर सुनसान भएपछि जंगलकी बघिनी निकुञ्जको मुख्यालय कसरानजिकै यो बाघलाई भेट्न आउँछे । खोरबाहिरैबाट माया साट्न खोज्छे। आपसी मिलनको प्रतीक्षामा थुप्रै घन्टा बिताउँछे। राति आठ बजेतिर आएकी बघिनी सरदर पूर्वाह्न तीन बजेतिर मात्र फर्किन्छे । हरेक दिन असफल हुन्छे, तर आश नमारी फेरि उसैगरी आउँछे ।
खोरमा थुनिएको बाघको हेरचाह गर्ने जिम्मा आइतरामलाई छ । उनी त्यो बाघलाई आहारा दिन्छन्, खोर सफा गर्छन्। खोर नजिकै उनको बसाइ छ । प्रेमी बाघ र प्रेमिका बघिनीको मायाप्रीतिको एकएक जानकारी उनलाई हुन्छ ।
बघिनी आएपछि खोरभित्रै बाघ आक्रामक बन्छ । बाहिर निस्किन बल गर्छ, छट्पटाउँछ। साँझ छिप्पिएपछि आइतराम आफ्नो बासस्थानमा हुन्छन् । बघिनीको आएको कुरा बाघ कराएको आवाजले नै थाहा पाउँछन् ।
रात सुनसान भएपछि भाले बाघ ठूलो आवाजमा गर्जिन थाल्छु आइतराम भन्छन्,खोरमा बाघ कराउन थालेपछि बघिनी आइछे भन्ने थाहा पाउँछु ।
यो भाले बाघ यहाँ ल्याउँदा दुब्लो थियो। मान्छेलाई आक्रमण गर्न खोज्थ्यो । पहिला राखिएको फलामको खोर भत्काउन कोसिस गरेपछि काठे खोरमा राखिएको हो। बिस्तारै यसले मान्छेले दिएको आहारा खान थाल्यो, अहिले निकै मोटाएको छ ।
अहिले त बाघले आइतरामलाई पनि साथीजस्तो मान्न थालेको छ। उनले भनेको मान्छ । उसलाई हेर्न आउने मानिसलाई खोरमा र्पुयाउने काम पनि उनकै हो ।
उनी भन्छन्, ुमानिस खोरनजिक जाँदा कराउँछ, झम्टिन खोज्छ। मैले चुप लाग् भनेपछि चुप लागेर बस्छ ।
दिनहुँ यही बाघको आगेपिछे गरिरहने आइतरामलाई पनि यसको विशेष माया लाग्न थालेको छ। राति आउने बघिनी र खोरमा थुनिएको बाघको मिलन हेर्न मन छ उनलाई। यी दुई प्राणी खुला रूपमा भेटिन पाए कति खुसी हुने थिए होलाजस्तो लाग्छ ।
ुमिलन हुन पाए यिनीहरू खुसी हुने थिए। म पनि खुसी हुने थिएँ,ु आइतरामले भने, ुके गर्नु र१ यसलाई खोरबाट छोड्दा फेरि मान्छे मार्न बेर लाउँदैन् ।
बघिनी खुलेआम घुमिरहँदा यो बाघसँग चाहिँ किन डराउने त ?
यसको कारण छ ।
यो बाघलाई खोरमा यसै थुनिएको होइन, यहाँ कैदीका रूपमा बसेको हो। मानवहत्याको अभियोगमा अपराधको दण्डस्वरूप मानिसलाई जेल सजाय दिइएझैं यसलाई पनि यहाँ कैद गरिएको हो ।
दुई जना मान्छे खाएर नरभक्षी भएपछि यसलाई समातेर खोरमा हालिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन्। काठको खोर फराकिलो नै देखिन्छ, हिँड्न पनि मिल्छ तर दिनभर जंगल चहार्ने र खेदीखेदी शिकार गर्ने राजालाई फराक खोरको के अर्थ !
खोरमा थुनिएको बाघ निकुञ्जको वयस्कमध्येको एक हो ।
निकुञ्जका रेन्जर पुष्पदीप श्रेष्ठका अनुसार बाघ लजालु स्वभावको हुन्छ । बाघ देखेर मानिस डराएझैं बाघ पनि मानिस देखेर डराउँछ। सामान्यतया भाले बाघ जंगलमा एक्लै विचरण गर्न रूचाउँछ र विचरणको आफ्नै क्षेत्र बनाउँछ। वयस्क हुँदै गएपछि यसले पनि आफ्नो क्षेत्र कायम गरेको थियो ।
निकुञ्ज भित्रबाट राप्ती नदी बग्छ। निकुञ्जको मुख्यालय कसराबाट राप्तीपारि जंगलमा यो बाघले आफ्नो क्षेत्र बनाएको थियो, त्यतै शिकार गथ्र्यो। त्यहीँ नजिकै पोथी बाघ अर्थात् बघिनीको क्षेत्र थियो ।
वयस्क भाले बाघ निकै बलियो थियो। अचानक उसलाई अर्को बाघले आक्रमण गरेर विस्थापित गरिदियो । विस्थापित बाघ आहारा खोज्दै मानिसले घाँसदाउरा गर्ने जंगलतिर पुग्यो ।
अनि २०७७ भदौ २२ गते घाँस काट्दै गरेका एक पुरुषलाई आहारा बनायो। लगत्तै असोज १० गते अर्का एक पुरुषको ज्यान लियो ।
यसपछि निकुञ्जले यसलाई नरभक्षी बाघ मान्यो र खोज्न थाल्यो। फेला पारेपछि डार्ट (टाढैबाट प्रहार गरेर लठ्याउने सुई हान्ने काम) र्गयो र नियन्त्रणमा लियो ।
अनि कैदीका रूपमा यो बाघ खोरमा आइपुग्यो ।
सुरूमा यसको हेरचाह जिम्मा मणिराज महतोलाई थियो । उनका अनुसार कैद भएको केही दिनसम्म उसले केही खाएन । दुब्लो र थकित थियो । निकै छट्पटिएर कराउँथ्यो । रिसाहा देखिन्थ्यो । पानी खान खोज्थ्यो । उसको एउटा दाह्रा पनि थिएन, छैन् । वासस्थान कब्जाको लडाइँका क्रममा भाँचिएको अनुमान गर्छन् महतो ।
अहिले यही बाघ हृष्टपुष्ट भएको छ । दैनिक १० किलो आहारा खान्छ। अनि प्रेमिका बघिनी आउँदा रमाएझैं देखिन्छ ।
निकुञ्जका अधिकारीहरू पनि बाघ–बघिनी प्रेमकहानीबारे जानकार छन्। निकुञ्ज प्रशासनले यी दुईको मिलनको वातावरण भने बनाउन सकेको छैन। यिनको खुला भेट भए दुवैको प्राकृतिक आवश्यकता पूरा हुने थियो । बघिनी गर्भिणी हुने थिई। बाघको संख्या बढाउने लक्ष्यमा थोरै भए पनि सहयोग पुग्ने थियो ।
बाघ त जंगलको राजा हो । यसरी थुन्न नहुने, निकुञ्जका सूचना अधिकारी तिवारी भन्छन्न् घिनी भेटोस् भनेर मायाले छोडिदिँदा यसले फेरि पनि मानिसलाई आक्रमण गर्न सक्छु ।
बाघ खोज्दै बघिनी आउनु प्राकृतिक कुरा हो । निकुञ्ज प्रशासनलाई भने मानवीय क्षति हुनसक्ने डर छ । तिवारीका अनुसार बाध्यात्मक अवस्थामा बाघलाई राख्नुपरेको हो । यसरी कहिलेसम्म राखिन्छ भन्ने पनि थाहा छैन् । बाघको व्यवहारमा सुधार आएपछि छोड्न सकिने भए पनि त्यसको अध्ययन हुन बाँकी रहेको उनले बताए ।
बाघविज्ञ श्यामकुमार शाहका अनुसार यसरी बाघलाई खोरमा थुन्नु राम्रो होइन् ।
वन्यजन्तु संरक्षणको दृष्टिले पनि थुन्न त नहुने हो तर थुन्ने बाध्यता आइलाग्यो, शाह भन्छन्, वन्यजन्तुको पनि प्रजनन् अधिकार हुन्छ, प्राकृतिक स्वरूपको खोर बनाउन सकेको भए यी दुई बाघको मिलन हुन सक्थ्यो ।
जंगलभित्र फराकिलो क्षेत्रमा घेराबारा गरेर जनावर बाहिर ननिस्कने गरी बनाइएको बन्द ठाउँ प्राकृतिक खोर हो। यस्तो खोरमा जनावर सीमित क्षेत्रमा डुल्न पाउँछ। भालेपोथीको यौन सम्पर्क हुने वातावरण हुन सक्छ ।
यसो गर्न सके भाले बाघ र पोथी बाघबीचको प्रजनन् अधिकारको संरक्षण हुने सक्ने शाहको भनाइ छ। निकुञ्ज प्रशासनसँग यस्तो क्षमता नभएकाले प्राकृतिक स्वरूपको खोर बनाउन नसकिएको हो। मानिसलाई हुन सक्ने जोखिम प्राथमिकतामा पर्ने भएकाले पनि जनावरको प्राकृतिक अधिकारको बेवास्ता हुने गरेको उनको भनाइ छ ।
त्यसैले यो जंगलको राजा यहाँ कैदी बनेर बस्नुपरेको छ । उसले खानपिन खोज्न कहीँ जानु पर्दैन । बासस्थानका लागि अर्को बाघसँग लड्नु पर्दैन् । घाइते हुनु पर्दैन । मान्छेले उसको सबै स्याहारसुसार गरिदिन्छन्। तर त्यही मान्छेको संरक्षणनिम्ति उसको प्रेम अधुरो भइरहेको छ ।
ऊसँग प्रेम साट्न व्याकुल बघिनी उसको स्पर्श खोज्दै खोरसम्म आइपुग्छे, अतृप्त नै फर्किन्छे । ऊ पनि उसैगरी व्याकुल हुन्छ, अतृप्त नै खोरभित्र थुनिइरहन्छ ! #setopati#
















































। १३ चैत्र २०७८, आईतवार