
भुपेन्द्र नेपाली
खलंगा । जनताको नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारमा पहुँचवालाहरुको हालिमुहाली चलेको पाईन्छ । स्थानीय सरकार बनेको पाँच बर्ष पुरा हुनै लाग्दा पनि कतिपय ठाउँका स्थानीयहरुले स्थानीय सरकारबाट पाउनुपर्ने सेवा सुविधाहरु पाउन सकेका छैनन् । सर्वसाधारण जनताका समस्याको समाधान अझै हुन सकेको छैन् ।
जिल्लाको बारेकोट गाउँपालिका ३ मुल्सामका स्थानीयहरुका लागि स्थानीय सरकार नभए सरह छ । यहाँका स्थानीयहरुको समस्या भ्याई नभ्याईका छन् तर समाधानका लागि स्थानीय सरकार र सरोकारवाला निकायहरुले कुनै ठोस कदमहरु उठाउन नसकेको बारेकोट ३ मुल्सामका स्थानीय खिमबहादुर रोकायले बताए ।
उनले भने ‘म एक कृषक हुँ मैले भेडाबाख्रा पालन गरिरहेको छु, म मात्र नभई यहाँका सबै स्थानीयहरुको घरमा पशुचौपायाहरु छन्, विभिन्न रोगका कारण पटक–पटक गरि थुप्रै पशु वस्तुको क्षति भईसकेको छ, स्थानीय सरकार र सरोकारवाला निकाय समक्ष हामीले पटक–पटक औषधीको माग राख्दा पनि उनीहरुले हाम्रो समस्यालाई वेवास्ता गरिरहेका छन् ।’
‘यहाँका पशुचौपायाको अवस्था र स्थानीयहरुको समस्या बुझ्नका लागि अहिले सम्म स्थानीय सरकारद्धारा खटाईएका कुनै पनि कर्मचारीहरु आएका छैनन्’ उनले थपे, ‘कयौं पटक गाउँपालिका अध्यक्षसंग प्रस्ताव गरियौं तर अध्यक्षले समेत कुनै वास्ता गरेन्, जनताको नजिकको सरकार रुपमा रहेको स्थानीय सरकारले समेत हाम्रो समस्याको समाधान गर्दैन भने अब हामीले कसको आशा गर्ने ?’
जनताको भविष्यसंग जोडिएको शिक्षा, स्वास्थ्य, कृषि कुनै पनि क्षेत्रमा स्थानीय सरकारले आवश्यक लगानी गर्न सकेको छैन् । यहाँका जनताहरु स्थानीय सरकारबाट नै पीडित भएको सोही ठाउँका स्थानीय जगे नेपालीले बताए ।
उनले भने ‘यहाँ स्वास्थ्यका भवन छन् कर्मचारी छन् तर विरामीलाई आवश्यक पर्ने औषधी छैन्, सामान्य रुघाखोकी लाग्यो भने पनि पैदल तीन देखि चार घण्टा हिडेर आधारभुत स्वास्थ्य केन्द्र लिम्सामा जानुपर्ने बाध्यता छ ।’
‘अलि जटिल अबस्थाको विरामी भयो भने डोकोमा बोकेर लिनुपर्छ, त्यही विरामी बोकेर लिने बाटो पनि मर्मत हुन सकेको छैन्, स्वास्थ्य छ औषधी छैन् तर विरामीलाई बोकेर लिने हामीसंग स्टेचर समेत छैन्, अब भन्नुहोस् हाम्रा लागि स्थानीय सरकार आएको छ ?’
उनले थपे ‘गत स्थानीय तहको चुनावको वेला तत्कालिन समय नेपाली कांग्रेसबाट बारेकोट गाउँपालिका अध्यक्षका उम्मेदवार र अहिलेका बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाहले यही ठाउँमा भोट माग्दै गर्दा मलाई भोट दिनुहोस् मैले जिते भने तपाईहरुको यो बस्ती र तपाईहरुको भविष्य नै बदलि दिन्छु भन्नु भएको थियो, हामीले उहाँलाई विश्वास गरेर भोट हालियौं उहाँलाई विजय बनाईयौं तर उहाँले आफ्नो वाचालाई विर्सनुभयो, उहाँले हाम्रो यो बस्ती र हाम्रो अवस्थालाई फेरबदल गर्न त सक्नु भएन् तर विरामी बोकेर लिने बाटोको समेत विकास गर्न सक्नु भएन् ।’
गाउँपालिकाले विभिन्न शिर्षकमा भेला, बैठक, तालिमहरु संञ्चालन गर्छ भन्ने सुन्नमा आउँछ तर कहिले र कहाँ गर्छ भनि स्थानीयहरुले कुनै पनि जानकारी नपाएको सोही ठाउँकी स्थानीय नैनि नेपालीले बताईन् । उनले भनिन्, ‘यो ठाउँका महिलाहरुका लागि स्थानीय सरकारले कुनै पहल गर्न सकेको छैन्, एउटा आमाले आफु सुरक्षित भएको महसुस गरेर एउटा सन्तानलाई जन्मदिने स्थिति छैन् ।’
तपाई, हाम्रा, जनताका प्रिय जनप्रतिनिधीहरुले गरेको विकासले गर्दा होला सायद एटाउ सन्तानलाई पेटमा हुर्काउँदै गरेकी एक आमाले आफु मृत्युको लडाई लडिरहेको महसुस गर्नुपर्छ । हिजो चुनावको वेला विभिन्न नारा लगाएर भोटको अपिल गर्ने यी नै हाम्रा जनप्रतिनीधिहरु हुन् । आज सरकारमा पुग्दा तपाई हामी जस्ता थुप्रै जनताको भविष्यमा माथी खेलबाड गरिरहेका छन् ।
















































। ९ चैत्र २०७८, बुधबार