छेडागाड : निर्वाचनमा बालबालिका र विद्यालय प्रयोग नगर्ने राजनीतिक दलको प्रतिवद्धता


जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकामा आगामी स्थानीय तहको चुनावमा बालबालिका र विद्यालयलाई प्रयोग नगर्ने राजनीतिक दलहरुले प्रतिवद्धता जनाएका छन् ।

निर्वाचनमा बालबालिका र विद्यालयलाई चुनावी प्रचारप्रसारमा प्रयोग नगर्न राजनीतिक दलहरुको प्रतिबद्धता लिन र दलहरु चुनावी घोषणा पत्रमा बालबालिकाको सवालहरुलाई समेट्ने बिषयमा छलफल गर्नका लागि छेडागाड नगरपालिकामा कार्यक्रमको आयोजना गरिएको नागरिक समाज संजालका सचिव नरेश थापाले जानकारी दिए ।

पाँचतारा युवा संरक्षक मंञ्चको सहयोगमा नागरिक समाज संजालले छलफल कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमको अध्यक्षता संजालका संयोजक मानबहादुर शाहीले गरेका थिए भने नागरिक समाज संजालकी उप संयोजक गीता शाहीले स्वागत मन्तव्य राखेकी थिइन् ।

साथै कार्यक्रमको उद्देश्यको बारेमा पाँच तारा युवा संरक्षक मंचका परियोजना संयोजक बाबुराम बि.के. ले प्रष्ट पारेका थिए । कार्यक्रममा सेभ द चिल्ड्रेनका परियोजना संयोजक चेतराज उपाध्यायले बालबालिका शान्ति क्षेत्र र बिद्यालय शान्ति क्षेत्र अवधारणाका बारेमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका नगर कमिटी सचिव दिपक रावत, नेकपा एकीकृत समाजवादीका वडा कमिटी अध्यक्ष भद्र बहादुर वर, नेपाली काङ्ग्रेस छेडागाड संगठन तथा प्रचार प्रसार बिभाग प्रमुख अमर बहादुर खत्री, वडा न.८ का वडाध्यक्ष लाल बहादुर खत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा कमिटी अध्यक्ष हरी ब.शाही लगायत इप्रका. बडावनका प्र.न.नी.देव ब.गुरुङले आगामी चुनावमा बालबालिका प्रयोग नगर्ने र बिद्यालय क्षेत्रमा कुनै पनि राजनीतिक दलका प्रचारप्रसारका कार्यक्रमहरु नगर्ने र चुनावी घोषणा पत्रमा बालबालिका सवालहरुलाई उचित रुपमा सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

साथै सहभागी सबैले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा नागरिक समाज संजालका संयोजक, उपसंयोजक, सचिव लगायत अन्य सदस्यहरु, नगर स्तरीय विभिन्न राजनीतिक दलका नेताहरु, सेभ द चिल्ड्रेनका परियोजना संयोजक, पाँच तारा युवा संरक्षक मंचका कार्यक्रम निर्देशक सहितअन्य कर्मचारीहरु, प्रहरी प्रतिनिधि आदिको सहभागीता भएको थियो । कार्यक्रमको संचालन छेडागाड नगरपालिका नागरिक समाज संजालका सचिव नरेश थापाले गरेका थिए ।

तपाईको प्रतिक्रिया