माओवादी केन्द्रको महासचिवमा कसले मार्ला बाजी ?


नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक शुक्रबार बस्दैछ । बैठक बस्ने समय जतिजति घर्किँदैछ, त्यतित्यति सो पार्टीमा पद प्राप्तिका लागि दौडधुप पनि बढ्दै छ । केन्द्रीय कमिटी विस्तारसँगै पदाधिकारी चयन र कार्यविभाजन नै बैठकको मुख्य एजेण्डा छ ।

पदाधिकारी चयन तथा कार्यविभाजनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सो पार्टीका नेता नारायणकाजी श्रेष्ठबीच भागबण्डाका लागि बार्गेनिङ चलिरहेको छ ।

एमसीसी पारितसँगै नेता श्रेष्ठले असन्तुष्टि जनाउँदै आएका छन् । यसबीचमा अध्यक्ष प्रचण्डले श्रेष्ठसँग दुईपटक छलफल गरिसकेका छन् । अध्यक्ष प्रचण्ड र श्रेष्ठबीच फागुन १७ गते र आज बिहान गरी दुई पटक छलफल भएको हो । श्रेष्ठले एमसीसीमा असन्तुष्टि जनाए पनि उनको चाहना पार्टीमा हुन गइरहेको पदाधिकारी चयन र कार्यविभाजनमा बार्गेनिङ नै हो भन्ने टिप्पणी भइरहेको छ । पदाधिकारीमध्ये पनि महासचिवका लागि ठुलो हानथाप भइरहेको छ ।

महासचिवको दौडमा नारायणकाजी पक्षका कोही छैनन् । अध्यक्ष प्रचण्डसँगको भेटमा श्रेष्ठले पार्टीमा महासचिव कसलाई बनाउने भन्ने आफ्नो सरोकारको विषय होइन, तर अन्य पद सम्मानजनक पाउनुपर्ने माग गरेको बताइएको छ । उनले एमसीसीको विषयमा पनि असन्तुष्टि जनाउँदै पार्टीको बैठकमा यसबारे व्यापक छलफल हुनुपर्ने भनेका छन् ।
श्रेष्ठ पक्षका एक नेताले भने, ‘नारायणकाजीका लागि महासचिव पद इस्यु होइन, अन्य पद सम्मानजनक रुपमा पाउनुपर्छ भन्ने हो, त्यो कुराको जानकारी अध्यक्ष प्रचण्डलाई पनि गराई सक्नुभएको छ ।’

श्रेष्ठले कुन कुन पदमा दावी गरेका छन्, त्यो कुरा बाहिर आएको छैन तर उनको पक्ष महासचिवको दौडमा नरहेको स्पष्ट छ । तर अहिले पदाधिकारी र कार्यविभाजन भन्दा एमसीसीको मुद्दा विशेष एजेण्डा बन्ने सम्भावना रहेको ती नेताले बताए ।

माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान छ । तर अहिले अन्य पदभन्दा पनि सो पार्टीमा महासचिव को बन्ने भन्नेमै सबैको चासो देखिन्छ ।

महासचिवका लागि जनार्दन शर्मा, वर्षमान पुन, देव गुरुङ, पम्फा भुसाल, कृष्णबहादुर महरा, शक्तिबहादुर बस्नेत लगायतले चासो देखाइरहेका छन् । तर तीमध्ये जनार्दन शर्मा र वर्षमान पुनबीच कडा प्रतिस्पर्धा देखिएको छ । प्रचण्ड पक्षका एक नेताले भने, ‘कृष्णबहादुर महरालाई उपाध्यक्ष दिएर प्रचण्डले मिलाउन सक्नु हुन्छ । पम्फा भुसाल र देव गुरुङलाई सचिव अथवा उमहासचिवमा मिलाउन सक्नु हुन्छ तर जनार्दन शर्मा र वर्षमान पुनलाई मिलाउन उहाँलाई गाह्रो छ ।’

नारायणकाजी श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा बस्ने चाहना राखेको बुझिएको छ । हुन त वरिष्ठ उपाध्यक्ष पद कृष्णबहादुर महरालाई पनि चाहिएको छ तर प्रचण्डलाई लागि महराको व्यवस्थापन गर्न कुनै समस्या नरहेको ती नेताको बुझाइ छ । जनार्दन शर्मा र वर्षमान पुनले सहमतिमै महासचिव पाउनु पर्ने दावी गर्दै आएका छन् । यदि सहमतिमा नभए प्रतिस्पर्धा गर्न पनि तयार रहेको उनीहरु दुवैले बताउँदै आएका छन् ।

गत पुसमा माओवादी केन्द्रको महाधिवेशन चलिरहँदा वर्षमान पुन उपचारका लागि चीनमा थिए । यहाँ केन्द्रीय समिति निर्माणसँगै पदाधिकारी चयनको चर्चा सुरु भएपछि उनले चिनियाँ उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेको तस्बिर सार्वजनिक गरेका थिए । राजनीतिक विश्लेषकहरुका अनुसार नेता पुनले आफू उपचारमा रहेको बेला पनि महाधिवेशनमा आफ्नो उपस्थिति देखाउन त्यो फोटो सार्वजनिक गरेका थिए । पार्टीमा आफ्नो प्रभाव देखाउन त्यो बेलाको तस्बिर पर्याप्त थियो । त्यही भएर उनी महाधिवेशनमा उपस्थित नहुँदा पनि महासचिवमा उनको चर्चा थियो । उनी चीनबाट उपचार गराएर नेपाल आएपछि उनको चर्चा बढ्न थाल्यो ।

यता, संसदबाट एमसीसी पारित भएपछि पार्टीमा जनार्दन शर्माको ग्राफ बढेको र वर्षमान पुनको ग्राफ घटेको विश्लेषण भइरहेको छ । एमसीसीका कारण प्रचण्ड अप्ठ्यारोमा परेको बेला जनार्दन शर्माले उनलाई खुलेर साथ दिएका थिए तर वर्षमान पुन त्यति खुलेका थिएनन् । पार्टीका नेताहरुका अनुसार वर्षमान पुनले खुलेर एमसीसीको विरोध नगरे पनि प्रचण्डलाई खुलेर साथ पनि दिएका थिएनन् । यस अर्थ पनि महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनमध्ये एक जनालाई रोज्ने अवस्था प्रचण्डलाई आयो भने उनले जनार्दनलाई नै रोज्ने एकथरीको भनाइ छ । तर प्रचण्डलाई वर्षमान पुन पनि चाहिन्छ ।

महासचिवका लागि यी दुईको बीचमा कडा प्रतिस्पर्धा देखिएको कारण अध्यक्ष प्रचण्ड पनि दबाबमा परेका छन् । सो दबाबका कारण उनी अहिले पदाधिकारी चयन नगर्ने पक्षमा छन् । प्रचण्ड निकट एक जना केन्द्रीय सदस्यले भने, ‘महासचिवका लागि जुनको खालको दबाब प्रचण्डमाथि परेको छ, त्यसले गर्दा उहाँ पदाधिकारी नै चयन नगर्ने पक्षमा देखिनुभएको छ ।’

अध्यक्ष प्रचण्ड भोलिदेखि बस्ने केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय समिति विस्तार गर्दै पोलिटब्युरो तथा स्थायी कमिटी बनाउने तयारीमा लागेका छन् । त्यसका लागि उनले आफ्ना निकट नेताहरुसँग परामर्श पनि थालिसकेका छन् । यद्यपि, नारायणकाजी श्रेष्ठ पक्षका नेताहरुले केन्द्रीय कमिटीको बैठकबाट पदाधिकारी चयनका लागि विशेष जोड दिएका छन् । तर प्रचण्ड त्यसलाई टार्ने प्रयासमा छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबोल गजुरेलले पनि केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी चयन, कार्यविभाजन भन्दा एमसीसीको एजेण्डा मुख्य हुने वातावरण बन्दै गएको बताए । उनले भने, ‘अवस्था पहिलाको जस्तो छैन, एमसीसीलाई लिएर पार्टीमा फरक मत आइरहेका छन्, त्यसैले पहिला त्यसको बारेमा टुङ्गो लाग्छ, अनिमात्र अरु विषयमा प्रवेश हुन्छ ।’
महासचिव कार्यकारी पद भएका कारण त्यसमा सबैको चासो हुनु स्वाभाविक हो तर को महासचिव बन्ने भन्ने कुरा अहिले नै भन्न सक्ने अवस्था नरहेको उनले बताए । भोलिको बैठकमै पदाधिकारी चयनको विषयमा छलफल नहुनेजस्तो देखिएको उनको भनाइ छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य लीलामणि पोखरेलले पार्टीका लागि महासचिव पद महत्वपूर्ण भएकाले सबैको चासो त्यसमा जानु स्वाभाविक भएको बताए । तर महासचिव को बन्छन् भन्दा पनि सहमतिमै बनाउनु पर्ने उनको भनाइ छ ।

उनले भने, ‘संगठनका लागि महासचिव पद महत्वपूर्ण पद हो, त्यसैले मान्छे चयन गर्दा सबै कुरामा ख्याल गर्नुपर्छ तर म फलानै व्यक्ति हुनुपर्छ भन्ने पक्षमा छैन, जो हुन्छन् सहमतिमा हुनुपर्छ ।’

तपाईको प्रतिक्रिया