भोलि सार्वजनिक विदा


सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रीपरिषदले गरेको निर्णय अनुसार गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै भोलि सार्वजनिक विदा दिने बताएको हो । भोलि ग्याल्पो ल्होसार भएको उपलक्षमा देशभरी विदा दिने निर्णय भएको गृहले जनाएको छ ।

यस्तै सरकारले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका सम्बोधन हुन बाँकी रहेका मागहरूका बारेमा बेलायत सरकारसँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन गरेको छ ।

मन्त्रीपरिषदको बैठकले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो । बेलायती सेनामा सेवा गरेका भूतपूर्व गोर्खा सैनिकहरूले आफ्नो सेवा–सुविधालाई लिएर लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन् ।

यस्तै बैठकले नेपाल सरकार र इजरायल सरकारबीच संस्कृति, शिक्षा, विज्ञान र खेलकुदको क्षेत्रमा सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समितिको सदस्यमा दुर्गाप्रसाद भट्टराई, प्रा.डा. कुसुम शाक्य, प्रज्ञा घिमिरे, बालानन्द शर्मा, शेखर गोल्छा र प्रेमप्रसाद लिम्बुलाई मनोनयन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया