विश्वकप छनोट : बलिङ चम्किंदा नेपालको विजयी सुरुवात


काठमाडौं । ओमानमा जारी टी–२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत नेपालले पहिलो खेलमा विजय हासिल गरेको छ । नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गरेको हो ।

नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयो । ओमानका लागि मध्यक्रमका नासिम खुसीले २४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । जतिन्दर सिंह र अरिम कलिमले समान ९–९, खवार अलीले ७ रन मात्र बनाउन सके ।
सुरुवातदेखि नै उत्कृष्ट बलिङ प्रदर्शन गरेको नेपालका लागि कमल सिंह ऐरीले ३ विकेट, कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २÷२ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १÷१ विकेट लिए ।

यसअघि ओमानको अल अमिरात रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए ।

आसिफ शेख पहिलो ओभरमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रनको स्कोरमा आउट भए । दुवैलाई ओमानका तीव्र बलर विलाल खानले क्याच आउट गराएका हुन् ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १५ रन, दीपेन्द्रसिंह ऐरीले ११, लोकेश बम १६, विवेक यादवले ७ रन जोडे । कप्तान सन्दीप लामिछाने १६ रनमा अविजित रहे । ओमानका खवार अलीले ३ र विलाल खानले २ विकेट लिए । साथै फयाज बुट र जिसन मुक्सुदले १÷१ विकेट लिए ।
नेपालले समूहको आफ्नो दोस्रो खेल भोलि (शनिबार) फिलिपिन्ससँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया