जाजरकोट महफिल विशेष : ‘माया दिएपछि माया पाइन्छ’


झिना झप्टी गजल, कविता सुन्ने कार्यक्रम यसरी जाजरकोटमा नभएका होइनन् तर जाजरकोट महफिल भनेर यति ठुलो बृहत साहित्यिक कार्यक्रम जाजरकोटमा पहिलो पटक नै हो भएको । भावुक रिदम बाबू र झलक वली जस्तै जाजरकोटमा गजल लेख्ने धेरै गजलकारहरु छन् तर गजल लेखेर वाचन गर्न जति सजिलो छ मञ्च बनाएर अरुलाई वाचन गर्ने अवसर दिन त्यति नै अप्ठेरो बिषय हो । ‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी ।’

केही दिन अघि ठाँटी थाप्लेमा दश रुपैयाँ पर्ने चिया एक्कासी बीस रुपैयाँ भएको देख्दा चिया कपको महंगाईले महफिलको खर्च व्यवस्थापन तिर ध्यान केन्द्रीत गर्यो । पकेट गरम छैन भने महफिल सम्पन्न गर्न , यो जमानामा गाह्रो छ । दुईचार महिना अघि कै कुरा हो । जाजरकोटमा भेट हुदाँ रिदमले भनेको थियोे, ‘दाजु जाजरकोटमा महफिल गर्छु ।’

उस्का कुरा सुन्दा म झस्केको थिए, एक्लैले महफिल कसरी सम्पन्न गर्ला भन्ने कुराको लख काट्दै । उस्ले भन्यो, ‘दाजु आर्थिक म जुटाई हाल्छु हजुरले मलाई सहयोग गर्नुपर्छ ।’ मैले उस्को कुरामा विश्वासै नगरी भनि हाले भाइ म बाट हुने सहयोग भैहाल्छ नी । यति भन्दै कुराको बिट मारे । फेरि भन्न मजबुर भए भाई महफिल गर्न गाह्रो छ पैसाको जुवाड कसरी गर्छौं ? यही प्रश्न उस्लाई गरेको थिए ।

उस्ले भन्यो, ‘नगरपालिका मेयर सावसंग हल्का कुरा भएको छ ।’ मैले भने नेताको कुरामा विश्वास गरेर हुदैन भाइ । प्रपोजल हाल्नु मिटिङ्गमा पास भयो भने बैद्यता हुन्छ । मैले भन्नुको मक्सद एउटै मात्र थियोे महफिल गरेर भोलि रिदमले घर जग्गा र आमाको नाक कानका गरहना सुन बेचेर ऋण तिर्न नपरोस् । हाम्रो देशका नेता र जनप्रतिनिधीहरुको बोलीको ठेगान हुदैन उनीहरु आफ्नो स्वार्थको लागि जे पनि गर्न सक्छन् भन्ने कुरा पंतिकार मात्रै होइन सिङ्गो समाज चनाखो छ ।

यही सोचेर मैले उस्लाई चनाखो बनाउन खोजेको थिए । तर केटो स्विटे भए पनि हिक्मतिलो रहेछ क्वीटलको भारी भरकम जिउ भएर मात्रै हुदो रहेन्छ । सबै भन्दा ठूलो कुरा योजना , सहास र बिचार रहेछ । उस्ले प्रमाणित गरेर देखायो ।

एक दिन विहानको खाना खादै थिए मोबाइलमा तारन्तार रिङ्ग बजि रह्यो फोन रिसिभ गरे । फोन रिदमकै थियोे । दाजु जाजरकोटमा महफिल हुने भयो श्रष्टाहरुका नाम दिनु पर्यो क–कस्लाई राख्दा ठिक होला ? उस्को प्रश्न सोधाईले फेरि झस्के उस्को कुरामा मलाई विश्वास नै लागेन फेरि भने भाइ दशैं नजिकै आउँदैछ दशैपछि कार्यक्रम गर्दा कसो होला ?

उस्को जाजरकोटमा गजल महफिल गर्ने जुनुनले मेरो कुरालाई सोझै नकारी दियो । चार जनाको नाम दिनु दाजु उस्ले यही भन्यो । उस्को योजनालाई वालहटको रुपमा बुझेता पनि खुशीले छाति फुल्यो ।

लाग्यो दुर्गम जिल्लामा पहिलो पटक महफिल हुदैछ । झलक संग सल्लाह गरेर श्रष्टाका नाम दिने वचन सहित फोन राखे । हतारको निर्णयले भाईहरुलाई ऋणको भारी बोकाउने मेरो उदेश्य थिएन । कुरा झलक संग पनि बुझ्नु थियोे । झलक उमेरले सानै भएपनि उस्को परिपक्ता साठी बर्षे बृद्धको भन्दा कम छैन । म उस्लाई हरेक दृष्टिकोणले परिपक्क रुपले बुझ्द छु । झलक संगको कुराकानी पश्चात् महफिल हुने कुरामा पुर्ण विश्वस्त भए ।

नाम पनि सेलेक्ट गर्यौं माया निर्भिक कालिकोट , महेश के भट्टराई दैलेख, हिमाल सरोवर ठकुरी सुर्खेत र हेमन्त हेमलक जाजरकोट , केही दिनको अन्तरालपछि सामाजिक सञ्जालबाट व्यानर आउट भयो । प्रचारप्रसारले व्यापक्ता पायो । काठमाडौं बाट मित्र बाबू त्रिपाठी र विपिन सलामी लाई खबर गर्ने जिम्मा पनि मेरै भागमा पारे । बाबू र विपिन जी संगको संबाद पछि उहाँहरु पनि जाजरकोट आउने कुराको छिनोफानो भयो ।

जाजरकोट महफिल सबैको लागि नयाँ अनुभव थियो । कार्यक्रममा तिथी मिति दिन दुई गुना रात चौगुनाको रुपले नजिक दै थिए । दशै मुखैमा भएकोले बजारका गल्लीहरुमा मानिसकै भिडभाड बाटोमा गाडीकै भिडभाड थियोे । काठमाडौं बाट नेपालगन्ज सम्मको जहाज भाडा पनि आकाश झै आकासिएर दुनिको चौगुनी भएको थियोे ।

त्रिभुवन विमानस्थल बाटै विहान पख मित्र बाबू त्रिपाठी र बिपिन जीले हामी जहाज चढ्न थाल्यौं गुरुदेव भने पछि मन हररर भयो खुशीको पालुवा पलायो । हामी जाजरकोट जानको लागि विहानै देखिबाट तम तयार थियौं । यो बर्ष काग तिहार र कुकुर तिहार एकै दिन परेकोले एकदिन घटेको थियो तिहारको ।

महेश के भट्टराई , पहल असिम, कृष्ण विरही, मनोज दाहाल मनु , हिमाल सरोबर ठकुरी , माया निर्भिक, हेमन्त हेमलक , हरिश जोशी ,रुपेश अन्जान, दिपक दुर्लभको जाजरकोट जाने सायत बिहानै देखिको थियोे । यसो भनौ विबाह गरेर पोइल घर आएकी चेली माइती घर जानलाई जसरी हतार गरि रहेकी हुन्छे ।

साथिहरु कोही बसपार्कमा छटपटाई रहेका थिए कोही अफिस मै छटपटाई रहेका थिए म भने बाइकमा ओहोर दोहोर गरेर यरिचोक ,मंगलगढी ,बसपार्क घर गरिरहेको थिए । सबैको फोनको घण्टीले दिमाग हयाङ्ग भएको थियोे भने , झोला भिरेर रोडमा आउने कसैको छाँटकाट देखिएन । समयले डाँडो नै काट्न लागेपछि रिसको पारो थामि सक्नु भएन, रिसाउनै मन लाग्यो रिसाए । अबको दश मिनट भित्र बुलबुले चौक जम्मा हुने उर्दी गरे त्यसै गरि सबै साथिहरु जम्मा भए र लाग्यौ जाजरकोट तिर ।

प्रस्थान गर्दा दिनको तीन बजि सकेको थियोे । सबै रमाउदै कोही बसमा कोही बाइकमा हुईकियौं । हिउँदका दिन छोटा हुने नै भए हाम्रा लागि लामा दिन भईदिने कुरा पनि भएन जति स्पिड बढाएर पनि रात जामुने बजार पुग्दा झमक्कै भई सकेको थियोे । बाईककै गति बढाएर हिडेको भएत आधा एक घण्टा मेकप गरिन्थ्यो र समय मै पुगिन्थ्यो पनि होला । साथिहरु पेटको गति बढाएर चिसो भगाउने ध्याउन्नमा लाग्दा रातले गति बढाएको थाहानै पाएनन् ।

जसो तसो १० बजे हामी जाजरकोट खलंगा बजारमा पुग्यौं साथिहरु लिनलाई शान्ति चौतारा बसपार्क नै आउनु भएको रहेछ । बाबू जी , बिपिन जी र पुर्व कि सायर बैनि अस्मिता भट्टराई पनि भर्खरै पुग्नु भएको रहेछ । थकाली होटल जाजरकोटमा भएका होटलहरुको तुलनामा केही सुविधा सम्पन्न होटल हो । हामी सबै साथिहरुको खान बस्नको बन्दो बस्त यहि रहेछ । हामी सबै गर्याम गुरुम्म होटेलको दैलोमै पुगेम् ।

May be an image of one or more people, people standing and outdoors

तस्विर : गजलकार वावु त्रिपाठी, धिरेन अनुपम र भावुक रिदम बावु

अतिथि सत्कारको लागि जाजरकोटका धुरन्धर गजलकार भन्छु भाई झलक वली, पेशाले सञ्चारकर्मी साहित्य प्रति गहिरो मोह राख्ने भाइ कालीबहादुर नेपाली , जाजरकोटकी नारी हस्ताक्षर द्वय बहिनी दुर्गा भण्डारी , माया घर्ती, महेन्द्र समिरण र जाजरकोटी साहित्य आवाजका अध्यक्ष भावुक रिदम बाबूले खादा अविर लगाएर सबैलाई स्वागत गर्नु भयो । झिलिमिलि बत्ती र दशैको रौनक्ता मिसिएको समयको बखान गरेर साध्य छैन ।

सबै साहित्यकार हरुलाई पालै पालो अबिर खादा लगाएर होटेलको गेटबाट भित्र प्रवेश गराई रहदा लाग्दथ्यो जाजरकोटी साहित्य आवाजका साथिहरु पनि आज नयाँ दुलहीलाई घर प्रवेश गराई रहेका छन् । अबेर निकै भईसकेको थियोे । सोमरसको चुस्कीमा केही गफहरु भए । आआफ्नो गफको दुनियाँमा सबै रमाए । देशका धुरन्धर सायरहरुको जमघटले नयाँ भाइ बहिनीहरुको चेहरामा उत्सुक्ता भरिएको थियो ।

जड्याहरुको नजरमा सोमरस जाँडहोला , साहित्यकारको नजरमा त्यही जाँड सोमरस होला त्यही जाँड मधुरस होला । जे जे नामले नामाकरण गरे पनि आखिर नसा नै हो । साहित्यकारहरु नसामा लठ्ठिए, भनी कसैको बिराएनन् , स्मरण शक्ति गुमाएनन् ,झन सचेत भए भावको तरंगमा तैरि भावना बगेर सुन्दर शेरहरु भन्न थाले । महफिल शुरु भयो नयाँ कुरा आज वाचक श्रष्टालाई वाचन गर्ने समय दिइएन् । आज अरुकै गजल सुन्ने नियम राखियो ।

सबैले पालैपालो रचना सुनाए वाह, वाहले खलंगा बजार नै थर्कयो । जुन मालिकाको थाप्लो माथि बाट पश्चिम तिर तल झर्दै थियोे । रातको लगभग दुई ढाई बजिसकेको थियोे होला । सबै बिदाबारी भएर छुट्टिने सहमति अनुसार सबै आआफ्नो विस्तारामा गुल्टिन गयौ । कोही खाटमा कोही गोडेनमा कोही भुईमा मस्तले निदायौं । विहान उठ्दा झ्यालबाट सुर्यका किरणहरु कोठा भित्र छरपट्ट छरिएका थिए ।

सदाझै बगि रहने भेरी उदासिन मुद्रामा दख्खिन् आफ्नै गतिमा बगि रहेको थियो भने पारी रुकुम चौरजहारीको फाँटमा हवाईजहाजको इन्तजारमा एयरपोर्ट सेतो सिउँदो फिजाएर विदुवा स्वास्नी मान्छे झै पतिदेवको सम्झनामा आँसु बगाई रहेकी छे जस्तै लाग्दथ्यो । कुनै बेला नेपालगन्ज चौरजहारी नेपाल बायुसेवा निगमका जहाजहरु नआएका दिन हुदैन थिए होलान् । त्यही एयरपोर्ट हो आज चरिचनमा परिणत भएको छ ।

राज्य द्रुर्त सेवा सन्चालन गरेर जनतालाई सेवा उपलब्ध गराउने कुरामा मौन छ । जाजरकोट,रुकुम पश्चिम र सल्यान केन्द्रीय राजनीतिमा हस्तक्षपकारी भुमिका राख्न सक्ने शक्ति बस्नेत , जनार्दन शर्मा प्रभाकर , राजिव बिक्रम शाह र प्रकाश ज्वाला समेतको गृह जिल्ला हो । चौरजहारी हवाई सेवा सन्चालनमा उहाँहरुको केकस्तो पहल हुन्छ हेर्न बाँकी छ ।

कार्यक्रम जिल्ला समन्वय समितिले सभाहलमा हुने ठेगान गरिएको थियोे । हामी सबै कार्यक्रम स्थल तर्फ लाग्यौं । हलको सिंगारपटार खुब आकर्षक थियोे । कार्यक्रम ११ बजे बाट शुरु हुने भनियता पनि १ः१५ बजे सुरु भयो । कार्यक्रमका प्रमुख अतिथि भेरी नगरपालिकाका मेयर सिपि घर्ती हुनुहुदो रहेछ । त्यसै दिन थाप्लेमा मैत्रीपूर्ण फुटबल खेलको पनि उद्घाटन मेयर सावले नै गर्नु पर्ने भएकोले ढिलो हुन गएको रहेछ ।

May be an image of text

मेयर साव हर्स्याङ्ग फर्स्याङ्ग गर्दै सभाहलमा पस्नु भयो । कार्यक्रमको सेडियुल पुर्वतयारी नै थियोे । कार्यक्रमको सञ्चालन कालीबहादुर नेपालीले गर्नु भएको थियो भने सभापति संस्थाका अध्यक्ष भावुक रिदम बाबु हुनुहुन्थ्यो । पानसमा बत्ती बालेर मेयर ज्युले कार्यक्रम उद्घाटन गर्नु भयो । झलक वलीको सटिक शुभकामना मन्तव्य पश्चात महफिल सन्चालन गर्ने जिम्मा काली भाइलेले बाबू त्रिपाठी ज्युको हिल्ला लगाउनु भयो ।

अब महफिलको मञ्च तताउने जिम्मा महेश के भट्टराई, माया निर्भिम, हेमन्त हेमलक र हिमाल सरोवर ठकुरीको थियोे सायर हरुले मञ्च तताउनु तताए । तर अनौठो घटना घट्यो शेर जस्तो देखिने हिमाल सरोवर भने आज दोस्रो राउण्ड सम्म निकै नर्भस देखियो । केटाले पछि लास्ट राउण्डमा भने माहोल चाहिँ खाएकै हो ।

बाबू जीको कार्यक्रम सन्चालन गर्ने सीप ताजुबको छ स्विटे शरीर भए पनि आवाज भने बोल्ड छ यसो भनौ मै हु भन्नेले पनि गम खानु पर्छ । पहिलो पटक उहाँको महफिल सहजिकरण गर्ने कला देखेर म पनि छक्क दङ्ग परेको थिए । नभन्दै उहाँको प्रस्तुतिकरण शैली देखेर कार्यक्रमका प्रमुख अतिथि मेयर साव सिपि घर्ती प्रभावित हुनु भएको रहेछ ।

पछि भाषण गर्दा अन्तर हृदय बाटै बोल्नु भएको थियोे । वाचक श्रष्ठाहरुका सेरहरुले मेयर सापको मन लुट्नु लुटेछ । भोक पचाएर भए पनि मेर सावले गजल सुन्नु भयो साहित्यिक कार्यक्रममा रमाउने अवसर नै पहिलो पटकै जुरेको रहेछ । मन नलुटेको भएत उहाँ कहाँ भोकभोकै त्यत्रो समय बस्न सक्नु हुन्थ्यो र ? मेयर सावका गहकिला कुरा सुनेर हामी पनि खुशी भयौं ।

जाजरकोटी साहित्यको लागि अभिभावक बन्ने संकल्प गरेपछि हामी झन दिलबाट खुशी भयौं । लेख्नेहरुले लेख्ने मात्रै हो लेख्नेहरुलाई बचाउने र फुलाउने जिम्मा साहित्य अनुरागिहरुको हो । भानुभक्त आचार्यले लेखेको रामायणलाई मोतिराम भट्टले छापेर बजारमा नल्याएको भएत सायद भानुभक्तलाई चिन्ने अवसर हामीलाई मिल्दैन थियोकी ? मेयर साव हजुर आफुले संकल्प गरेको बचनलाई पूरा गर्नुहोला तपाईंलाई युगले चिन्ने छ यति भने ।

पहिलोपटक जाजरकोटमा महफिल भयो असाध्यै सुन्दर तरिकाले सम्पन्न भयो । रिदमलाई चुनौति नआएका भने होइनन् उ चुनौतिसंग डराएन सामाना गर्यो र चुनौतीलाई जित्यो । भोलि पल्ट हामी जाजरकोटीले गरेको माया बोकेर भेरीको तिरैतिर रमाउदै फर्कियौं । माया दिए पछि माया लिन पाइन्छ भनेको सही रहेछ म पौष ८ गते सुर्खेतबाट काठमाडौं गएको थिए ।

म पुगेको खबर सुनेपछि मित्र द्वय बाबु त्रिपाठी र विपिन ज्यु भेट्न त्रिपुरेश्वर आउनु भएको थियोे हामी चिया खोज्दै जाँदा तुङ्बा पिउने ठाउँ पुगेछम । तुङ्बा को स्वाद कस्तो हुन्छ मलाई थाह थिएन तुङ्बाकै स्वाद चाख्न मन लाग्यो । तुङ्बा मगायौ ,तातोपानी थप्नु भयो बाबू जीले फलामको नली घुसार्नु भयो ठेकीमा बिपिन जीले । स्वाद गुलियो क्या मजाको ।

पुरानो गितको सम्झना आयो ‘साइलिको भट्टीमा तुङ्बा तानेर’ गित लेख्ने चाहिँ हो झै लाग्यो । तातोपानीले जिउ पनि तात्यो कान पनि ताते कुरा पनि ताते । साथिहरु भन्दै थिए महफिल त धेरै भए तर जाजरकोट को जस्तो कही लागेन । मैले मौन समर्थनमा टाउको मात्रै हल्लाए । अर्को दिन अस्मिता भट्टराईले फोन गरिन् म र विपिन सलामीको ग्र्वाेकोमा भेटभयो ।

अस्मिताले भनकी थिईन्, दादा जाजरकोटको महफिल कस्तो राम्रो भयो । कति धेरै माया गरेका हुन जाजरकोटका साथिहरुले । मैले पनि थपे राम्रै भयो है । रिदम र उस्का टिम मेम्बरहरुले राम्रो गरेकै प्रतिफल हो भन्छु । आज भट्टी ,सडक र चिया पसलमा देशका सायरहरुको मुखार विन्दुबाट जाजरकोट महफिलको कुरा चल्नु चानचुने बात होइन । माया गरेपछि माया पाइन्छ भन्ने गतिलो उदाहरण जाजरकोटीहरुले देखाए । म यही कुरा मनमा खेलाउदै सुर्खेत फर्किए र उत्सुक्ता अपुरो संस्मरण कथालाई पुर्ण गर्न ।

लेखक अनुपम मध्यपश्चिम गजल मञ्ज सुर्खेतका अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया