कविता
ए निष्ठुरी हिमाल
सदा समय
हिउँले ढाकछोप गरेको
त्यो अग्लो भु –भाग
वास्तविक नाम हो रे “हिमाल “
ए हिमाल
म रोईरहदा पनि
तिमी खितखित हाँस्दै हुन्छौ
म पिडा र छट्पटीले ढल्दै गर्दा
तिमी डगमगाउँदैनौ अटल रहन्छौ
अन्तत मेरो सास उड्ने तरखरमा हुदा पनि
तिमी निरन्तर हाँसीहाँसी बस्छौ ।
ए ! निष्ठुरी हिमाल
तिमीमा अलिकति पनि दया भएन
म प्रति चासो र माया भएन
केवल टुलुटुलु हेरिरहयौ
केवल हेरिरहने तिमी
हत्या काण्ड हुदै
रक्त क्रान्ति हेर्दाहेर्दै
मधेस आन्दोलन देख्न भ्यायौ
नारी माथि हुने अत्याचार
बलात्कार मज्जाले हेर्यौ
चित्कार र अत्यास लाग्दा घटना
सबैको साक्षी तिमी
हो,
किन चुपचाप तिमी
यदि तिमी बोलेनौ भने
सबको पोल खोलेनौ भने
यसरी नै अन्याय, अत्याचारमा वित्नेछ समय
यसरी अरूको पिडा हेर्दै कति खुशी छौ
तिमीले सारा पोल खोलिदिएमा मात्र
भोलि नै बन्छ “सुखि नेपाली सम्बृद्ध नेपाल”
मेरो सुन्दर कुशे
नेपालको सुन्दर टुक्रा
जाजरकोटको अंश
एकान्तमा लुकेको स्वर्ग
यहि हो मेरो सुन्दर कुशे
कुशेको शिरबाट डाँफेको बुई चढी
लाताचुली पुगिन्छ
लाताचुलीमा पखेटा हाली
फुलबारी गईन्छ
हानीसल्ला रातापाटन हुदै
ब्याउलीढुङ्गा पुगिन्छ
आहा ! सुन्दर मेरो कुशे
प्रकृतिमा रमाईन्छ
हाब्रे कस्तुरी काखमा खेल्छन्
डाँफे मुनाल शिरमा नाच्छन्
मेला महोत्सव वन्यजन्तुको हुन्छ
हरियाली फाँटहरुमा लुकामारी खेल्छन्
नपत्याए आउनु घुम्न मेरो सुन्दर कुशे
तिनछहरी तामाछहरी संगित सुर भर्छन्
वनपाखा रातै हुन्छ
लालीगुराँ सगैं फुल्छ
मुस्कुराउँछ हिउँदभर
हिउँसंग खेल्छ
वाहा ! सुन्दर मेरो कुशे
मलाई गर्व लाग्छ
कुशेकै शिरमा बसि अपि सैपाल हेरौंला
अन्नपूर्ण कान्जिरोवासंग त्यतै प्रित गासुँला
मेरो सुन्दर कुशे प्रकृतिको धनी
कुशेकै काखमा जन्मे मै हँ भाग्यमानी
प्रेम दृष्टि
शक्तिशाली छ प्रेम
जितेको छ दुनियाँ
हो सबैमा छ प्रेम दृष्टि
प्रेमभित्र मान्छेले आफैंलाई बिर्सन्छ
समर्पित हुन्छ प्रेममा
संसार हारेको छ प्रेममा जितेको प्रेमले
सर्वव्यापक छ प्रेमदृष्टी
यसैमा छ सर्व सृष्टि
मान्छेलाई मात्र हैन
यहाँ वस्तु सम्पत्तिको प्रेमि छन् कोहि
हर वस्तु र जीवसंग जोडिन्छ प्रेम
त्यसैले सब प्रेम जालमा छन्
कोहि प्रेममुक्त छैन दुनियाँमा
हारेर बाँचेका छन् प्रेममा
बाँच्नुमै मरेका छन् प्रेममा
अस्तित्व रहन्छ अस्तित्व सकिन्छ
त्यसैले त प्रेम सर्वव्यापी छ
अस्तित्व रहुन्जेल कहिल्यै झुक्ने छैनन्
र प्रेमजाल बाट कोही फुत्किएर जाने छैनन्
विशाल सृष्टि ओगटेको
यो प्रेम दृष्टि ।
। ५ माघ २०७८, बुधबार