विश्वभर बढ्यो कोरोना संक्रमण : महामारीको तेस्रो लहरको संकेत

काठमाडौं । विश्वका विभिन्न देशहरूमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै विज्ञहरूले तेस्रो लहरको सङ्केत हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । अमेरिकामा २९ डिसेम्बरयता दैनिक झन्डै ५ हजार नयाँ सङ्क्रमित थपिन थालेका छन् ।

भारतमा डिसेम्बर २८ मा करिब ९ हजार रहेको दैनिक सङ्क्रमित हुनेको संख्या हिजो अर्थात् ३ जनवरीमा ३७ हजार नाघेको छ ।

बेलायतमा पनि हिजो मात्रै १ लाख ५७ हजार भन्दा धेरै सङ्क्रमित थपिएका छन् । त्यहाँ पनि दैनिक सङ्क्रमित हुनेको सङ्ख्या निरन्तर बढ्दै गएको छ । यस्तै, वल्र्डाेमिटरको तथ्याङ्क हेर्ने हो भने पनि पछिल्ला दिनहरूमा विश्वभर कोभिड–१९को सङ्क्रमण बढ्दै गएको छ । डिसेम्बर २६ मा करिब ६ लाख ९० हजार नयाँ थपिने सङ्क्रमित रहेकोमा जनवरी ३ मा नयाँ थपिने सङ्क्रमितको सङ्ख्या साढे १३ लाख भन्दा बढी पुगेको छ ।

खास गरी कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढ्न थालेसँगै महामारीले तेस्रो लहर निम्त्याउन सक्ने चिन्ता विज्ञहरूको छ । पछिल्ला दिनमा बढिरहेको सङ्क्रमणले समेत त्यसैको सङ्केत गरेको देखिन्छ ।

भारतका सबै प्रदेशमा नयाँ थपिइरहेका सङ्क्रमितमध्ये आधा सङ्क्रमित ओमिक्रोन भेरियन्टबाटै सङ्क्रमित भइरहेको हुनसक्ने विज्ञहरूको आङ्कलन छ ।

ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा निकै बढी सङ्क्रामक भएका कारण फेरि स्वास्थ्य क्षेत्रमाथि सङ्कट आउन सक्ने चेतावनी विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले यसअघि नै दिइसकेको छ ।

विश्वभर सङ्क्रमण बढ्दै जाँदा नेपालमा समेत महामारीले तेस्रो लहर निम्त्याउन सक्ने चिन्ता देखिएको छ ।

यसबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै नागरिकहरूलाई खोप लगाउन आग्रह गरिरहेको छ भने, जोखिमपूर्ण समूहका नागरिकहरूलाई खोपको तेस्रो मात्रा लगाउन समेत आग्रह गरिसकेको छ ।

भारतमा सङ्क्रमण बढ्दा नेपालमा समेत प्रत्यक्ष असर पर्ने र सङ्क्रमण बढ्ने विज्ञहरूको भनाइ छ । यसै कारण सबैले सचेत हुन आवश्यक देखिन्छ ।

तपाईको प्रतिक्रिया