श्रीमानले गरे घाँटी थिचेर श्रीमतीको हत्या


झुन्डिएर श्रीमतीको मृत्यु भयो भनेर खबर दिएका श्रीमान दिपक अर्थात दलजित खनालले अाफैले श्रीमतीको हत्या गरेको स्विकारेका छन् । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ९, झुलाका २५ वर्षीय दिपकले प्रहरी सामु आफूले नै घाँटी थिचेर श्रीमतीको हत्या गरेको स्विकार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार २६ वर्षीया कमला खनालको हत्यामा श्रीमान दिपककै हात रहेको पुष्टि भएको अनुसन्धानबाट खुलेको छ । प्रहरीसँगको बयानमा दिपकले दुई जनाबीच वादविवाद बढ्दै जाँदा घाँटी थिचि श्रीमतीको हत्या गरेको बताएका हुन् ।

गत शुक्रबार राति १० बजेतिर कमला झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । आफ्नै सलले कमला झुण्डिएको भनेर दिपकले नै अरुलाई खबर गरेका थिए । घटनाको प्रकृति हेर्दा दिपकले घाँटी थिचेर श्रीमतीको हत्या गरी सलले झुन्ड्याइएको पाइएको छ ।

घटना लगत्तै प्रहरी घटना स्थल पुगेर दिपकलाई नियन्त्रणमा लिएको थियो । घरमा दिपक, कमला र उनिहरुको ४ महिनाको छोरा मात्रै थिए । दिपकमाथी थप अनुसन्धान गर्न प्रहरीले आइतबार जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेद्र शर्माले जानकारी दिएका छन् । प्रहरी निरीक्षक शर्माको नेतृत्व टोली घटना स्थल पुगेको थियो भने घटना अनुसन्धान पनि यही टोलीले गरिरहेको छ ।

तपाईको प्रतिक्रिया