२ लाख ५२ हजार नगद सहित भेरीका प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्ष पक्राउ


जाजरकोट । जिल्लाको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती सहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जुवा खेलिरहेको अवस्थामा आज ( आईतवार) बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

यद्यपी प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाहरूको नाम सार्वजनिक भने गरेको छैन । केही समयमा सबैको विवरण सार्वजनिक गर्ने प्रहरी प्रमुख डिएसपी मधुकुमार थापाले बताए ।
प्रहरीका अनुसार उनीहरू जाजरकोट सदरमुकाम स्थित गैरीखालीबाट नगद २ लाख ५२ हजार रुपैयाँ र मोवाइल बैंकिङ्गबाट रकमान्तर गर्न प्रयोग भएका केहिथान मोबाइल सहित पक्राउ परेका हुन ।

जुवा खालबाट वडा नम्बर ६ का वडाध्यक्ष समेत रहेका नेपाली कांग्रेस भेरी नगरपालिका सभापति शशी बुढा पनि पक्राउ परेका छन् । ‘जुवा खेलिरहेको अवस्थामा १४ जनालाई नियन्त्रणमा लिएका छौं,’ एक प्रहरीले भने, ‘उनीहरूको साथबाट नगद र मोबाइलहरु पनि बरामद भएको छ ।’ उनीहरूले जुवा खेल्दा मोबाइल बैंकिङको प्रयोग गरेकोले अन्य रकम पनि प्रयोग भएको हुनसक्ने प्रहरी अनुमान छ ।

तपाईको प्रतिक्रिया