
हिउँदको समय थियो । बाहिर तुसारो परेर सबै तिर सेताम्य थियो । आमा भान्छामा मकैका रोटी बनाउँदै हुनुहुन्थ्यो । अघिल्लो रात करिव १२ बजे सम्म म, दाई र बहिनी पढिरहेका थियौ । भोली शनिवार छुट्टी ( विदा) हुन्छ भनेर ।
बुवा विहानै गाउँतिर काम विशेषले गईसक्नुभएको रहेछ । हामी विहान ७ बजे सम्म मस्त निन्द्रामा थियौ । आमाले रोटी बनाईसकेपछि हामीलाई उठाउन ( निन्द्रा खुलाउन) जानुभयो । आमाले बहिनीलाई भन्नुभयो, ओही ! ‘कान्छी उठ्न् बाहिर घाम लागिसक्यो, अहिले सम्म सुतिरहेका छन् कस्ता केटाकेटी होलान् ?’
आमाको बोली सुन्ने वित्तिकै दाई, बहिनी र म आँखा छाम्दै जुरुक्क उठ्यौ । बाहिर हेर्दा घाम लागिसकेको रहेछ । झनै आँखा हेर्न समस्या भयो । मैले एकछिन उठ्छु भन्दै फेरी निदाउने प्रयास गरे । दाई उठेर कोठा बाहिर गईसक्नुभएको थियो ।
म र बहिनीलाई अझै निन्द्राले छोडेको थिएन् । फेरी आमाले बहिनीलाई भन्नुभयो, ‘उठन् आज तरकारी केही छैन्, पारीतिर गएर सिस्नो टिपेटर ल्या खाउँला ।’ बहिनीको केटाकेटी स्वभाव गएको थिएन् । उसले आमालाई भनि, ‘कान्छा दाईलाई नभन्ने, मलाई मात्र देख्नुहुन्छ, म जान्न ।’
भन्दै बहिनी आमा संग बोलिरहेकी थिई । यतिवेला मेरो पनि निन्द्रा झसंग खुल्यो । म जुरुक्क उठे । हामी त्यहाँ बाट भान्सा कोठामा लाग्यौ । भान्सा कोठामा आमाले मकैका रोटीहरु धेरै बनाईसक्नुभएको थियो ।
आमाले फेरी बहिनीलाई भन्नुभयो, ‘आज तरकारी केही छैन्, तेरा वा पनि गाउँतिर गएका छन्, अहिले भोक मानेर आउँलान्, जा पालौरो ( सिस्नो) टिपेर आई जा ।’ बाहिर तुसारो परेर निकै चिसो थियो ।
त्यसैमा पनि रुम्टा ( जग्गा) मा तुसारो भरिएको हुन्थ्यो । त्यस्तो वेलामा सिस्नो टिप्न जान सायद हाम्रा लागि हिउँको पहाडमा हाम फाल्नु सरह हुन्थ्यो । फेरी बहिनीले जिद्दी गरेर भनी, ‘मलाई चिसो हुन्छ, म जान सक्दिन, ठूलदाई अथवा कान्छा दाईलाई पठाउनु भनेर उ जर्किई ।’
दाईको काम घरमा गाई भैसी बाहिर बाँध्ने, घाँस ल्याएर हाल्ने, भैसी दुहुनी हुन्थ्यो । म कहिले कसो दाईलाई सहयोग गथ्र्ये । त्यसदिन बहिनीले जिद्दी गरेपछि आमाले मलाई भन्नुभयो, ‘कान्छा तँ जा पारी फुपुको रुम्टामा ( खेतवारी) तिर प्रशस्तै छ टिपेर आईजा वावु, त्यसपछि रोटी खाउँला ।’
बाहिरको चिसो हेर्दा त आमाले भनेको नमान्ने सोचेको थिए । तर पटक पटक आमाले भनिरहँदा हातमा चिप्टा र छाप्री ( डाली) बोकेर आमाले भनेकै ठाउँ फुपुजको खेततिर लागे । जुता लगाएको भएपनि बाली ( गहुँ, जौ) को तुसारोले खुट्टा खाईरहेको थियो ।
फुपुको खेत पुगेपछि अलि घाम पनि पारिलो भईसकेको थियो । विस्तारै तातो हुदै गयो । त्यहाँ फुपाजूले असोजमा भएको सिस्नोको झाङ काटेर फाल्नुभएको रहेछ । त्यहाँ हरियो सिस्नो पलाएको रहेछ ।
सिस्नोका डुसा ( हरियो मुना ) चिप्टाले टिपेर डालीमा हाले । म टिपीरहेको थिए । घर बाट बहिनीले, ‘ओइ कान्छा दाई, सिस्नो कति टिप्नुभयो, वुवा आउने वेला भईसक्यो, छिटोछिटो आउनु ।’ मैले भने, ‘टिप्दैछु अव केही समयपछि आउँछु है ।’
म लगातार सिस्नो टिपीरहेको थिए । फेरी दाईले भन्नुभयो, ‘कान्छा कति भयो, छिटो आई जा, खाना खाएर वन जाउँला ।’ दाईले भनेपछि जानै प¥यो भनेर डाली भरी सिस्नो टिपेर म घर गए । मलाई सिस्नो खराउन ( छान्न) आउँदैन्थ्यो ।
आमाले बहिनीलाई भन्नुभयो, ‘जा दाईले टिपेर ल्याएको सिस्नु खराएर आईजा ।’ बहिनी बाहिर आएर सिस्नो खराउन लागि, ‘उसले भनी आहा ! क्या दामी सिस्नोका डुफा ( हरियो मुना ) बनेर काम तिर लागि ।’
बहिनीले आफ्नो काम सकेर भान्छा कोठामा सिस्नो पु¥याई । आमाले बहिनीलाई फेरी भन्नुभयो, ‘दाईले पालौरो ( सिस्नो ) टिपेर ल्यायो तँ गएर बारी बाट लसुन टिपेर आई जा ।’ बहिनी केही नबोलेर सरासर बारीतिर गई । दाई लोरो ( ओख्लो) मा नुन, खुर्सानी, टिपुर, धनियाँ पिसिरहनु भएको थियो । आमाले पानीमा सिस्नो पकाउँदै हुनुहुन्थ्यो ।
बहिनी लसुन लिएर आई । दाईले लसुनलाई पनि अचारमा मिस्याउनुभयो । सिस्नो पाक्दै थियो, पल्ला घरे आन्टी हातमा कचौरा लिएर आउनुभयो । आमालाई भन्नुभयो, ‘हाम्रो घरमा पनि आज केही तरकारी छैन, कान्छाले अघि पालौरो ( सिस्नो) टिपिरहेको देखेको थिए, थोरै छ साईली दिदी ।’ बाजेको सन्तान मध्ये मेरो बुवा साईलो भएकोले आमालाई सबैले साईली भन्थे ।
आमाले भन्नुभयो, ‘बनाउँदै छौ, बस लिएर जाउँले कान्छाले टिपेर ल्याएको सिस्नो कस्तो छ ?’ सिस्नो खुरेर सकियो मकैको पिठो दाउन ( सिस्नोमा मिसाउने पिठो) हाल्नका लागि बहिनीले माथिल्लो कोठा बाट ल्याएर आई । सिस्नोमा मिठो घोलेर मिसायौं । त्यसपछि सिस्नो तयार भयो । आमाले नुन कस्तो भयो, लागेको छ की नाई भनेर दाईलाई एक रोटीमा सिस्नो हालेर चाख्न दिनुभयो ।
दाईले एकदम ठीक छ भनेपछि आमाले ओदान बाट सिस्नो पकाएको भाँडो तान्नुभयो । बहिनी र मलाई बोलाउनुभयो । ‘तेरा भाई बहिनी आउ है रोटी खान ।’बहिनी र म आयौं, आमाले क्रमश दाई, आन्टी, बहिनी र मलाई हाल्नुभयो ।
आन्टीले अंकल पनि हुनुहुन्छ भनेपछि थोरै आमाले थपिदिनुभयो, त्यसपछि आन्टी आफ्नो घर तिर कचौरा बोकेर जानुभयो । शनिवार परेकोले खाना खाउन्जेल करिव १० बजिसकेको थियो । भाउजु वनमा स्याउला लिन जानुभएको थियो ।
उहाँ पनि आएर सिस्नो संगै रोटी खानुभयो । हामी सबैले रोटी खाईसकेपछि । आमाले वुवालाई छुट्टै कचौरामा उतारेर राखिदिनुभयो । त्यो दिन कहाँ जाने के गर्ने भन्ने सल्लाह भयो । सल्लाह अनुसार आमा र बहिनी घरमा बस्ने, दाई, भाउजू र म वन गएर डाला ( डाले घाँस ) गाई भैसीलाई ल्याउने निर्णय भयो ।
मैले यो ब्लग चार बर्ष अघि लेखेको थिए । कतैै पनि अनलाईन पत्रिकामा प्रकाशन भएको थिएन् ।एउटा पुरानो पेन्ड्राईभ वाकसमा भेटियो । कस्तो छ भनेर चेक गरेको ठीकै रहेछ । त्यहाँका हरेक लेखहरु खोल्दै जाँदा यही सिस्नोको कथा भेटियो ।
त्यसपछि मलाई याद भयो हरेक दिन तरकारीको रुपमा सिस्नो खाएको । हरेक दिन आमाले सिस्नो टिप्न भनेर बहिनी, दाई र मलाई भनिरहेको याद मस्तिष्कमा आयो ।
हिउँदको समय । हाम्रो घर उच्च पहाडी क्षेत्रमा भएकोले वारीमा तरिकारी लगाउँदा तुसारो,सितले सबै सिध्याईदिन्थ्यो । अरु कुनै तरिकारहरु पाउँदैन्थ्यो । त्यतिवेला गाडी वस कुनै चल्दैन्थे । बजारमा तरकारी पाउँदैन्थ्यो ।
प्रकृतिले दिएको सिस्नो हाम्रा लागि महंगो तरिकारी थियो । कहिले दाई, कहिले म र कहिले बहिनीले टिपेर ल्याएको सिस्नो नियमितको हाम्रो खाना तरकारी थियो । साँझको खानामा दाल हुन्थ्यो भने विहान त्यही सिस्नो हुन्थ्यो ।
म कहिले कसो प्रश्न गथ्र्ये, यदि सिस्नो नभएको भए हाम्रो तरकारी के हुन्थ्यो होला ? हामीले कुन चिज तिर रोटी खानुपथ्र्याे होला ? मेरो यो प्रश्नको उत्तर अहिले बजारमा आएर मेटिएको छ ।
तर याद गाउँकै त्यही खोले सिस्नोको आईरहन्छ ।
बजारमा हरेक थरिका तरकारीहरु पाइरहन्छ । यहाँ पैसा भएपछि किनेर खाइन्छ, गाउँमा त निःशुल्क सिस्नो टिपेर पाइन्छ । बजारमा विषादी मिस्याएर बनाएको बेमौसमी तरिकारी हानिकारक छ । तर गाउँमा पाईने त्यही सिस्नो स्वास्थ्यका लागि एकदम फाईदाजनक छ ।
पहिला कहिले राम्रो तरकारी खान पाउला भनेर सोच्ने मान्छे,आजभोली मेरो अगाडी थुप्रै तरकारीहरु छन् । तर म त्यही खोले सिस्नोको पखाईमा छु । म अहिले पनि गाउँमा जाँदा पहिले मकैको रोटी र सिस्नो माग्दै खान्छु । मेरो बाल्यकाल देखि अहिले सम्म सिस्नो संग निकै गहिरो सम्बन्ध जोडिएको छ ।
















































। १७ पुष २०७८, शनिबार