सडक विभागको महानिर्देशकमा शिवहरि सापकोटा


काठमाडौं । सडक विभागको महानिर्देशकमा शिवहरि सापकोटा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियुक्तिको पत्र दिएपछि शुक्रबार विभाग पुगेर सापकोटाले पदबहाली गरेका हुन् ।

यसअघिका महानिर्देशक अर्जुनजंग थापाको स्थानमा सापकोटा महानिर्देशक बनेका हुन् । बिहीबारसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण महाशाखा प्रमुखका रुपमा रहेका उनी यसअघि पनि महानिर्देशकको प्रमुख दावेदारका रुपमा थिए ।

महानिर्देशकको पदबहालीपछि सापकोटाले पुँजीगत खर्च कमजोर रहेको पक्षमा सुधारका लागि पहल गर्ने बताएका छन् । ‘विभागभित्र सुशासन प्रवर्द्धन गर्न पनि म भूमिका खेल्नेछु,’ सापकोटाले भने,’रुग्ण आयोजनाहरुका कारण जनतालाई भएको सास्ती र राज्यलाई भएको हानीलाई हेरेर आवश्यक सुधारका कदम चाल्नेछु ।’

२०६९ सालमा सहसचिव बनेका सापकोटाले आगामी वैशाख १९ गते निजामति सेवाबाट अनिवार्य अवकाश पाउनेछन् । हाइवे–इन्जिनियरिङ उपसमूहका इन्जिनियर सापकोटाले यसअघि विभागको उपमहानिर्देशकका रुपमा काम गरिसकेका छन्।

तपाईको प्रतिक्रिया