व्यवस्था परिवर्तन नभए सम्म शैक्षिक प्रणालीमा सुधार हुदैन् : दीपेन्द्र सिंह


जाजरकोटका सम्पूर्ण शैक्षिक संस्थाहरुमा निकै विकृति छ । विभिन्न राजनीतक दलका भातृ संगठनका रुपमा रहेका विद्यार्थी संगठन मौन देखिन्छन् । विद्यालय राजनीतिक पार्टीको अखडा जस्तै बनेका छन् । विद्यार्थीका समस्या ज्यू का त्यू छन् । विद्यार्थी नेताहरुलाई पार्टीको बचाऔं गर्न र सामाजिक सञ्जालमा टिक्काटिप्पणी गर्न भ्याईनभ्याई छ ।

अझै स –साना बालबालिकाहरुलाई संगठनमा जोडी पढाईमा बाधा पु¥याईरहेको देखिन्छ । तर नेकपा ( विप्लव) निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी) निरन्तर विद्यार्थीको अधिकार, राष्ट्रिय अखण्डता, स्वाधिनता, वैदेशिक हस्तक्षेपका विरुद्धमा लडिरहेको छ ।

जाजरकोटका कतिपय विद्यालयका प्रधानध्यापकलाई भौतिक कारबाही समेत गरेको छ । सरकारी निकायमा विद्यार्थीका हक अधिकारका विषयमा पटक पटक आवाज उठाउँदै आएको छ । आगामी कार्यदिशा र संगठनको भावी योजनाका विषयमा अखिल क्रान्तिकारी जाजरकोटका संयोजक दीपेन्द्र सिंह संग हाम्रो पहुँच डकटकमले गरेको कुराकानी प्रस्तुत छ ।

स्वागत छ ?
धन्यवाद ।
१.अखिल (क्रान्तिकारी) जाजरकोटले हाल सम्म गरेका महत्वपूर्ण कामहरु केके हुन् ?
निकै महत्वपूर्ण प्रश्नको लागि धन्यवाद । धेरैलाई थाहा छ । अखिल (क्रान्तिकारी) जाजरकोटले हालसम्म के के गरेको छ भनेर कत्तिलाई जिज्ञासाको बिषय पनि बनेको छ कि अखिल (क्रान्तिकारी) ले अहिले सम्म के के गर्यो त भनेर म आज यहाँहरुलाई स्पष्ट पार्न चाहान्छु । हाम्रो संगठन विद्यार्थीहरुका मुद्दाहरुलाई लिएर होस् चाहे आम जनताको पक्षमा देशैभरी अग्रमोर्चामा रहेर काम गरिरहेको छ ।

जाजरकोटको सन्दर्भमा शैक्षिक क्षेत्रमा हुने हरेक गलत गतिविधिका विरुद्दमा खबरदारी र ध्यानाकर्षण मात्रै गराएन भ्रष्ट, हजारौं विद्यार्थीको भविष्यमाथी खेलवाड गर्नेहरुलाई खबरदारी गर्दा पनि नटेरेपछी कार्वाही पनि गरेको छ ।

जाजरकोटमा कहिले बाढी पीडितलाई राहत, कहिले कोरानाका बिरामीहरु हस्पिटलमा अक्सिजन नपाएर छटपटाईरहेका बिरामीहरुलाई अक्सिजन सिलिण्डर उपलब्ध गराएर सहयोग त कहिले लकडाउन तथा बर्खायाममा भोकै छटपटाईरहेकाहरुलाई प्रत्यक्ष रुपमै आर्थिक तथा भौतिक सहयोग त कहिले बिचबाटोमै अलपत्र परेका बिरामीलाई उद्दार जस्ता कार्यहरु त्यति मात्रै गरेनौं । हरेक राष्ट्राघाती, जनघाती सम्झौताका बिरुद्धमा अग्रमोर्चामा रहेर अखिल (क्रान्तिकारी) जाजरकोटले काम गरिरहेको छ ।

२. विद्यार्थी संगठनले विद्यार्थीका शैक्षिक मुद्दाहरु किन कम उठाउँछन् ?
विद्यार्थीको हकहितमा काम गर्ने भनिने विद्यार्थी संगठनहरुले अहिले विद्यार्थी मुद्दालाई केन्द्रमा राखेर आवाज उठाउनु पर्ने त्यसो भएको छैन दुखको कुरा हो । राजनीतिक मुद्दालाई केन्द्रमा राखेर विद्यार्थी संगठनहरु पनि आफ्नो निकट पार्टीको संरक्षण गर्नको लागि पार्टीमा रहेका गलत प्रवृति हावी भएका व्यक्तिलाई चर्चामा ल्याउनका लागि राजनीतिक मुद्दा मात्र उठाउने गर्दछन् । यो दलाल संसदीय व्यवस्था भित्रको चरित्र हो ।

यो व्यवस्था रहुन्जेल कुनैपनि पार्टीका विद्यार्थी संगठनले विद्यार्थीको पक्षमा आवाज उठाउने छैनन् । पार्टी बचाउनको लागि आवाज उठाउने छन् । समस्या पुँजीको हो । पुजीवादी व्यवस्था सहितको शिक्षा प्रणालीको हो । पुँजीवादी व्यवस्थाको अधिनमा रहेका शिक्षालयका संचालकहरुले संगठनको पनि बोलि बन्द गरिदिएका छन् । त्यसकारण अन्य विद्यार्थी संगठनहरुले विद्यार्थीका मुद्दामा केन्द्रित रहेर आवाज कम उठाउने गर्दछन् ।

३. तपाईहरुले थाल्नुभएको वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षा लागु हुन्छ त ?
हामीले हाम्रो पक्षको कुरा गरेनौँ । लाखौँ जनताको पक्षमा कुन व्यवस्था ठिक त भनेर लामो अध्ययन अनुसन्धान मार्फत अब आम जनताको हितमा वैज्ञानिक समाजवादी व्यवस्था ठिक छ भनेर जनताको हितका लागि जुन व्यवस्था स्थापना हुनुपर्छ भनेका छौँ यो हुन्छ ।

र वैज्ञानिक समाजवादी व्यवस्था आएपछि शिक्षा प्रणाली पनि वैज्ञानिक र व्यावहारिक हुनेछ ।
पुँजीवादी व्यवस्थाको अधिनमा रहेको पुँजीवादी शिक्षा प्रणालीले आम विद्यार्थीको जीवन र व्यवहार सँग जोडिने प्रकारको शिक्षा दिन सकेन् । अवैज्ञानिक र अव्यवहायिक शिक्षाले विद्यार्थीलाई शिक्षित त बनायो तर दक्ष बनाउन सकिरहेको छैन् ।

फलस्वरूप अहिले पनि लाखौँ शिक्षीत युवाहरू रोजगारको लागि विदेशीन बाध्य छन् । हामीले भनेका छौँ विद्यार्थीलाई दक्ष बनाउँ र देशमै रोजगारको व्यवस्था गरौँ । जनताको अधिकार सुनिश्चित गर्नका लागि कुनै पार्टी वा ब्यक्ति रोज्न होईन् व्यवस्था रोज्नको लागि चुनाव गरौँ । शान्तिपूर्ण र वैैज्ञानिक ढंगले जनमत संग्रह गरौँ हामी जित्छौँ । हामीले मात्रै जित्ने होईन् नेपालका आम जनताले जित्छन् र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुन्छ । सँगै यो व्यवस्था स्थापना भएपछि शिक्षा व्यवहारिक र वैज्ञानिक हुन्छ । यो शिक्षा लागू हुने कुरामा हामी ढुक्क छौँ ।

४. अरु पार्टीका विद्यार्थी संगठन र अखिल(क्रान्तिकारी) विच के भिन्नता छ ?
लाखौँ विद्यार्थीले सहजै चिन्न सक्ने भएका छन् कि अन्य संगठन र अखिल (क्रान्तिकारी) बिच के फरक छ ।

हामी जहिले पनि विद्यार्थीका मुद्दामा केन्द्रित रहेर आवाज उठाईरहेका छौँ । सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने एक मात्र संगठन अखिल (क्रान्तिकारी) जसले राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, जनजीविका, आम जनताको मुद्दामा केन्द्रित, शैक्षिक क्षेत्रमा भएको व्यापार, लुटधन्दा,निजीकरण,दलालीकरण र भ्रष्टीकरणका विरुद्ध मात्र नभै जब जनता संकटको अनुभुति गरेका हुन्छन् त्यति बेला सडक बाघको रूपमा स्थापित संगठन हो ।

अखिल (क्रान्तिकारी) शिक्षामा भ्रष्टाचार, शिक्षालाई व्यापार सम्झिनेहरुलाई तह लगाउन कुनैपनि कसुर बाँंकी नराखेर लडिरहेका छौँ र सडकको बाघको रुपमा स्थापित छ । यो अव्यवहारिक, अवैज्ञानिक, र असमान शिक्षा प्रणालीको विकल्प सहित संघर्ष गरिरहेका छौँ र भनेका छौँ कि वैैज्ञानिक र व्यवहारिक शिक्षा निर्माण गरौँ ।

अन्य संगठनहरु आफ्नो पार्टीलाई जोगाउन, यहि असमान, अवैज्ञानिक, र अव्यवहारिक शिक्षालाई संरक्षण गर्नको लागि संघर्ष गरिरहेको कुरा स्पष्ट देख्न सक्छौँ ।

५. पार्टीलाई उच्च राख्न अखिल (क्रान्तिकारी)ले कस्तो भुमिका खेल्छ ?
हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी श्रमजीवी, सर्वहारा वर्गको पक्षमा अथवा आम जनताको मुक्तिको लागि, जनतालाई थिलोथिलो हुने गरी ढाड सेक्ने गरेको यो असफल दलाल पुजीवादी संसदीय ब्यबस्थाको बिकल्प सहित बिरोध गरिरहेको पार्टी हो ।

हाम्रो पार्टी उच्च हुनु भनेको जनताले मुक्ती पाउनु हो । त्यसकारण पार्टीलाई उच्च राख्नको लागि अखिल (क्रान्तिकारी) ले महत्वपूर्ण भुमिका खेल्ने छ ।

६. वर्तमान शिक्षा प्रणालीमा सुधार गर्न के आवश्यक छ ?
वर्तमान शिक्षा प्रणाली सुधार गर्नका लागि हामीले धेरै ठुलो संघर्ष गर्न आवश्यक छ कि राज्यसत्ता र शिक्षाप्रणाली अभिभाज्य बिषय हुन् । शिक्षालाई राज्यसत्ताबाट पृथक गरेर बुझ्नै सकिदैन् । राज्य निर्माणको ऐतिहासिक प्रक्रियामा शिक्षा पनि क्रमशः अनौपचारिकबाट औपचारिक बन्न पुगेको हो ।

मानव समाज, शिक्षा र राज्यसत्ता अन्तरसम्बन्धित बिषय हुन् । कुन तथ्य अकाट्य छ भने कुनै पनि मुलुकको शिक्षाप्रणाली त्यहाँको राजनीतिक सत्ताले निर्धारण गरिरहेको हुन्छ । जसरी राज्यसत्ताको चरित्र वर्गी हुन्छ त्यसरी नै शिक्षाप्रणाली पनि राजनीति ,वर्ग र सत्ता सापेक्ष नै हुन्छ ।

राज्यमा जुन वर्गको पहुँच हुन्छ अथवा सत्ताको बागडोर जुन वर्गको हातमा हुन्छ, उसले आफ्नै वर्गको हित अनुकुल शिक्षाप्रणालीको सन्चालन एवं बिकास गर्छ । शिक्षा प्रणाली राज्यसत्ताद्वारा संचालित, निर्देशित, नियन्त्रित र विकास गरिने भएकाले कस्तो एवं कस्को सत्ता ? भन्ने प्रश्नको जवाफ नै हुन्छ एउटा वर्गको राज्यसत्तामा अर्को वर्गको शिक्षा असम्भव छ ।

त्यसकारण नेपालको सन्दर्भमा शिक्षाप्रणाली अर्धसामान्ती तथा अर्धऔपचारिकवेशिक हस्तक्षेप र अतिक्रमनले आक्रान्त बनिरहेको छ । नेपालको समग्र अर्थतन्त्र नै दातृ मुलुक र वित्तीय संस्थाको ऋण, अनुदान र सहयोगमा चलिरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव शिक्षा प्रणालीमा पनि पर्न गएको छ । आज देश शिक्षाप्रणाली अमेरिका, बेलायत र भारतबाट सञ्चालित छ । त्यसकारण नेपालको शिक्षाप्रणाली आम जनताको जीवन र व्यवहार संग सुहाउदो छैन् । तसर्थ पुँजीवादी वर्गको राज्यसत्तामा श्रमजीवी सर्वहारावर्गको हित अनुकुल शिक्षा प्रणालीको अपेक्षा गर्नु आकाशको फल आँखा तरी मर भन्नू जस्तै हो ।

पुँजीवादी व्यवस्थामा त्यस देशको शिक्षा प्रणालीमा त्यही वर्गको प्रोत्साहन गर्ने गर्दछ । त्यसकारण नेपालको शिक्षाप्रणाली, असमान, अवैज्ञानिक, अव्यवहारिक, जनबिरोधी, गलत नीति र संरचना, कमजोर प्रशासन र व्यवस्थापन, उद्देश्य र आवश्यकता बिरोधी, निजीकरण र ब्यापारीकरणले आक्रान्त र राष्ट्रियता बिरोधी छ ।

अब यो व्यवस्थामा आम विद्यार्थीको भविष्य छैन । यसर्थ अबको अन्तिम विकल्प भनेको बैज्ञानिक समाजवादी व्यवस्था नै यसको लागि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीले अघि सारिसकेको छ । यसमा नै हाम्रो संगठनले भाग लिएको छ यसले मात्र सम्पुर्ण समस्याको समाधान गर्नेछ ।

७.अखिल (क्रान्तिकारी) अव के गर्दैछ ?
अखिल (क्रान्तिकारी)ले अब विगतमा गरेको कार्यलाई समिक्षा गर्दै आगामी दिनमा पुँजीवादी राज्य व्यवस्थाको अधिनमा रहेको शिक्षा प्रणालीले नेपाली जनताहरुलाई जुन प्रकारको समस्या थुपारिदिएको छ । त्यसलाइ समाधान गर्न विभिन्न क्षेत्रमा संघर्ष गरिरहेको छ ।

शिक्षा क्षेत्रमा, राष्ट्रियताको सन्दर्भमा, जनजीविकाको सन्दर्भमा, स्वास्थ्य क्षेत्रमा लगाएत विभिन्न क्षेत्रमा संघर्ष गरिरहेको छ र अर्को महत्वपूर्ण कुरा पार्टीले अघि सारेको कार्यनीति जनमत संग्रहमा पनि संगठनले भाग लिएको छ ।

८. जाजरकोटका विद्यालयमा राजनीतिक चहलखेल बढीरहेका छन् तर तपाईहरु किन मौन ?
अत्यन्तै महत्वपूर्ण प्रश्न गर्नुभएको छ । हाम्रो संगठन पुरै मौन भन्न मिल्दैन किनभने अन्य संगठनको हकमा हाम्रो संगठनले धेरै खबरदारी गरिसकेको छ । तर हाम्रो सन्दर्भमा केही नगरेको हामीलाई अहिले अनुभुति भैराखेको छ र हाम्रो संगठनले आगामी दिनमा विभिन्न विद्यालयमा सच्चिन अन्तरक्रिया मार्फत अपिल गरिसकेको छ । यद्यपी अझै नसच्चिएको खण्डमा भौतिक कार्बाहीको बिषयलाई पनि अघि सारिसकेका छौ ।

९. अन्त्यमा के भन्नुहुन्छ ?
अन्त्यमा हामी देशका सचेत नागरिकलाई हार्दिकतापुर्बक अपिल गर्दछौ कि यो संसदीय व्यवस्थामा नेपालको सन्दर्भमा मात्र नभई किन विश्वको हकमा पनि असफल र नकामसिद्व भैसकेको छ । त्यसकारण त्यसलाई जरैदेखि उखेलेर फाल्नको लागि धेरै आन्दोलन, संघर्ष र बलिदान भए त्यो एउटा उत्कर्षमा पुग्नको सकेको छैन् ।

त्यो उत्कर्षमा पुग्नको हाम्रो पार्टीले धेरै अध्ययन अनुसन्धानबाट विश्व कम्युनिष्ट आन्दोलनमा नयाँ कार्यदिशा एकीकृत जनक्रान्तिको कार्यदिशा निर्माण गरेको छ । त्यसमा गोलबन्द हुनको लागि यो देशका प्रगतिशील क्रान्तिकारी देशभक्त जनताहरुलाई अपिल गर्दछौ ।

हाम्रो स्पष्ट दृस्ठिकोण, आम जनता तथा युवा विद्यार्थीहरुमा लागेको जिज्ञासाको बिषयलाई स्पष्ट पार्ने अवसर दिएकोमा हाम्रो पहुँच परिवारलाई विशेष धन्यवाद ।

तपाईको प्रतिक्रिया