‘ए’ डिभिजन लिग : सातदोबाटोमाथि जावलाखेलको सहज जित

काठमाडौं : जावलाखेल युथ क्लबले नवप्रवेशी सातदोबाटो युथ क्लबमाथि सहज जित निकालेको छ।

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेलको यो दोस्रो जित हो। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेल युथ क्लबले सातदाेबाटो क्लबलाई २–० गोल अन्तरले हराउँदै जारी लिगमा दोस्रो जित निकालेको हो।

जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एक÷एक गोल गरे। खेलको ५० औं मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७० औं मिनेटमा विदेशी खेलाडी निकोलसले गोल गर्दै जावलाखेललाई २-० को जित दिलाए। जितसँगै जावलाखेलले ६ खेलमा ७ अंक जोडेको छ।

सातदोबाटोले ६ खेलमा ८ अंक जोडेको छ। यससँगै जारी लिगमा छैठौं चरणका खेल पनि सकिएका छन्। साविक बिजेता मच्छिन्द्रले १४ अंकका साथ तालिकामा शीर्ष स्थान कायम गर्दा मनाङ मर्स्याङ्दी फुटबल क्लब १३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ।

६ खेलबाट १२ अंक बनाएको संकटा तालिकाको तेस्रो स्थानमा अटाउँदा आर्मी १० अंकका साथ तालिकाको चौथो स्थानमा छ।

तपाईको प्रतिक्रिया