गठबन्धन कसैको विरुद्वमा होइन: प्रधानमन्त्री देउवा


काठमाडौँ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन कसैका विरुद्ध नभएको दाबी गरेका छन् । उनले गठबन्धनले वर्तमान संसदलाई पुरै कार्यकालसम्म बचाउने बताए ।

‘यो गठबन्धन कसैको विरोधमा बनेको होइन, अहिलेको संविधानले जुन परिकल्पना गरेको छ, त्यहीअनुसार संसद पूरा कार्यकाल चलोस्, बीचमा संसद भंग नहोस् भन्ने संविधानको पुनित उद्देश्यपूरा गर्नकालागि गठबन्धन बनाइएको हो,’ उनले भने ।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले कसैले गठबन्धन आफूविरुद्व बनेको भनेर भ्रम नपाल्न आग्रह गरे । ‘यो गठबन्धन कसैको खिलापमा होइन, यो संविधानसँगै संसद बचाउनकालागि हामीले पाँच दलीय गठबन्धन गरेका हौँ, यो संसद पुरै कार्यकाल चल्छ । फेरि ओलीजीलाई, अरु पार्टीहरूलाई नलागोस् कि हाम्रो खिलापमा गठबन्धन बन्यो भनेर । आफूले त मिल्न पाइन्छ होला नि ?,’ देउवाले प्रश्न गरे ।

देउवाले गठबन्धन कसैको खिलापमा नभएको भन्दै तीनपटकसम्म दोहोर्‍याएका थिए ।

त्यसबाहेक धेरै समय देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रशंसामा खर्चिए । ‘पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा ठूलो योगदान दिनुभएको छ, उहाँको बलले संविधानसभामा हामी गएका हौँ, संविधानसभामा ००७ सालमा संविधानसभाको चुनाव भएर आज संविधान सभाबाट संविधान बनेको छ, समावेशी छ, समानुपातिक छ, संघीयता छ, यसैकारणले गणतन्त्रात्मक संविधान बनेको छ, यस अर्थमा पुष्पकमल दाहालको सबैभन्दा महत्वपूर्ण योगदान छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया