साढे ६ प्रतिशतले घट्यो सल्यानमा धान उत्पादन

सल्यान । सल्यानमा चालू आवमा बर्खे धानको उत्पादन करिब साढे ६ प्रतिशतले घटेको छ।

गत आव ०७७/७८ को तुलनामा ६ दशमलव ५४ प्रतिशतले सल्यानमा धान उत्पादन घटेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।

कार्यालयका अनुसार चालु आवमा ७ हजार ७२ हेक्टरमा खेती भएकोमा २७ हजार ८ सय ४९ मेट्रिक टन मात्र धान उत्पादन भएको छ।

गत आवमा २९ हजार ७ सय ९९ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए।

समयमै पानी पर्दा सबै क्षेत्रमा धान रोपाइँ भएको भएपनि बाली भित्र्याउने क्रममा लगातारको वर्षाका कारण उत्पादनमा कमी आएको बस्नेतको भनाई छ।

समयमै खेती भएकाले यो वर्ष उत्पादन बढ्ने आकलन गरी रहेको समयमा लगातारको वर्षाले काटेको धानबालीमा क्षति पुर्‍याउँदा उत्पादन घटेको उनको भनाई छ।

यस्तै बर्से मकैको उत्पादन पनि घटेको छ। गत आवभन्दा चालू आवमा १ दशमलव २ प्रतिशतले मकै उत्पादन घटेको छ।

गत आव ०७७/७८ मा ६८ हजार ४ सय ९३ मेट्रिक टन उत्पादन भएकोमा चालू आवमा घटेर ६७ हजार ७ सय ९० मेट्रिक टन मात्र उत्पादन भएको छ।

तपाईको प्रतिक्रिया