जाजरकोटमा देउडाको एक चिनारी


जाजरकोट जिल्लाको लागि देउडाको मुख्य थलो जुनीचाँदेको मजकोट थलो हो । दैलेख,कालिकोट संग जोडिएको त्यस क्षेत्रभित्र देउडा गीतको लागि निकै सिपालु मान्छेहरु छन् । विस्तारै अहिले आएर जाजरकोट जिल्लाभरी देउडाले आफ्नो प्रभाव फैलाएको छ । स्थानीय मेलाजात्रा देवीदेवताको पैठ,माडी विभिन्न उत्सवहरुमा मात्र नभई एकान्त वन—जंगल,घाट,घट्ट,वडार,गुफा जताततै देउडाका भाकाहरु रन्कन्छन् ।

देउडा गीतभित्र विभिन्न किसिमका टुक्काहरु जोडेर गाइन्छ । देउडा गीतभित्र अछामी देउडा,डोटेली देउडा, जुम्ली देउडा दैलेखी देउडा पनि हुन्छ । तर जाजरकोटमा प्रायःजसो दैलेखी र जाजरकोटी देउडा नै गाइन्छ । जाजरकोटमा चाडपर्वहरुमा देउडाबाटै एक आपसमा माया प्रेमका बातसवाल र सामाजिक विसंगति प्रति प्रहार गरिन्छ भने युवायुवतीहरु देउडा बाट हर्ष,दुःख,वेदना, संयोग—वियोग,मर्म,पीडा आदि प्रकट गर्छन् ।

युवायुवती समुह भएर एक आपसमा हात समाती विस्तारै खुट्टाको चालमा अघिपछि र वरपर गर्दै सर्छन् प्रत्येक समुहभित्र एक जना सिपालु गीत उठाउने नाइके हुन्छ । र उसैको गीतलाई छोपेर ठुलो स्वरले सबै दर्शकले सुन्ने गरी भन्नुपर्छ । यता वल्ला गाउँ अर्थात् छिमेकी जिल्लाबीच पनि बात सबाल पर्छ । अरोप प्रत्यारोप जति भए पनि देउडा खेल र जाजरकोट पक्षको बीच भएको बातसवालको केहीअंश यसप्रकार छ ः
दैलेख पक्षबाटः
चिनि कम्द कठुलो मेला—मान्छेको रहरै हो ।
जाजरकोटका लेखि साहियौ—दैलेख त शहरै हो ।
तिम्रो जाजरकोटको देखी हाम्रो दैलेख शहर हो भन्ने जवाफ आएपछि जाजरकोटी पक्षका देउडा समुहले यसरी सवाल गर्छन्ः।
जाजरकोटको पक्षबाटः
अहिले हाम्रा जाजरकोटमा बिजुलीको सिर्को
मट्टितेल बाल्ने दैलेख–जैलवादै चिर्को
तिम्रो जिल्ला शहर भएर के गर्ने अहिलेसम्म मट्टितेल बाल्छौ,हाम्रो जिल्लामा बिजुली बलिसक्यो भनेर नाजवाफ बनायको प्रसंग पनि कमछैन । यस्तै छेउछाउमा देउडा समुहमा कुनै पनि सदस्यको गल्ती तलाश गरी गीतैबाट गल्तीहरु औल्याइन्छ।

एकपटक जुम्ला जिल्ला कुडी गाउँको मान्छेसंग ऊनको व्यापार गर्दा जाजरकोटी इस्ट ठगिउको रहेछ। मौकावश उसैसंग देउडामा वातसवाल गर्ने अवसर पर्दा जुम्ली इस्टलाई गीतबाटै यसरी भन्छ ः
तोत हाइ पुरानो इस्ट –उन दीइस् भुँडिको ।
यस्तै व्यापार गरिस् भन्या–नाउँ जाला कुँडिको।
यस्तै प्रश्न उत्तरहरु ः
प्र पाटनैका पल्लापट्टि–न्याव चरी न्याव
तिहुनले नुनबोकी लीन्या भन साइले क्या हो ?
ऊ ः आज बास धारपनी बसौं –भोली हटि लाग्ला तिहुन ले नुनबोकी लिन्या हाटजाने जाग्न ।
प्रः साट्नैका चोली माथी –हान्दे दमाइ बुट्टा
बाह्र विश भैसौलीका –कति हुन्छन् खुट्टा ?
ऊः साट्नैका चोली माथी –हान्दे दमाइ बुट्टा
बाह्र विश भैसौलीका नौसय साठी खुट्टा।

यसरी देउडा गीतबाटै आफ्ना वेदनाहरु पोखी आफ्नो संस्कृतिलाई चीर स्थायी बनाउँछन् यहाँका देउडा गीतका पारखीहरु । धाराप्रवाह संग हृदयबाट हुत्तिएर आउने गीतहरु कहिले पनि सकिदैनन्। देउडा गीतलाई संरक्षण गर्न नितान्त आवश्यक छ । युवा– युवतीको मन जित्न सफल देउडा गीतलाई लोप हुन नदिनको गागि विभिन्न निकायबाट पहल गरिनुपर्छ । तर पछिल्लो समय यी भाकाहरु समेत लोप हुने अवस्थामा छन् । राजुराजा सिंहले लेखेको जाजरकोटको इतिहास नामक पुस्तक बाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया