
खलंगा । सरकारी सेवा प्रदायक निकाय नेपाल टेलिकमद्धारा वितरित एडीएसएल तथा फोर जी इन्टरनेट सेवा सुस्त हुदाँ जाजरकोटबासी लामो समय देखि हैरानी खेपिरहेका छन् ।
नेपाल टेलिकमको जिल्ला देखि प्रदेश तथा केन्द्रीय कार्यालय सम्म विभिन्न माध्यमबाट ध्यानाकर्षण गराउने, गुनासो पु¥याउने काम जति गरेपनि टेलिकमद्धारा वितरीत इन्टरनेट सेवामा कुनै सुधार आउन नसकेको नेपाल पत्रकार महासंघ जाजरकोटका पूर्व सचिव हेमन्त केसीले बताए ।
उनले जिल्लाका अधिकांश सरकारी कार्यालय,व्यापारी, सञ्चारमाध्यम,उद्योगी तथा पत्रकाहरुले प्रयोग गरिरहेको सरकारी ईन्टरनेट सेवा सुस्त भएका कारण सेवा प्रवाह देखि अन्य काम गर्न समेत हैरानी खेप्नुपरेको केसीले बताए । यस बारेमा पत्रकाहरुको समाचारका माध्यमबाट,जनप्रतिनिधीहरु र सरकारी निकाय मार्फत उजुरी, गुनासो र ध्यानआकर्षण नेपाल टेलिकममा गराएपनि नेटको गुणस्तर र गतिमा सुधार आउन नसकेको केसीको भनाई छ ।
जिल्लामा फोन र इन्टरनेटमा सुधार नआउँदा महामारी र संकटका वेला पत्रकाहरुलाई सुचना संकलन तथा समाचार सम्प्रेषणमा समेत समस्या पर्ने गरेको बताए । अप्टीकल फाइवरबाट इन्टरनेट सेवा सञ्चालन गर्न सरोकारवाला निकायहरुले ढिलाई गरेको र नेपाल टेलिकमले पनि समयमै काम सुरु नगरेका कारण जाजरकोटमा तारवाला इन्टरनेट सेवाको चर्काे आलोचना हुने गरेको छ ।
जनताले सेवा प्रयोग गरे वाफत पैसा तिरिरहने तर सरोकारवाला निकायले गुणस्तरीय र भरपर्दाे सेवा नदिने जस्तो गैरजिम्मेवारी पुर्ण काम गर्नु अपराध जस्तै भएको स्थानीय बताउँछन् । उता नेपाल टेलिकम जाजरकोटका कार्यालय प्रमुख गोपेन्द्र अधिकारीले जिल्लाको इन्टरनेट सेवा सुधारका लागि आफुले पहल गरिहेको बताए ।
उनले भने, ‘खारा सल्यान मा विद्युत नभएकोले खासको ट्रान्समिसन लिंक डाउन भएकोले रातामाटा बाट लिंक गरिएको छ । त्यसैले नेटवर्क सुस्त देखिएको छ । खारामा विद्युत वितरक संस्थाले जति सक्दो छिटो आफ्नो सिस्टम मर्मत कार्य सम्पन्न गरे पश्चात टेलिकमको सेवा पुन लयमा आउने छ ।’
यस समस्याको दीर्घकालिन रुपमा समाधानको लागि नेपाल टेलिकमले खारामा तत्काल पावर जेनेरेटर पठाउने र सोलार जडान गर्ने योजना रहेको अधिकारीले बताए । अप्टिकल फाइवर विस्तारको आयोजना प्रक्रियामा रहेको बताए ।
जिल्लामा गणस्तरहिन बनेको इन्टरनेट सेवा सुधारका लागि जिल्ला बाट गरिएको पहल र प्रयासलाई सधैं टेलिकमको माथिल्लो निकायले वेवास्ता गर्ने गरेको जनप्रतिनिधी,पत्रकार र सरकारी अधिकारीहरुकै गुनासो छ ।
















































। १० पुष २०७८, शनिबार