‘जागिर छोडेर व्यापारमा लागेका धीरेन्द्रको बार्षिक करोडौंको व्यापार’


कालीबहादुर नेपाली
जाजरकोट । धेरैको चासो हुन्छ जागिर खाने । त्यही जागिरको खोजीमा अधिकांश यूवाहरु विदेश पलाएन हुन्छन् । कतिले यतै बसेर सरकारी सेवामा प्रवेश गरी जागिरे जीवन विताईरहेका छन् । सरकारी तथा गैरसरकारी संघ संस्थामा समेत जागिरकै लागि हजारौं यूवाहरुको लाईन समेत लाग्ने गरेको छ ।

तर बारेकोट गाउँपालिका १ रामीडाँडाका धीरेन्द्र पुनले जागिर छाडेर व्यवसाय गर्न थाले । व्यवस्थापन संकाय बाट स्नातक तह उर्तिण गरेका धीरेन्द्रले दुई बर्ष सम्म पहाडी क्षेत्र विकास अभियान जाजरकोटमा लेखापालको रुपमा काम गरे ।

त्यहाँ काम गर्दा कमाई पनि राम्रै थियो । ५६ जना भन्दा बढी कर्मचारीहरुलाई मासिक तलव, भत्ता, भ्रमण खर्च उनले नै दिने गथ्र्ये । शान संग जागिर खाएको देखिए पनि उनलाई जागिरप्रति खासै चासो थिएन् । जागिर खाँदा खाँदै उनले आफ्नी आमा संग प्रस्ताव राखे म जागिर छोडेर, गाउँमा व्यवसाय गर्छु ।

उनकी आमाले गाउँमा केही गर्न सकिदैन् भनेपछि व्यवसाय गर्ने सपना अलि टाढियो । उनले भने, ‘गाउँमा आमाले केही गर्न सकिदैन् भनेपछि थोरै व्यवसाय प्रतिको मोह कम हुदै गयो ।’ गाउँमा भएको जमिनमा टिमुर खेती गरेर जिल्लालाई टिमुरमय बनाउने सपना देखेका उनी उक्त खेती बाट पछाडि धकेलिए ।

टिमुर खेती बाट पछाडि परेपनि व्यवसाय गर्ने सोच भने पछाडि परेको थिएन् । जागिर भन्दा व्यवसाय गर्ने सपना बुनेका उनले २०६८ साल असोज ८ गते भेरी नगरपालिका ३ ठाँटीबजार नजिकै विजय लक्ष्मी सजावट एण्ड अर्डर सप्लायर्स नामक पसल दर्ता गरी औपचारिक रुपमा व्यवसाय शुरु गरे । सुरुवाती समयमा उद्योग भनेर उनले दर्ता गरेका थिएनन् ।  उनले भने, ‘मैले शुरुमा उद्योग नै भनेर पसल दर्ता गरेको थिईन्, सजावट सम्बन्धीका समानहरु राख्ने, रंगहरु राख्ने गथ्र्ये ।’

‘जाजरकोटमा सजावटका सबै सामग्री पाउन निकै गाह्रो थियो, बाहिर नेपालगञ्ज भारत लगायतका ठाउँ बाट ल्याउनु पर्थ्र्याे, यहाँ आउने पुल बनेका थिएनन् निकै कठिनका साथ सुरुवाति दिनहरु काटियो’ उनले भने, ‘जिल्लामा उद्योगको संख्या कमै थियो, गाह्रकहरुको माग धेरै भएपछि फर्निचर उद्योग सञ्चालन गरेका हुँ ।’

सुरुवाति चरणमा आर्थिक अभावका कारण निकै समस्या भएको समेत पुनले सुनाए । व्यवसाय नै जीवन आधार हो भनेर लागेका उनले कहिल्यै हार खाएनन् । अझ मनलाई कठोर बनाएर व्यवसायमा लागिरहे । अहिले उनी संग तीन वटा उद्योगहरुका छन् ।

फर्निचर उद्योग, स्ट्रिल दराज उद्योग, आल्मुनियम उद्योग रहेका छन् । अहिले यही उत्पादन गरेका सामग्रीहरु ९० प्रतिशत जिल्लामै खपत हुन्छन् भने, १० प्रतिशत जिल्ला बाहिर जाने गरेको पुनले बताए ।

कति कमाउँछन् धीरेन्द्र बार्षिक ?
हाल जिल्लामा यूवा उद्यमीका रुपमा परिचित धीरेन्द्र पुनले अहिले बार्षिक कति कमाउँछन् भन्ने चासो सबैतिर छ । कठिन संघर्षपूर्ण वातावरण बाट यहाँ सम्म आएका पुनले बार्षिक १ करोड सम्मको व्यापार हुने बताए ।

उनले भने, ‘व्यापारमा वचत भने कमै हुन्छ, कोरोना महामारीका कारण केही समय व्यापार रोकियो, हाम्रो उद्योगले बर्षमा १ करोड सम्मको व्यापार गर्छ ।’ व्यापार भनेको आउने जाने क्षेत्र भएकोले कति कमाईन्छ भन्ने थाहा हदैन् उनले भने । जिल्लाका सम्पूर्ण सरकारी कार्यालयमा प्रयोग हुने सम्पूर्ण फर्निचरका सामग्री उनको उद्योगको प्रयोग गरिन्छ ।

दश जना भन्दा बढीलाई रोजगार
विजय लक्ष्मी सजावट बाट हाल १० जना बढीले रोजगारी पाईरहेका छन् । उक्त उद्योगमा मिस्त्री सहितका विभिन्न पदमा कार्यरत कर्मचारीहरुले काम गरिरहेका छन् । मिस्त्रीले मासिक ४० देखि ५० सम्म तलव खाने गरेको पुनले बताए ।

उनले भने, ‘अहिले हाम्रो उद्योगमा दश जना जति कामदारले काम गरिरहेका छन्, मिस्त्रीहरुको तलव मासिक ४० भन्दा माथि नै रहेको छ ।’ धीरेन्द्र आफुले मात्र सञ्चालन गरेका छैनन् उद्योग अरुलाई रोजगार समेत दिएका छन् ।

उमेरले ३१ बर्षका उनीले सञ्चालन गरेको उद्योगमा कतिले सीप सिकेर आफै फर्निचर उद्योग सञ्चालनमा ल्याएका छन् । आफुले मात्र कमाउँदैनन् अरुलाई समेत रोजगारी दिएका छन् ।

व्यवसाय गर्ने सोच भए विदेश जानुपर्दैन
मन बाटै व्यवसाय गर्ने सोच भएपछि विदेश जान नपर्ने उनी बताउँछन् । उनले भने, ‘हामी नेपालीहरु यहाँ काम गर्न लाज मान्छौ, विदेशीहरुका जस्तासुकै काम गर्न तयार हुन्छौं ।’ तर नेपालमा त्यही काम गर्न सक्दैनौ, त्यहाँ गर्ने काम हामीले यहाँ गरे विदेश जानुपर्देन् ।’ रोजगारका अनेक पाटाहरु हुन्छन् मनमा आँट राखेर काम गर्ने हो भने विदेशिनु नपर्ने उनी बताउँछन् ।

जाजरकोटमा पछिल्लो समय वैदेशिक रोजगारमा जाने यूवाहरुको संख्या बढिरहेको छ । वैदेशिक रोजगारीमा जानका लागि दैनिक एक दर्जन भन्दा बढी यूवाहरु पोसपोर्टका लागि प्रशासन धाउने गरेका छन् । सरकारले दिने अनुदान उद्यमीहरुले पाउनुपर्ने माग समेत धीरेन्द्रको छ ।

सरकारले दिने अनुदान नपाए पनि उद्यमीहरुका लागि सहुलियत कर्जाको व्यवस्थापन गरिदिन सरकार संग माग गरेका छन् । अहिले सम्म सरकाले दिने कुनै अनुदान नपाएको गुनासो धीरेन्द्र संग छ । धीरेन्द्र जस्तै संघर्ष र मिहिनेत गर्न सके नेपालमै रोजगारी सिर्जना हुने निश्चित देखिन्छ ।

तपाईको प्रतिक्रिया