
मुगु । सोरु गाउँपालिका–८ की १८ वर्षीया रूपदेवी रावल गाउँमा पुसे भैलो सुरु भएदेखि २/३ दिनयता व्यस्त छिन् । उनकी छिमेकी कमला शाहीलाई पनि घरघरमा गई भैलो खेल्ने चटारोले छोएको छ ।
हिमाली जिल्लामा पुसे भैलोको रौनक सुरु भएपछि अधिकांश गाउँका छोरी–चेली नाचगानमा रमाउन थालेका छन् । साँझपख गाउँभरिका छोरी–चेली जम्मा भई घरघरमा भैली खेल्न थालेको रावलले बताइन् ।
‘भैली आएपछि सबैतिर उत्साह छाएको छ,’ उनले भनिन्, ‘सहर बजारमा कहिले भैली खेल्छन्, हामीलाई थाहा छैन, हामीहरू वर्षेसाल पुस महिनाभरि भैलीमा रमाउँछौं ।’ पुस महिनाको पूर्णिमादेखि औंसीसम्म भैली खेलेर चामल, पैसा, तेल, नुन, दाल संकलन गर्ने गरिएको उनले बताइन् । उनका अनुसार त्यसरी संकलन गरिएको खाद्यान्नबाट वनभोज खाने चलन छ ।
जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा भैलो खेल्ने तरिका फरक फरक छ । मुन्दु, कोटिला, भीई, झ्यारी, नार्थपु, बामलगायत बस्तीका चेलीहरूले आ–आफ्नो घरबाट चामल, चेल, दाल, दही–दूध, तरकारी लिएर गोठमै बसेर पकाएर खाने गर्छन् भने राति भैली भाकामा देउडा गाएर रमाइलो गर्छन् ।
छोरी चेलीले वल्लोपल्लो गाउँका युवालाई पनि भैलो खान निम्तासमेत दिने गरेका छन् । चेलीहरूले विभिन्न परिकार बनाएर आफन्तलाई बाँड्ने गरेको सुकाढिक गाउँकी दाना गिरीले बताइन् । ‘चेलीको सगुन खाएबापत आफन्तले आफ्नो इच्छाअनुसार केही रकम दिन्छौं,’ उनले भनिन्, ‘रातभर नाचगान गरेर भैलीमा रमाइलो गर्ने चलन जिल्लाभरि छ ।’
कच्चे, थार्प, गिलाहा, कार्कीबाडा, श्रीनगर छत्यालबाडा, भामबाडालगायत गाउँका चेलीहरूले भने एउटै घरमा जम्मा भई भैली खेल्छन् । टाढा विवाह गरेर गएकी छोरीलाई माइतीमा बोलाएर भैलो खुवाएर पठाउने चलन रहेको बामगाउँकी बैसाखी बोहराले बताइन् । उनका अनुसार माइतीमा आएका छोरीलाई रातो चामलमा मासको दाल मिसाएर खिचडी बनाएर खुवाइन्छ ।
कर्णालीका सबै हिमाली जिल्लामा पुसे भैलोको चलन रहेको कर्णाली नाट्य समूहका संयोजक हिराबिजुली नेपालीले बताए । ‘यो चलनको बिस्तारै रूप परिर्वतन हुँदै छ,’ उनले भने, ‘सबै गाउँका चेलीहरू पुसे भैलोमा रमाउन थालिसकेका छन् ।’
उनका अनुसार खेतीपातीका काम नहुने भएकाले र पुस महिनामा फुर्सद हुने भएकाले सबै मिलेर रमाइलो गर्ने गरेका हुन् । जुम्लामा कल्याल राज्यको पालादेखि हिउँदमा भैलो खेल्ने चलन चलेको उनले जानकारी दिए । कुनै ठाउँमा औंसीदेखि पञ्चमीसम्म ५ दिन भैलो खेलिन्छ ।
















































। ६ पुष २०७८, मंगलवार