पुष महिनाभित्र विज्ञापन आह्वान गर्ने तयारीमा कर्णाली प्रदेश लोकसेवा आयोग

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले रिक्त दरबन्दी पदपूर्तिका लागि यही महिना भित्र विज्ञापन आह्वान गर्ने तयारी गरेको छ । पहिलोपटक कर्णालीबाटै प्रदेश लोकसेवा आयोगले कर्मचारी माग गर्ने तयारी गरेको प्रदेश लोक सेवा आयोगले जनाकारी दिएको छ ।

लोकसेवा आयोगले पूर्णता पाए पनि आवश्यक ऐन नहुँदा विज्ञापन आह्वान गर्न समस्या भएको थियो । ऐन संशोधन भएपछि अब दरखास्त आब्हानको तयारी अन्तिम चरणमा पुगेको हो । आयोगले यसअघि नै विज्ञापन आब्हान र परिक्षा सम्बन्धी कार्यतालिका यसअघि नै सार्बजनिक गरिसकेको छ ।

कार्यतालिका अनूसार साहायक पाँचौ (अप्राविधिक) र (प्राविधिक) तर्फको रिक्त दरबन्दी पदपूर्र्तिका लागि विज्ञापन आह्वान गर्ने तयारी भइरहेको प्रदेश लोकसेवा आयोगका सूचना अधिकारी प्रेम प्रसाद आचार्यले  जानकारी दिनुभयो । उहाँले कर्णालीमा अहिले कति दरबन्दी खाली छ भन्ने तथ्याङ्क सङ्कलनको काम र प्रतिशत निर्धारणको काम अन्तिम चरणमा पुगिसकेको बताउनुभयो ।

यस्तै, प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले कार्यतालिका अनूसार माग महिनाभित्र साहायक चौथौ (अप्राविधिक) र (प्राविधिक) तर्फको विज्ञापन समेत खुलाउने भएको छ । उहाँका अनूसार नासु तहमा अप्राविधिकतर्फको प्रथम पत्रको परीक्षा फागुनमा सञ्चालन हुने छ ।

चैतमा लिखित परीक्षाको नतिजा प्रकाशित गरी वैशाखमा दोस्रो पत्रको परीक्षा लिने कार्यतालिका बनाएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । अप्राविधिकतर्फको प्रथम पत्रको परीक्षा वैशाखमा परीक्षा लिने र जेठमा परीक्षाफल प्रकाशित गर्ने उहाँले जानकारी दिनुभयो ।

असारमा दोस्रो तहको परीक्षा सञ्चालन गरेर असोज र कात्तिकमा लिखित परीक्षाको अन्तिम नतिजा प्रकाशित गर्ने आयोगको कार्यतालिका छ । सबै परीक्षाहरू पार गरेका अप्राविधिकतर्फका उम्मेद्वारलाई मंसिर वा पुसमा सिफारिस गरिनेछ ।

ऐन संशोधनपछि प्रदेश लोक सेवा आयोगले सक्रियता जनाएको छ । आयोगले कर्मचारी पदपुर्ती गर्ने भएपछि कर्णाली प्रदेशमा रहदै आएको कर्मचारी अभाव हट्ने अपेक्षा लिइएको छ ।

तपाईको प्रतिक्रिया