बेथिति कायम रहे चुप बस्दैनौँ, पार्टी रुपान्तरण सुरु भयो : कोइराला

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका प्रत्यासी डाक्टर शेखर कोइरालाले अब पनि अहिलेकै जसरी पार्टी चल्यो भने सशक्त रुपमा प्रस्तुत हुने बताएका छन् ।

आफ्ना मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा कोइरालाले अहिलेकै जस्तो बेथिति रहे चुप लागेर नबस्ने चेतावनी दिए। उनले आफूहरु भागवण्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने पनि बताए।

‘हामी भागवण्डा र गुटबन्दीको राजनीतिमा लाग्दैनौँ, राम्रो काम गर्दै गयौं भने उहाँहरुलाई आफैं सोच्न बाध्य बनाउँछौं, उनले भने।

पार्टीमा आफूहरुले युवा पुस्ताका लागि अवसरै अवसर खोलिदिएको भन्दै कोइरालाले अब गाउँघरमा बस्दा नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्ने अवस्था पैदा भएको दाबी गरे।

उनले अब आफू कांग्रेसको रुपान्तरणका लागि लागिसकेको बताए।

‘अब म निरन्तर तपाईंहरुको घरदैलोमा पुग्नेछु, हाम्रा साथीहरु पनि पुग्नुहुनेछ।’, उनले भने, ’४ वर्षपछि आगामी अधिवेशनमा हामीले सफलता प्राप्त गर्ने विश्वास लिएका छौं।

उनले यो महाधिवेशनपछि आफ्नो राजनीतिक यात्रा नयाँ ढंगले सुरु भएको पनि बताए।

बुधबार विहान सम्पन्न मतगणनामा कोइराला शेरबहादुर देउवासँग ८ सय ७८ मतान्तरले पराजित भएका थिए।

तपाईको प्रतिक्रिया