
हेटौंडा । बागमती प्रदेशका मन्त्रीहरूको शपथग्रहणमा सञ्चारकर्मीलाई प्रवेश गर्न रोक लगाएको छ ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार ६ जना मन्त्री थपेका थिए । पाण्डेले थपेका मन्त्रीको शपथग्रहणमा पत्रकारलाई प्रवेश गर्न रोक लगाइएको हो ।
यसअघि प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको शपथग्रहणमा पनि सञ्चारकर्मीलाई प्रवेश गर्न रोकिएको थियो । मंगलबार पनि साँझ ५ बजेका लागि राखिएको शपथग्रहणमा यतिबेलासम्म पत्रकारलाई प्रवेश गर्न दिइएको छैन ।
प्रदेश प्रमुख कार्यालयमा शपथग्रहणको समाचार सङ्कलन गर्न आएका सञ्चारकर्मीलाई प्रदेश प्रमुखले रोक लगाएको भन्दै जान दिइएको छैन ।
सरकारी मिडियाका सीमित पत्रकारलाई मात्र प्रवेश गर्न दिएर निजी सञ्चारमाध्यमका पत्रकारलाई प्रवेशमा रोक लगाएको भन्दै सञ्चारकर्मीहरूले विरोध गरिरहेका छन् ।
सञ्चारकर्मीलाई बाहिर राखेर भित्र शपथग्रहण गरिरहेको भन्दै उनीहरूले प्रदेश प्रमुख र बागमती प्रदेश सरकारको विरोध गरेका छन् ।

नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईले शपथग्रहणमा सञ्चारकर्मीलाई प्रवेश गर्न नदिएर प्रदेश प्रमुख सञ्चारकर्मीसँग डराएको बताए ।
उनले पटक–पटक सञ्चारकर्मीलाई प्रदेश प्रमुख कार्यालयमा समाचार संकलन गर्न जान अवरोध गरेको भन्दै विरोध जनाए। अहिले बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा हुन् ।
५ बजेदेखि समाचार सङ्कलन गर्न आएका सञ्चारकर्मीहरू प्रदेश प्रमुखको कार्यालयको मूलद्वारबाहिर उभिइरहेका छन् भने भित्र मन्त्रीहरूको शपथग्रहण चलिरहेको छ ।
















































। २८ मंसिर २०७८, मंगलवार