सञ्चारिका समूह कर्णालीद्वारा ५ बुँदे घोषणापत्र जारी

सञ्चारिका समूहकाे नयाँ नेतृत्व, अध्यक्षमा वली चयन
वीरेन्द्रनगर । सञ्चारिका समूह कर्णाली प्रदेशले ५ बुँदे घोषणापत्र जारी गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१४ गोठीकाँडामा सम्पन्न बैठकले घोषणापत्र जारी गरेको हो ।

घोषणापत्रमार्फत सञ्चार नीति तथा सञ्चार सञ्चालनका मापदण्डहरु लैगिंकमैत्री हुनुपर्ने माग सरकारसँग गरिएको छ । घोषणापत्रमा प्रदेश सरकारलाई तत्काल सञ्चार नीति निर्माण गर्न ध्यानाकर्षण गराइएको छ ।

महिलाहरुले सञ्चालन गरेका सञ्चारमाध्यमहरुको दर्ता तथा नवीकरणमा ५० प्रतिशत छुटसहित सञ्चारमाध्यम सञ्चालनका लागि विशेष कार्यक्रमहरु सुनिश्चितताको व्यवस्था गर्न पनि समूहको माग छ ।

तीनै तहका सरकारले सञ्चारमाध्यमहरुलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन तथा अन्य सूचनाहरु कुन सञ्चारमाध्यलाई उपलब्ध गराइयो भन्ने विवरण वार्षिक रुपमा नै सार्वजनिक गर्नुपर्ने माग गरिएको अध्यक्ष सीता वलीले बताइन् ।

उनका अनुसार नियमानुसार दर्ता भइ सञ्चालनमा आएका सबै प्रकारका सञ्चारमाध्यमहरुलाई समान हिसाबले विज्ञापन तथा सूचना वितरणको प्रवन्ध मिलाउन पनि माग गरिएको छ । महिला कर्मचारीहरुलाई राज्यको नियमानुसार सुत्केरी बिदा तथा स्तनपान कक्षको व्यवस्था गर्नुपर्नेमा पनि समूहले घोषणापत्रमार्फत जोड दिएको उनले बताइन् ।

तपाईको प्रतिक्रिया