
जिल्लामा अर्को महत्वपूर्ण स्थान ओगटेको नृत्य हो खाँडो । कुशे गाउँपालिकाको साविकको ढिमे गाविसको झादेउ मेलाबाट यसको जन्म भएको पाइन्छ । खाँडोको अर्थ हो तरबार वा खुकुरी । विशेष गरी खाँडो नाँच विजया दशैंको महानवमीमा कोत र पटाङ्गीमा मौलो पुजा गरी राँगो बलि दिइसकेपछि बलि दिएको रगतमा हतियार चोबी खाँडो जगाउने चलन छ । र विवाह उत्सवमा पनि खाँडो अनिवार्य नाच्नै पर्छ ।
कुशेको ढिमे, खुर्पा, दमदाला, सरु, बारेकोटको आग्र, गोठगाउँ, तोल्खान, नायकवाडा, भैलाखान, नारे, वण्डाला,आदी,ठाउँमा खाँडो नाँचका पारखीहरु भेटिन्छन् । राष्ट्रिय पोशाक खङ्गधारी यी नृत्यकारहरु पञ्चै बाजाको तालमा ढाल र तरवारहरु जब नचाउन थाल्छन् । त्यसवेला सिंगो राष्ट्रको पहरेदारहरु जगजगाए जस्तै भान हुन्छ । र दर्शकको छाती राष्ट्रिय गौरव ढुक्क फूल्छ ।
यो नाँचलाई राष्ट्रिय नृत्य भन्दा फरक नपर्ला । सेतो दौरासुराल,कम्मरमा रातो रुमाल,कालो टोपी,कालो कोट, देब्रे हातमा ढाल दाहिने हातमा खुकुरी वा तरबार, खुट्टामा नेवर रहन्छ । भेषभुषा बाट नै थाहा हुन्छ । कि यो नाँचसंग राष्ट्रियता जोडिएको छ भन्ने ।
यो नाँचको लागि चाहिने सामाग्रीहरुमध्ये दमाह १ ट्याम्को १ सनाई १ झ्याली १ ढोल १ तरबार वा खुकुरी प्रत्येक संग १—१ वटा ढाल प्रत्येक संग १—१ वटा नेवर,प्रत्येक संग १ —१ वटा हुनु अनिवार्य छ । विशेषगरी यो नाँचमा वाद्यटोलीमा दमाईहरु नै रहन्छन् र बीचमा वाद्यटोली रहन्छ भने अगाडि नाइकेले दमाहाको सोहीहनुसार अरु सहायकहरुले नाँच्दै जानुपर्छ ।
खाँडो नाँच निक्कै खतरापूर्ण भिडमा र एकआपसमा सावधानीपूर्वक नचाउनुपर्छ । इति सिपालु नृत्यकार हुन्छन् कि । मुखमा दुइओटा खुकुरी च्यापी तरबार फन्फनी नचाँदा जो कोहीको शरीरमा पनि काँडा उम्रिन्छ । बाजाको आवाज जति चम्कँदै जान्छ उत्ति नृत्कारहरु तरबार,ढाल छिटोछिटो नचाउँछन् ।
बाक्लो घेराभित्र तमाम दर्शकको नाँच सिक्दा पहिले लठ्ठीको साहायता बाट सिक्छन् । अनि मात्र विस्तारै हतियार चलाउँन थाल्छन् । खाँडो नाँचले जाजरकोटको मात्र नभै बाहिर जिल्लाहरुमा पनि महत्वपूर्ण स्थान ओगटेको हुन्छ । सरकारको सवारी भ्रमणको बेला होस् । चाहे राजधानीमा आयोजित सांकृतिक कार्यक्रममा होस् वा उत्सव समारोह र राष्ट्रिय पर्वहरुमा हास् खाँडो नाँच धेरै ठाउँमा सम्मानित हुन पुगेको छ ।
जाजरकोट जिल्लाभित्रका सरकारी, गैरसरकारी संघ संस्थाहरुद्धारा आयोजित कार्यक्रमहरुमा यो नाचको महत्वपूर्ण स्थान हुन्छ । जब सम्म हाम्रा पौराणिक नृत्यहरुले सम्मान पाउँदैनन् तबसम्म हाम्रो संस्कृति लंगडो रहनेछ ।
(जाजरकोटमा नाँचिने नाँचहरुको लेखहरु क्रमश प्रस्तुत गर्दै जानेछौं सम्पादक)
















































। २६ मंसिर २०७८, आईतवार