
रुकुम पश्चिम । डा. गोविन्द केसीले रुकुम पश्चिम जिल्ला अस्पतालमा पुगेर उपचार सेवा सुरु गरेका छन् । शुक्रबार बिहान १० बजे अस्पताल पुगेका अर्थोपेडिक डा. केसी दुर्गमका स्वास्थ्य संस्थामा बिरामीको उपचार गर्ने अभियानको क्रममा रुकुम पश्चिम पुगेका हुन् ।
रुकुम पूर्वस्थित जिल्ला अस्पतालमा १४ दिन उपचार गरेर उनी यहाँ आएका हुन् । बिहीबार बेलुका जिल्ला आइपुगेका डा. केसीले शुक्रबारबाट जिल्ला अस्पतालमा बिरामी जाँच्ने खबर पाएपछि बिहानै स्थानीयहरूको भीड बढेको छ ।
हाड तथा नसा सबन्धी पूराना तथा नयाँ बिरामीले शुक्रबार डा. केसीसँग उपचार तथा परामर्श लिइरहेका छन् । डा. केसी आउने थाहा पाएपछि आफू तीन घण्टा पैदल हिँडेर जिल्ला अस्पताल पुगेको बाँफिकोट गाउँपालिका मग्माका सुरेश खनालले बताए ।
‘पहिल्यैदेखि कुम दुख्ने समस्या छ, उपचार तथा परामर्श पाइएला भनेर आएको हुँ,’ खनालले भने, ‘डा. केसीबाट आवश्यक उपचार र परामर्श पनि पाएको छु, आशा छ सुधार हुने छ ।’
एक हप्ता जिल्ला अस्पतालमा उपचार गरेपछि जिल्ला अस्पताल सल्यान जाने योजना रहेको डा. केसीले बताए ।
दुर्गममा उपचारको व्यवस्था छैन, स्वास्थ्य संस्था छैनन्, दक्ष जनशक्ति छैनन् । भए पनि उपकरण र औषधि पर्याप्त छैन । तैपनि यसको सुनुवाइ नभएको डा. केसीले बताए ।
आफूले सक्दो उपचार गरेर अरु अवस्थाबारे जानकारी लिने योजना रहेको डा केसीले बताए । बाग्लुङको बोबाङ स्वास्थ्य चौकी, रुकुम पूर्वको जिल्ला अस्पतालमा उपचार गरेर उनि यहाँ आइपुगेका हुन् ।
















































। २४ मंसिर २०७८, शुक्रबार