![]()
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले अवैधरुपमा उत्खनन गरी भण्डारण गरिएका गिट्टी, बालुवा र ढुंगा कब्जा गरेको छ। बाँकेस्थित राप्तीसोनारी गाउँपालिकाका तीनवटा क्षेत्रमा लुकाइछिपाइ अवैधरुपमा राखिएका गिट्टी, बालुवा र ढुंगामा झण्डा गाडेर कब्जा गरेको हो।
अवैधरुपमा गिट्ट, बालुवा संकलन गरेर सामुदायिक वन क्षेत्रमा लुकाइ राखिएको अवस्थामा नेकपा माओवादीको भातृसंगठन युवा संगठन नेपाले जनाएको छ। तस्कर गरेर राखिएका गिट्टी र बालुवा जनताको सम्पत्तिका रुपमा राज्यले लिनुपर्ने युवा संगठन नेपालले जनाएको छ। ‘हामीले अवैधरुपमा सामुदायिक वनभित्र लुकाइछिपाइ राखिएको गिट्टी, बालुवा कब्जा गरेका छौं,’ अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य डिबी शाहीले भने, ‘उक्त गिट्ट, बालुवा जनताको नहुँदासम्म पार्टी मातहत हुनेछ।’ ‘जनताको सम्पत्ति भयो भने हामी राज्यलाई फिर्ता गर्छाै,’ उनले भने।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ मा पर्ने खल्लाटपरी, ढलैया र वडा नम्वर २ को टीकुलीपुर सामुदायिक वनभित्र राखिएको अवस्थामा कब्जा गरेको युवा संगठनले जनाएको छ। ‘करोडौंको वनपैदावर मासी अवैधरुपमा करोडौं मूल्य पर्ने गिट्ट र बालुवा राखिएको छ,’ अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य शाही भन्छन्, ‘हजारौं टिपर ढुंगा, गिट्टी र बालुवा छ।’
जिल्लामा खोला र नदी आसपासका क्षेत्रका सञ्चालनमा रहेका क्रेसर उद्योगहरुले नदीजन्य पदार्थहरु अवैधरुपमा प्रयोग गर्ने गरेका छन्। नदीजन्य पदार्थको ठेक्का प्रक्रिया अझै सुरु नहुँदा स्थानीय जनप्रतिनिधि, प्रशासन र प्रहरीकै संरक्षणमा अहिले नदीहरुमा अवैध उत्खनन भइरहेको बताइएको छ।
यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसुदन न्यौपानेले बालुवाको थुप्रोको झण्डा गाडेको भन्ने खबर आएको बताए। ‘फत्तेपुरतिर बालुवाको थुप्रो जनताको हुनुपर्छ भनेर झण्डा गाडेको भन्ने कुरो आएको छ,’ उनले भने, ‘यसबारे थप बुझ्न मातहतका चौकीहरुलाई निर्देशन दिएका छौं।’
















































। २३ मंसिर २०७८, बिहीबार