गाउँपालिका उपाध्यक्षका श्रीमानले प्रमुख प्रशासकिय अधिकृतमाथि हातपात गरे


जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका उपाध्यक्षका श्रीमानले प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालमाथि कार्यकक्षमै हातपात गरेका छन् । गाउँपालिका उपाध्यक्ष गंगादेवि उपाध्यायका श्रीमान लक्ष्मी प्रसाद उपाध्यायले हातपात गरेका हुन् ।

प्रक्रिया नपुगेको योजनाको भुक्तानी माग्न खोज्दा सो विषयमा विवाद हुँदा प्रमुख प्रशासकिय अधिकृत धितालमाथि हातपात भएको जनाइएको छ ।

गौतमवाडामा निर्माण भएको सेलार स्टोरको जग्गा पास नभएसम्म रकम दिन्न भने पछि आफुमाथि हातपात भएको प्रमुख प्रशासकिय अधिकृत धितालले बताए । सांसद विकास कोषको रकमबाट व्यक्तिको जग्गामा सोलारको स्टोरको भवन निर्माण भएको बताए ।

गाउँपालिकाका कर्मचारीहरुले विज्ञप्ती जारी गर्दै घटनाको भत्र्सना गरेका छन् । प्रमुख प्रशासकिय अधिकृत लगायत अन्य कर्मचारीहरुले काम गर्ने वातावारण नभएकाले आइतबारदेखि विवाद टुंगो नलागेसम्म गाउँपालिकाको कामकार्वाही नगर्ने बताएका छन् ।

यता उपाध्यक्ष गंगादेवि उपाध्यायले आफ्ना श्रीमानले हातपात नगरेको बताइन् । अनुगमन गरेर उपभोक्तालाई रकम नदिएर कर्मचारीले दुखदिने गरेका उनले बताइन् । उनले आफुमाथि धम्किपूर्ण भाषा प्रयोग गरिरहेको बेलामा श्रीमानले बोले पनि हातपात नगरेको जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया