
फाइल तस्वीर
काठमाण्डौं । आइसिसी महिला टी–२० विश्वकप क्रिकेटको एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले पहिलो जित दर्ता गरेको छ ।
युएईको दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीमा आज (मंगलबार) भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।
पहिलो खेलमा हङकङसँग ६ विकेटबाट पराजित नेपालले भुटानविरुद्धको खेल सहजै जितेको थियो ।
भुटानले दिएको ६२ रनको झिनो लक्ष्य नेपालले ८ दशमलव ३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो ।
नेपालको जितमा इन्दु वर्माले अविजित १८ रनको योगदान गर्दा सीता राना मगरले १७ रन र कप्तान रुबिना क्षेत्रीले १० रन जोडिन् । कविता जोशीले ८ रन बनाइन् ।
यसअघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर मात्र ६१ रन बनाएको थियो ।
भुटानको पाली ध्वस्त पार्ने क्रममा सीता राना मगरले सर्वाधिक ३ विकेट लिइन् ।
यो जितसँगै नेपालले २ खेलमा २ अंक जोडेको छ ।
भुटानको पनि २ खेलमा २ अंक नै छ । भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले पराजित गरेको थियो ।
६ टिम सहभागी छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ ।
छनोट अन्तर्गत तेस्रो खेलमा नेपालले पर्सी बिहीबार कुवेतसँग खेल्नेछ ।
















































। ७ मंसिर २०७८, मंगलवार