
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसले इतिहासलाई सिरानी हालेर बस्न नहुने बताएका छन् ।
आज देशभर पार्टीको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको सन्दर्भमा अपिलपत्र जारी गर्दै उनले इतिहासलाई सिरानी हालेर बस्ने नभई परिवर्तनको वेगलाई ठम्याएर अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।
‘यो महाधिवेशनपछि हामीले नवीन आत्मविश्वासका साथ भन्न सकौँ कि अब कांग्रेसले इतिहासलाई सिरानी हालेर मात्र बस्दैन, परिवर्तनको वेगलाई ठम्याएर अगाडि बढ्छ, योग्यता र परिकल्पनाको प्रतिस्पर्धालाई उत्प्रेरित गर्छ,’ नेता थापाले भने‚ ‘आफूले पाएको अवसरलाई सही सदुपयोग गर्दै जनताको समस्याप्रति सदैव समानुभूतिशील रहन्छ र सधैं जनताको भरोसा र विश्वास पाइरहन्छ, सदाचारमा विश्वास गर्छ र भ्रष्टाचार कुशासनका विरुद्ध उभिन्छ । हामी चाहन्छौँ।’
कांग्रेस पार्टी अझ उन्नत र गतिशील बनोस् र मुलुकलाई समुन्नतिको गन्तव्यमा पु¥याउनुपर्ने उनको भनाइ छ । संविधानले समुन्नत नेपालको प्रष्ट गन्तव्यसहित अगाडि जाने बाटो देखाइदिएको उनले बताए ।
‘यो महाधिवेशनले पार्टीलाई विवेकपूर्ण ढंगले संविधान निर्दिष्ट बाटोलाई फराकिलो पार्दै गन्तव्यसम्म पु¥याउने जिम्मेवारी बहन गर्न सक्षम बनायो भनेमात्र हाम्रा संघर्षका प्राप्तिहरू दिगो हुनेछ‚’ उनले भनेका छन्, ‘महाधिवेशनमा हामी गुट वा समूहको, पद र प्रतिष्ठाको प्रतिस्पर्धामा मात्रै अल्मलियौं भने पार्टीलाई समुन्नत नेपाल निर्माणको नेतृत्वका लागि सक्षम बनाउने एउटा ठूलो अवसर हामीले गुमाउने छौं ।’
सामूहिक संकल्प गरेर पार्टीलाई २००७ सालको जस्तो क्रान्ति चेत भएको, २०१५ सालको जस्तो प्रगतिशील सोच भएको, २०४८ सालको जस्तो लोकप्रिय मत भएको अनि आउँदो युगको समय चेत बुझ्न सक्ने र आगामी पुस्ताले विश्वास र भरोसा गर्न लायक पार्टी बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसले सही बाटो समात्यो भने मात्र देशले सही बाटो समात्ने दाबी गर्दै नत्र फेरि पनि राजनीतिक गोलचक्कर समाप्त हुने उनको दाबी छ ।
https://drive.google.com/file/d/1Y4DQssOqStF3WK8k0lGwTVmB_VOpU8FK/view
















































। ६ मंसिर २०७८, सोमबार