कालिकोटमा पशुपालक किसानलाई गोठालो भत्ता

कालीकोट : कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ । पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले किसानलाई गोठालो भत्ता दिएको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ देखि पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि ल्याएको थियो। कार्यविधिअनुसार ५० देखि १०० भेडा, बाख्रा पाल्ने किसानलाई मासिक एक हजार तथा १०० भन्दा बढी भेडा, बाख्रा पाल्नेलाई मासिक दुई हजार रूपैयाँका दरले गोठालो भत्ता दिदैँ आएको छ। सम्बन्धित किसानको बैंक खातामा नै उक्त रकम जम्मा गरिएको गाउँपालिकाका पशु शाखाप्रमुख वीरेन्द्रबहादुर बमले बताए ।

‘किसानलाई पशुपालनतर्फ उत्साहित बनाउनका लागि गोठालो भत्ता उपलब्ध गराएका छौँ,’ अध्यक्ष बमले भने‚ ‘यो कार्यक्रमले किसानको रुचि पशुपालनतर्फ बढेको छ ।’ उनका अनुसार गाउँपालिका भरि ५० देखि १०० सम्म भेडा तथा बाख्रापालन गर्ने ६५ किसान छन् । त्यस्तै‚ १०० भन्दा बढी भेडा तथा बाख्रापालन गर्ने किसान ६ जना रहेको गाउँपालिकाले जनाएको छ ।

पशुपालन गर्ने त्यस्ता किसानलाई गाउँपालिकाले चालु आर्थिक वर्षमा नौ लाख रूपैयाँ गोठालो भत्ताका रुपमा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया