
काठमाडौं : सरकारले रेविज विरुद्ध दिइने एन्टीबडी सेवा सातै प्रदेशमा विस्तार गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले काठमाडौं उपत्यकाबाहिर ९ वटा स्वास्थ्य संस्था मार्फत् रेबिजविरुद्धको इम्युनोग्लोबुलिन एन्टीबडी निःशुल्क लिन सकिने बताए । हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र निःशुल्क प्रदान हुँदै आएको सेवा विस्तार गरिएको हो ।
मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्यमन्त्री खतिवडाले प्रदेश एकमा कोशी अस्पताल, प्रदेश दुईमा जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पतालबाट रेबिजविरुद्धको इम्युनोग्लोबुलिन पाइने बताए । त्यस्तै बागमतीमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भरतपुर अस्पताल, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा लुम्बिनी अस्पतालबाट समेत यो सेवा लिन पाइने छ ।
कर्णाली प्रदेशको सुर्खेत अस्पताल, सदूरपश्चिमको सेती प्रादेशिक अस्पतालबाट रेबिजविरुद्धको इम्युनोग्लोबुलिन निःशुल्क दिइने स्वास्थ्यमन्त्री खतिवडाको भनाइ छ ।
नेपालमा हाल रेबिज रोगबाट वर्षेनी १५ देखि २० जनाको मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ ।
















































। २ मंसिर २०७८, बिहीबार