जाजरकोट नेपाली काँग्रेसको सभापतिमा वेदराज किन ?


यति वेला नेपाली काँग्रेसको चौधौं महाधिवेशनको चहलपहल बढिरहेको छ । वडा र पालिका तहको अधिवेशन सकिएपछि जिल्ला र क्षेत्रीय लगायत अन्य अधिवेशनको तयारीमा नेताहरु जुटिरहेका छन् । नेपाली काँग्रेस जाजरकोटका प्रस्ट वक्ता एवं प्रभावशाली नेता वेदराज सिंहले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरी प्रचारप्रसारलाई व्यापक बनाईरहनुभएको छ । उनै सिंह संग हाम्रो पहुँच डटकमले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ ।

काँग्रेस जाजरकोटको सभापतिमा तपाईको उम्मेद्वारी किन् ?
नेपाली काँग्रेसले लोककल्याणकारी राज्य व्यवस्थाको सिद्धान्तलाई आत्मासाथ गरेको छ । जनतालाई अधिकार सम्पन्न बनाउन विगतदेखि संघर्ष गर्दै आएका छौं । जाजरकोटी जनताको सपनासँग पार्टीको सिद्धान्त जोड्नु छ । शिक्षालाई गुणस्तर, स्वास्थ्यमा जनताको पहुँच, कृषिमा आधुनिक यान्त्रिकरणको प्रयोग, यूवालाई रोजगार र उद्यमशिल बनाउनका लागि अब काँग्रेसको जिल्ला तहको नेतृत्वले स्पष्ट दृष्टिकोण बनाउनु छ ।

यसका लागि नेपाली काँग्रेस जाजरकोटका अग्रजको सुझाव, यूवाको साथ, कार्यकर्ताको जिम्मेवारपूर्ण विश्वासका साथ पार्टीको जिल्ला सभापतिमा उम्मेद्धवारी घोषणा गरेको छु । पार्टीको अन्तरिक संरचनालाई बलियो बनाउन, आगामी निर्वाचनमा पार्टीका नीति तथा कार्यक्रमहरु जनताका बिचमा लिएर पार्टीका वडा तहदेखि प्रतिनिधिसभा सदस्य सम्मका उम्मेद्धवारलाई बिजय गराउन र जाजरकोटको विकास र समृद्धका लागि मेरो उम्मेद्धवारी रहेको छ ।

यसका साथै पार्टी भित्र विगतदेखि आफ्नो जीवन समर्पित गरेका नेता तथा कार्यकर्ताहरुको उचित व्यवस्थान गर्न, पार्टीलाई एकताबद्ध बनाउन, जनताको सुःख,दुःखमा साथ दिन र पार्टीको विचार र सिद्धान्तसँग जाजरकोटी जनतालाई जोड्नु नै मेरोे प्रमुख लक्ष्य हुने छ ।
काँग्रेस भित्र पनि गुटको राजनीति छ तर एकता गर्न असम्भव होला नि ?
– हाम्रो प्रमुख उद्देश्य जनताको सेवा गर्नु नै हो । हामी जनता प्रति उत्तरदायि छौं । पार्टीलाई लोकन्त्रीक बनाउनका लागि समूह हुन आवश्यक छ । कुनै पनि संस्था भित्र समूह भएन भने त्यहाँ तानाशाह लागु हुन्छ । काँग्रेस लोकतन्त्रका लागि लडेको पार्टी हो । पार्टी भित्रको आन्तरिक निर्वाचनमा समूहगत रुपमा जानुपर्ने कुरा संसारका सबै लोकतन्त्रवादीहरुले आत्मासाथ गरेको कुरा हो ।

हाम्रो पार्टी नेपाली काँग्रेस भित्र देखिएका समूहहरुलाई मिलाउन सक्ने नेतृत्वको आवश्यकता छ । जाजरकोटमा हामी सबै मिलेर यस जिल्लाका लागि आफ्नो जीवनकालमा केहि योगदान दिन सक्छौं । यसका लागि हामी भित्रको आन्तरिक निर्वाचन भएकाले हार्दिकतापूर्ण तरिकाले महाधिवेशन सम्पन्न हुन्छ । म यसमा पूर्ण रुपमा ढुक्क छु । मुलभूत रुपमा जाजरकोट जिल्लामा भौतिक विकाससँगै मानविय विकासको आवश्यक छ ।

सामाजिक रुपान्तरण सहितको विकासको नेतृत्व अब काँग्रेसले जाजरकोटमा गर्छ । त्यसका लागि पार्टीको नेताहरुले आआफ्नो तहबाट जिम्मेवारपूर्ण तरिकाबाट लागौं । पार्टी भित्र देखिएका केहि मतभेदहरु अन्त्य हुन्छ, त्यसका लागि हामी बिच सकरात्मक चिन्तनको विकास हुन आवश्यक छ । हामी त्यसका लागि निरन्तर रुपमा एकतामै छौं ।
१३ औं महाधिवेशनमा सभापति उपविजेता बन्नु भयो, फेरी सभापतिमा उम्मेदवारीको घोषणा गर्नुभएको छ, कसरी लिनुभएको छ ?
– राजनीतिक र सामाजिक जीवनमा बिजय र पराजय स्वाभाविक कुरा हो । नेपाली काँग्रेस जाजरकोटका नेता तथा कार्यकर्ताहरुले १३ औं महाधिवेशनमा जिल्ला सभापतिमा मलाई महत्वपूर्ण अभिमत दिनुभयो । निर्वाचनमा गणितले संधै महत्व राख्ने भएकाले म अंकमा केहि प्रतिशत कम भएर उपबिजेता भए ।

तर पार्टीका नेता तथा कार्यकर्ताहरुले दिएको त्यो अभिमतले पार्टी भित्र काम गर्ने उर्जा र शक्ति मलाई यो बिचको समयमा धेरै मिल्यो । नेपाली काँग्रेस जाजरकोटका आम नेता तथा कार्यकर्ताहरुले १४ औं महाधिवेशनमा आफ्नो पुनः अभिमत दिई पार्टीमा कर्तव्य बोधका साथ कार्य सम्पादन गर्ने जिम्मेवारी दिनुहुनेछ । तपाई आम नेता तथा कार्यकर्ताहरुले दिएको अभिमतलाई शिरमा राखेर आफ्नो कार्यकालमा पार्टी र जनता प्रति इमानदारिताका साथ काम गर्न प्रतिवद्ध छु ।
अन्त्यमा के भन्नुहुन्छ ?
– नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा नेपाली काँग्रेस जाजरकोटको पार्टी सभापतिमा उम्मेद्धवारी दिने घोषणा गरेको छु । नेपाली काँग्रेस जाजरकोटका नेता तथा कार्यकर्ताहरुले मलाई पार्टी सभापतिका रुपमा कार्यसम्पादन गर्ने जिम्मेवारी दिएको अवस्थामा पार्टीलाई आगामि हुने निर्वाचनमा जाजरकोट जिल्लाका वडा, गाउँ÷नगर, दुई वटा प्रदेश निर्वाचन क्षेत्र र एउटा प्रतिनिधि सभामा पार्टीबाट उम्मेद्धवार बनेका सबै उम्मेद्धवारलाई बिजय गराउने सपना र योजना लिएको छु ।

त्यसका लागि पार्टीको आन्तरिक संगठन बलियो बनाउँछु, पार्टीलाई चलायमान बनाउँछु, पार्टीले लिएको नीति तथा कार्यक्रम र सिद्धान्त जनताका बिचमा लिन्छु । जिल्ला सभापति भएको अवस्थामा आम नेता तथा कार्यकर्ताहरुलाई पार्टीले गर्ने कामबाट निराश बनाउँदिन् । भरोसायोग्य काँग्रेस निर्माण गर्छु । अन्य पार्टीभन्दा नेपाली काँग्रेसको बिचारलाई एक तह माथि रहने गरी सुस्पष्ट रणनीति लिएको छु । त्यसका लागि जाजरकोट जिल्लाका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई जिल्ला सभापतिका रुपमा मलाई साथ र सहयोग गरिदिन हार्दिक अुनरोध गर्दछु ।

तपाईको प्रतिक्रिया