नलगाड मुआब्जा बुझेका जग्गामै धमाधम घर

No photo description available.
जाजरकोट । चार सय १७ मेगाबाट उत्पादन क्षमताको नलसिंहगाड (नलगाड) जलाशययूक्त जलविद्युत आयोजनाको मुआब्जा वितरणमा ढिलाई हुदाँ स्थानीले डुवान क्षेत्रमै धमाधम घर बनाउन थालेका छन् । जाजरकोटमा निर्माण प्रस्ताव गरिएको यो आयोजनामा मुआब्जा बुझेको जग्गामा समेत धमाधम ठुला भवन र क्रंकिट संरचना निर्माण भईरहेका छन् । आयोजना स्थलमा बनाइएको संरचनाको मुआब्जा मागे जति पाईने हल्लाले स्थानीयले अस्थायी भैसीगोठलाई पनि व्यापारी घर बनाउन थालेका हुन् ।

डुवान क्षेत्रमा एक सय भन्दा बढी नयाँ घर निर्माण भईरहेको नलगाड हाइड्रोपावर कम्पनीका सव–इन्जिनियर पदम थापाले बताए । डुवान क्षेत्रमा घर बनेपछि आयोजनाको लागत बढ्ने देखिएको छ, उनले भने, ‘स्थानीय तहले पनि नयाँ भवनहरुको सूची दर्ता गरिदिन दबाव दिएपछि समस्या भएको छ ।’

पुरानो जग्गा वेचविखन रोक्का गरिसकेपछि निर्माण गरिएका भवनको मुआब्जा नदिने प्रावधान रहेको उनको भनाई छ । आयोजनाका अनुसार अँधेरीखोला, खेत, सेपुखोला,सक्ला, घाटबजार, काउली बजार लगायतका गाउँमा घर बनाउने क्रम बढेको छ । यी स्थानमा किसानले यसअघि अस्थायी गोठ सञ्चालन गथ्र्ये ।

तर अहिले पक्की घर निर्माण भएर व्यापारिक पसल सञ्चालनमा आएको थापाले बताए । उनका अनुसार डुवानमा पर्ने क्षेत्र हुदाँहुदै पनि स्थानीय तहले सडक निर्माणमा धमाधम लगानी गरिरहेको छ । बारेकोट गाउँपालिका – ८ अधेरीखोलामा आयोजना बनाउन प्रस्ताव गरिएको छ ।

तर आधा दशक वितिसक्दा पनि आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) तयार भएको छैन । सन् २०१६ मा अस्ट्रेलियन कम्पनी स्मेक, अस्ट्रेलियाको एमडब्लुएच र नेपालको उदय जेवीले आयोजनाको विस्तृत अध्ययन, टेन्डर डकुमेन्ट तयारी र डीपीआर बनाउने ठेक्का पाएको थियो ।

एक दशकअघि नै सम्भाव्यता अध्ययन सकिएको यो आयोजनामा स्मेकले ३० महिनाभित्र डीपिआर तयार पार्न १ अर्व ११ करोड रुपैयाँ बराबरको सम्झौता भएको थियो । तर दुई पटक समय थपिईसक्दा पनि डीपिआर बन्न सकेको छैन । विद्युत विकास विभागले गत बर्ष पुसमा आयोजनाको सर्वेक्षण अनुमतिपत्र अगामी मंसिर २५ सम्मका लागि नवीकरण गरेको थियो ।

परियोजना निर्माणस्थलमा सडक,क्याम्प निर्माण, जग्गाको मुआव्जा वितरण लगायतको काम सकिएको आयोजनाका निमित्त कार्यकारी प्रमुख सुनील पौडृेलले जानकारी दिए । अहिले सम्म आयोजनामा करिव ५ अर्व रकम खर्च भईसकेको उनको भनाई छ । प्रभावित क्षेत्रका ९ सय ४५ परिवारलाई झन्डै २ अर्व रुपैयाँ मुआव्जा वितरण गरिसकेको जनाएको छ ।
याे समाचार कान्तिपुर दैनिकमा हरिहर सिंह राठौरले लेखेका छन् ।

तपाईको प्रतिक्रिया