बाटोमा एक लाख पाएपछि…..

बाटोमा पाएको एक लाख रुपैया प्रहरी मार्फत सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण
खलंगा । बाटोमा एक लाख रुपैयाँ पाएपछि के गर्नुहुन्छ तपाई ? आफैले राख्नुहुन्छ, प्रहरीलाई बुझाउनुहुन्छ, आफ्नो आवश्यकता पुरा गर्नुहुन्छ ? यस्तै प्रश्न तपाईको मनमा उब्जिन सक्छ तर बास्तविक शुक्रबार वेलुका गैरीखालीमा दुई यूवाले एक लाख पाए । उनीहरुले प्रहरी मार्फत सम्बन्धीत व्यक्तिलाई बुझाएका छन् ।

जिल्लाको कुशे गाँउपालिका २ स्थायी घर भइ प्रधानमन्त्री आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई जाजरकोटमा जेटिए पदमा कार्यरत सुवास सिंह र भेरी नगरपालिका ४ घर भई सोही कार्यालयमा जेटिए पदमा कार्यरत २३ बर्षिय धर्म चन्दले भेरी नगरपालिका ४ गैरीखाली स्थित सडकबाटोमा शुक्रवार वेलुका एक लाख रुपैया फेला पारेका थिए । ‘घुम्न निस्केका थियौ विच सडकमा प्लाष्टिकको झोलामा बेरेको सानो पोेको भेट्यौ । के रहेछ भनेर खोलेर हेर्दा एक लाखको गड्डी रहेछ । हामीले तत्काल प्रहरीलाई बुझाईदियौ’ सुवासले भने ।

करीव १८ घण्टा पछि रकम हराएका कुशे गाँउपालिका ९ मेलविसाउना निवासी ४५ बर्षिय धर्मे सार्की सम्पर्क आएकोले उनलाई उक्त रकम हस्तान्तरण गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी मधुकुमार थापाले बताए । प्रहरी प्रमुख थापाका अनुसार रकम हराउने धर्मे कमाईका लागि केही समय अघि भारत गएका थिए । भारतबाट दशै मनाउन घरफर्केने क्रममा नेपालगञ्जमा भारतिय रुपैया सटाएर शुक्रवार मात्र जाजरकोट सदरमुकाम आईपुगेका थिए । मदिरा सेवन गरेका कारण उनले रकम हराएका थिए ।

मदिराको नसाले छोडेपछि शनिवार विहान मात्र रकम हराएको थाह पाएका उनले सोधीखोजी गर्दा प्रहरीको सम्पर्कमा आएको र उनको बयानका आधारमा रकम उनकै भएको एकिन गरेर रकम फेला पार्ने ब्यक्तिको रोहवरमा हराएको एक लाख रुपैया हस्तान्तरण गरिएको प्रहरी प्रमुख थापाले बताए । रकम पाएपछि धर्मेले भने ‘दिनरात अर्काको देशमा पसिना बगाएर कमाएको रकम हराएपनि फेला पर्यो । सत्यको धन रहेछ । कोही नहुनेको दैव हुन्छ भनेको साँच्चै रहेछ । अव यस्तो गल्ती कहिल्यै गर्दिन ।’ रकम फेला पारेर इमान्दारपुर्वक प्रहरीलाई बुझाउने दुवै युवाहरुलाई प्रहरी प्रमुख थापाले धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया