
फाइल तस्विर
जब गाउँका केही मानिस मरणको घडीमा पुग्यो भने नजिकका आफन्त,इष्टमित्र घरजहानहरु अर्ति,उपदेश माग्न नजिक हुन्छन् र मृत्यु हुनु अगाडि आफ्नो धोको,ऋण सापट भएमा आफ्नो छोरा अथवा नजिकको मान्छेलाई जानकारी गराईन्छ ।
त्यसलाई ‘अर्ती दिने’ भनिन्छ । केही समयपछि प्राणवायू निस्कन लाग्दा घरका परिवार जोकोहीले पनि दुध, दही,मही नभए पानी भएपनि मुखमा हालिदिने चलन छ, जसलाई ‘हिरण’ भनिन्छ । प्राणमुक्त हुने वितिकै सफा नयाँ कपडा लगाई, तेल घसी, महिला भएमा गर–गहना टीकाटाला लगाई भुईमा गाईको गोबरले पोतेर त्यसैमा शव राखिन्छ । शुद्ध ठाउँको १ मुठी माटो छातिमा राखी कुशको त्यान्द्रोले १० औंला र खुट्टाको बुढी औंला बाँधिन्छ । त्यस चलनलाई ‘कुश्माटी अर्पन’ भनिन्छ ।
मृतकको प्राण गईसकेपछि सबैलाई जानकारी दिन बन्दुक पड््काउने चलन छ, जसबाट गाउँमा कोही वित्यो भन्ने थाहा हुन्छ । मृतकको मुखमा सिक्का राख्ने चलन छ भने उता मुखलाई पुरै कपडाले बाँधिन्छ जुन कपडालाई ‘विर्वट’ भनिन्छ ।
यता गाउँघरका सबै दाजुभाई,इष्टमित्र मलामीको रुपमा जम्मा हुन्छन् र हरियो बाँसको खट बनाई त्यसमा शव राखिन्छ र एक माना चामल पनि काँखमा राखिन्छ जसलाई ‘समाल’ भनिन्छ । शवलाई शुद्ध कपडा पिताम्बरसहितले लपेटिन्छ र फुल, माला, अबिर पैसा, अर्पण गरी घर बाट विदा गरिन्छ । शवको अगाडि सेतो कपडा लगाईन्छ जसलाई ‘बाट’ भनिन्छ ।
बाट एक मिटर देखि दुई–तीन सय मिटर सम्म लामो हुन्छ । बाट पछाडि र शवको अगाडि दमाईहरु शोकधुन बजाउँछन् । शवलाई वंशभाईहरुले बोक्ने चलन छ । शवयात्रामा शंक फुक्दै लैजानछन् । मलामीहरुको लाईनमा अन्तिमको मान्छेले भुटेको धान (लायो) छर्कने चलन छ । प्रायः जसो गाउँको आफ्नो चिहान हुन्छ चिहान दुई –तीन खोलाको संगमस्थल दोभान, त्रिवेणी परेको ठाउँमा हुन्छ । सबैले घर बाट दाउरा बोकेका हुन्छन् । चिता तयार भईसकेपछि शवलाई चितामा राखिसकेपछि लगाईएको गहना, नयाँ लुगाहरु निकालिन्छ र शवलाई वस्त्रहीन बनाईन्छ ।
कात्रोको आधा भाग शव संगै छोडिन्छ भने आधा भाग दमाईहरुले लिने चलन छ । दाहसंस्कारको वेला क्रियामा बस्ने छोरा या भाईले शवको मुखमा बल्दै गरेको वत्ती राख्छन् भने अन्य जेठो लाग्ने भाईहरुले पनि क्रमशः आगो राख्नुपर्छ र पानीले निभाउँछन् । त्यसवेला बाजा बजाउने, शंक फुक्ने चलन छ । शवलाई एकपटक परिक्रमा गरी आगो लगाईन्छ ।
जव शव जलेर खरानी बन्छ अनि बाँकी रहेको शेषलाई नयाँ सोतो कपडामा राखी अंशियारहरुले वीच गंगामा लगेर बगाउँछन् जसलाई ‘अस्थि सेलाउने’ भनिन्छ । अन्तमा क्रिया बस्ने व्यक्तिले सम्पुर्ण शरीरको रौं खौरी सेतो एकसरो वस्त्र धारण गर्नुपर्छ । नजिकका जुठो लाग्ने वंशहरुले कपाल खौरी नुन, माछा, मासु १० दिन सम्म त्याग्नुपर्छ । क्रिया बस्ने मानिसले कसैलाई छुन हुदैन भने दिनको १२ः०० बजे एक छाक खाना खानुपर्छ । खानामा भात, चिनी,खुदो,घिउ मात्र खानुपर्ने चलन छ ।
गाउँघरका सबै मानिस साँझपख मृतकको घरमा बस्न आउने,सुख, दुःख धर्म कर्मका कुरा गर्ने, सहयोग पु¥याउने काम गर्छन् । यसरी आठौं दिनमा खोलामा भात खाने गरेको ठाउँमा वैदिक शास्त्रअनुसार बाहुनले सुमेरु पर्वतको स्वरुप बनाई उठाउँछन् र एक राति त्यो त्यही रहन्छ र भोलिपल्ट दालिन्छ । दशौं दिनमा क्रिया बस्ने बाहेक अन्य जूठो बारेका वंशहरु बाहुनद्धारा गाईको गहुँत खाई टिका ग्रहण गरी शुद्ध हुन्छन् । सोही दिन सुमेरु दालेको ठाउँमा मृतकको मनपरेको लुगा,कपडा,खाद्यवस्तु, भाँडावर्तन,बाहुनलाई दान दिईन्छ जसलाई ‘सैयादान’ भनिन्छ ।
अन्तिम एघारौं दिनमा विहानै मृतकको घरमा सबै दाजुभाई,इष्टमित्र गाउँलेहरु छिमेकी सबै एक माना चामल ५÷१० रुपैयाँ दाम सहित भेला हुन्छन् । गाउँको सबैले मृतकको घरमा सहयोग गर्ने र सान्त्वना दिने काम त्यो दिन हुन्छ । सबैले खाना खानु अनिवार्य हुन्छ । उता क्रियामा बसेको मानिसलाई बाहुनद्धारा शुद्ध गराईन्छ र गाईदान गरिन्छ । बाहुनलाई छाता, जुत्ता, लठ्ठी सहित, मृतकको लगाउने कपडा लगाई पितृ पठाउने चलन छ ।
यता श्रीमान् वितेको भए श्रीमतीले ११ दिन सम्म गहनाहरु श्रृंगार सामग्री निकाल्ने चलन छ । श्रीमतीको माइती पक्षबाट सो दिन आई नयाँ गुन्यूचोली फेरिदिने चलन छ भने गहनापात पनि लगाउँछन् ।
बावुआमा वितेको भए छोरोले सकभर एक बर्ष सम्म सेतो बस्त्र धारण गरी, दुध, माछा, मासु नखाने र शुभकर्म नगर्ने चलन छ । एक बर्ष नसके ४५ दिन, त्यो नसके ११ दिनमै बरखी फुकाईन्छ ।
एघार दिनसम्म बाहुनद्धारा गरुडपुराण पढ्ने चलन छ र सो पढे वापत ब्रम्हआसन भनेर कुनै विछ्याउने एक वस्त्र दान गर्नुपर्छ । शुद्र जातिहरुले पनि त्यही रीतले काम गरिन्छ तर उनीहरुको दिन भने पाँच दिन सम्म हुन्छ ।
बाहुनको गर्ने सम्पुर्ण कार्य छोरीज्वाई, भान्जा आदिले गर्छन् र कतै जोतिषले पनि गर्छन् ।
मृतकको आत्माको शान्तिको लागि बर्षेनी श्राद्ध गर्ने, पिण्डदान दिने, मृतकका साथीभाई बोलाएर भोजन दान दिने चलन छ । यता योगी, गोसाई, नाथ गिरी, भारतीहरुमा बर्षमा उनीहरुका आफ्ना मृत्यकहरुको चिहानमा गएर मृतकको समाधिस्थल नेर बत्ती बाली मृतकको सम्झना गर्दै पुजा गरिन्छ ।
योगीहरुलाई जलाउने चलन जाजरकोटमा छैन् । खाडलमा पिताम्बर बस्त्र सहित बसाली कमण्डलु, चिम्टा, रुद्राक्ष लगाई नुनले पुर्ने र देवल बनाउने चलन छ । एक व्यक्तिले समाज बाट मृत्युपर्यत्नसम्म कति सम्मान पाउँछ यो लेख बाट नै थाहा हुन्छ । जाजरकोटीहरु आफ्नो संस्कृतिको पहिचान र कर्मद्धारा दिन्छन् । दुःख सुखमा मानवीय व्यवहार गर्छन् । आफ्नो परम्परा र संस्कृतिलाई जोगाई राख्न हरबखत लागि पर्छन् ।
यो सामग्री हामीले जाजरकोटी लेखक राजुराजा सिंहद्धारा लिखित जाजरकोटको इतिहास नामक लेखक बाट साभार गरेका हौं ।
















































। १४ आश्विन २०७८, बिहीबार