जाजरकोटका स्थानीय तहमा बन्ने अस्पताल शिलान्यासमै सीमित

सात पालिकामा जग समेत खनिएन्


खलंगा । जाजरकोटका प्रत्येक पालिकामा १५ शैयाको अस्पताल बनाउने भन्दै अघिल्लो सरकारले बजेट बिनियोजन गरेको थियो । आर्थिक बर्ष २०७७÷०७८ को बजेटमै देशभरका स्थानीय तहलाई बजेट व्यवस्था गरेको घोषणा भएको थियो । अस्पताल निर्माण गर्ने भनेर जाजरकोटका केही स्थानमा तामझामका साथ शिल्यानास पनि भयो । तर शिलान्यास भएका अधिकांश स्थानमा कुनै पनि जनप्रतिनिधी फर्किएर समेत गएका छैनन् ।

अधिकांश पालिका स्तरीय अस्पताल र स्वास्थ्य संस्थाको जग राखिए पनि जमिन माथि ठडिने सुरसार सम्म छैन । जिल्लाको नलगाड,बारेकोट, छेडागाड, शिवालय र जुनीचाँदेमा निर्माण गर्न लागिएका स्वास्थ्य संस्थाको जग नै हालिएको छैन् ।

एक बर्षअघि नै नलगाडस्थित पालिका अस्पतालको स्तरउन्नति नाम दिएर पूर्व वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए । नयाँ भवन निर्माण नबनिरहेको बेला पुरानो भवन मर्मत गरी सेवा थपको नाममा उद्घाटन गरिएको थियो ।

यहाँ १५ शैयाको अस्पताल निर्माण गर्न संघीय सरकार बाट अघिल्लो बर्ष २२ करोड दुई लाख ६३ हजार पाँच सय रुपैयाँ आएको थियो । जग्गा अभावका कारण पाँचपटक डिजाईन परिवर्तन गरेर गत १० असारमा बोलपत्र आहान भएको थियो । तर अहिले सम्म भवन निर्माणका लागि सम्झौता नभएको सव ईन्जिनियर जनक खड्काले बताए ।

बारेकोट गाउँपालिका यस्तै,मन्त्री बस्नेतले बारेकोट गाउँपालिकामा अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरेका थिए । तर अहिले सम्म भवनमा जग समेत खनिएको छैन । बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहका अनुसार सम्झौता भईसके पनि काम सुरु भएको छैन् । बर्षायाम सकिए लगत्तै र जग्गाको विवाद मिलेपछि काम सुरु हुने अध्यक्ष शाहको भनाई छ ।

भवन निर्माणका लागि १८ करोड बजेट विनियोजन भएको छ । निजी विद्यालयमा छेडागाड नगरपालिकाले १५ शैयाको अस्पताल चलाएको छ । विद्यालयको तीन वटा कोठा बाट अस्पतालले स्वास्थ्य उपचार सेवा दिईरहेको छ ।

बर्षायाममा भवन भित्र पटकपटक बाढी पसेर सेवा अवरुद्ध हुने गरेको छ । यो अस्पताल पनि तत्कालिन स्वास्थ्य राज्यमन्त्री नवराज रावतले गरेका थिए । भवन निर्माणका लागि आएको २२ करोड दुई लाख ६३ हजार पाँच सय ५८ रुपैयाँ बाट बोलपत्र आहान भएको थियो । तर एक बर्ष वितिसक्दा पनि अस्पतालको जग समेत खनिएको छैन ।

शिवालय गाउँपालिकामा निर्माण हुन लागेको १० शैयाको स्वास्थ्य संस्थाको अवस्था पनि उस्तै छ । १८ करोड रुपैयाँमा १० शैयाको अस्पताल बनाउने योजनाका साथ काम सुरु भएपनि अहिले सम्म निर्माण हुन् सकेको छैन् ।

जुनीचाँदे गाउँपालिकाले अहिले सम्म अस्पताल निर्माणका लागि बोलपत्र आहान गरेको छैन । दोस्रो पटक स्वास्थ्य मन्त्रालयको निर्माण अनुसार जुनीचाँदेमा स्वास्थ्य संस्था बनाउन बजेट विनियोजन गरिएको थियो । डिपिआर नै नभएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शिवा आचार्यले बताईन् ।

कतै जग्गा अभाव त, कतै डिजाईन नमिलेको भन्दै काममा ढिला भएको पालिकाहरुले जनाएका छन् । संघीय सरकार बाट आएको बजेट समेत समयमा स्थानीय सरकारले समयमा खर्च गर्न नसकेको यि केही उदाहरण मात्रै हुन् । बुहुबर्षे काम हो भन्दै भवन छिटो निर्माण गर्ने कुरामा आनाकानी भईरहेको स्थानीयबासी बताउँछन् । ‘नेताहरु विरामी हुँदा महंगा शहरमा गएर उपचार गराईहाल्छन्, हाम्रो पहुँचमा भएका स्वास्थ्य संस्था निर्माण गर्ने सुरसार नै छैन’ बारेकोट गाउँपालिका ५ का प्रेमबहादुर सिंहले भने ।
#यो सामग्री राससकर्मी हेमन्त केसीको सहयोगमा तयार पारिएको हो ।#

तपाईको प्रतिक्रिया