जाजरकोट पुगेका राउटेलाई शिवालयमा बाख्राको पाठो उपहार


खलंगा । जिल्लाको शिवालय गाउँपालिकाले लोपोन्मुख राउटे जातिलाई दशैको पुजाको लागि सहयोग गरको छ । गाउँपालिकाले लोपोन्मुख राउटे जातिलाई दशैको पुजाको लागि भनेर बाख्राको पाठा दिएको प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिकले जानकारी दिए ।
सल्यान जिल्लाको सल्लीबजारमा बसोबास गरिरहेका राउटे गाउँपालिकामा पुगेर अनुरोध गरेपछि सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत बिकले बताए । ४२ घरधुरीको २ सय ८६ जनसंख्या राउटे बस्तीबाट शिवालय गाउँपालिकाको कार्यालय पुगेका मुखिया मैन बहादुर शाहीका छोरा बिर्ख बहादुर शाही र अर्को नारायण बहादुर शाहीलाई बाख्राको पाठा हस्तान्तरण गरिएको हो ।

शिवालय गाउँपालिकामै पुगेर कुल पुजा गर्नपर्ने र एउटा पाल्न लागि भन्दै गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार शाहीलाई भेट्न भनी आएको र अध्यक्ष शाही गाउँपालिका बाहिर भएकोले गाउँपालिकाको तर्फबाट बिर्ख र नारायणलाई दुईवटा बाख्राको पाठा दिइएको प्रमुख प्रशासकीय अधिकृत बिकको भनाइ छ । राउटे जातिको परम्परा, संस्कृति अनुसार पुजामा मार काट्ने र बलि दिने चलन रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृत बिकले भने, ‘राउटे जातिको मुख्य शिकार गुना, बाँदर भएको र बनजंगल बिनास हुँदै गएपछि गुना बाँदर प्रसस्त नपाईने भएकोले पुजाको लागि बाख्राको पाठा दिनुहुन भनेर अनुरोध गरेपछि गाउँपालिकाको तर्फबाट दुई वटा बाख्राको पाठा उनिहरुकै रोजाई अनुसार दियौं ।’

बनजंगल बिनास हुँदा काठका भाँडाकुंडी, मुदुस, कोशीमा प्रयोग गरिने टुनि लगायतका रुख जंगलमा नपाएपछि उनीहरुको पेशा संकटमा पर्दै गएको छ । राउटेहरुको पेशा जोखिममा पर्दै गएको र भाँडाकुडी बनाउन नसकिने भएपछि आम्दानी नहुने जिबन निर्बाह गर्न कठिनाइ भैरहेको राउटेले आफुसँगको भेटमा भनेको प्रमुख प्रशासकीय अधिकृत बिकले बताए । स्थानीय सरकारले सिमान्तकृत लोपोन्मुख जातीहरुलाई संरक्षण गर्ने र स्थानीय सरकार बाट गर्न सकिने र गर्नुपर्ने सहयोग कहिले पनि कमि नरहने उनले बताए ।

तपाईको प्रतिक्रिया